
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।
- प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्न आग्रह गरेकी छन्।
- निर्वाचन आयोगले मतपेटिका लगायत आवश्यक सामग्री मौज्दातमा रहेको र बाँकी सामग्री स्वदेशमा उत्पादित प्राथमिकता दिई खरिद गरिने जनाएको छ।
७ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् । उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनको तयारीका सम्बन्धमा आयोगसँग परामर्श गरेकी हुन् ।
निर्वाचन आयोगले निकालेको विज्ञप्ति अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले ‘प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको’ बताएकी छन् ।
साथै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने प्रतिवद्धता प्रधानमन्त्री कार्कीको छ ।
आयोगका अनुसार प्रधानमन्त्री कार्कीले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गर्ने भन्दै निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरेकी छन् ।
छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको बताए। मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने उनको प्रतिवद्धता छ ।
प्रतिक्रिया 4