+
+
Shares

तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड

मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झन्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १५:५९

८ असोज, काठमाडौं । तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ ।

सडकका दुवैतर्फबाट २/२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ ।

मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झन्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।

आचार्यले भने, ‘फिल्डमा ६ वटा उपकरणको व्यवस्था गरिएको छ । तर एक पटकमा एकातर्फ दुई वटा भन्दा बढी उपकरण चलाउन मिल्दैन । त्यसैले दुवैतर्फ गरी ४ वटा उपकरणले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।’

उनले अगाडि भने, ‘पहिरो पन्छाउँदै जाँदा ठूलाठूला ढुंगाहरू भेटिएको छ । जसका कारण पहिरो पन्छाउन थप कठिनाइ भइरहेको छ । ठूलाठूला ढुंगाका कारण पहिरो पन्छाउने कामले गति लिन  सकेको छैन ।’

थप पहिरो नखसेको अवस्थामा भोलि बिहीबार साँझसम्म पहिरो पन्छाउन सकिन्छ कि भन्ने अपेक्षा गरिएको उनले बताए ।

पहिरो पन्छाउन पर्सिसम्म लाग्न सक्छ : डोजर चालक 

डोजर चालक कमलेश चौधरीका अनुसार यसैगरी निरन्तर पहिरो पन्छाउने काम भएमा पर्सिसम्म पहिरो पन्छाएर सकिने विश्वास व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘पहिरो खस्ने जोखिम उत्तिकै छ । तर पनि जोखिम मोलेर हामीले पहिरो पन्छाइरहेका छौं । सडकमा अलपत्र परेका यात्रुहरूको दुःख देखेर आफूहरूलाई काम गर्ने हौसला मिलेको छ । आत्मबल बढेको छ ।’

एक पटकमा दुई वटा भन्दा बढी डोजर प्रयोग गर्न नमिल्ने भएका कारण दुवै तर्फ गरी ४ वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनी बताउँछन् ।

दुई वटाभन्दा बढी डोजर प्रयोग गर्दा जोखिम बढी रहेको उनले बताए ।

वैकल्पिक रुट प्रयोग गर्न प्रशासनको अनुरोध

सुक्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक मंगलबार अपरान्हदेखि पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने सवारीसाधनलाई चितवन प्रशासनले सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?