
७ असोज, काठमाडौं । भदौ अन्तिम साता संघीय राजधानी काठमाडौं सहित देशभरि भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी करिब ११ अर्ब रुपैयाँ बराबर क्षति भएको छ ।
भाटभटेनी सुपरस्टोर व्यवस्थापनका अनुसार जेनजी आन्दोलन क्रममा २४ भदौमा भएको तोडफोड, लुटपाट र आगजनीबाट २० ठूला स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ बराबर क्षति भएको हो ।
‘सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँको क्षति भएको छ,’ भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने ।
क्षतिको विवरण संकलन क्रममा यो परिमाण बराबर क्षति भएको भाटभटेनीले जनाएको छ । बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी गरिएको छ । १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ ।
भाटभटेनीका अनुसार स्केलेटर, लिफ्ट, फ्रिज लगायत महँगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए । भवनभित्र रहेका सबै सामग्री पूर्णरूपमा आगजनी गरिएको थियो ।
त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको र तिनमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरूपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए ।
उनले भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीलाई बिदा गर्ने योजना नरहेको बताउँदै दशैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहे आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक–पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए ।
भाटभटेनीका १२ वटा स्टोर पूर्णक्षति भएका र आंशिक क्षति भएका नौ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६ सय ३ रुपैयाँ बराबर क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५ सय ९६ बराबरका सामग्री पूर्णरूपमा जलाइएको छ ।
त्यस्तै ४९ करोड ५७ लाख ७६ हजार ६ सय ५५ रुपैयाँ बराबर सामग्री तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएको छ ।
प्रतिक्रिया 4