+
+
Shares

तुइनखोला पहिरोको सास्ती : यसरी तार्छन् युवाले मोटरसाइकल

जिप चालकलाई पनि मौकामा चौका

पाँचकिलोमा रहेको झोलुङ्गे पुलको वारी चितवन तर्फको भाग र पारी आँबुखैरनीतर्फको भागमा मानिसहरू हिँड्न सजिलो भए पनि मोटरसाइकल झार्न महाभारत छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ असोज ९ गते ८:३३

९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ का पहिरेनीका विकास गुरूङ बुधवार दिनभर आफ्ना ८ जना साथीहरुसहित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलो भन्ने स्थानमा रहेको त्रिशूली नदीमाथि बनेको झोलुङ्गे पुल किनारमा बसिरहेका थिए ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो गएपछि धेरैजसो मोटरसाइकल चलाउने युवाहरु त्रिशूली नदीको पारीतर्फ खनिएको कच्ची सडक भएर यात्रा गर्ने गरेका छन् । काम विषेशले जानैपर्ने मान्छेहरु यहीँबाट त्रिशूली तरेर मुग्लिन वा आबुखैरेनी निस्किन्छन् ।

पाँचकिलोमा रहेको झोलुङ्गे पुलको वारी चितवन तर्फको भाग र पारी आँबुखैरनीतर्फको भागमा मानिसहरू हिँड्न सजिलो भए पनि मोटरसाइकल झार्न भने महाभारत छ ।

त्यसैले यी युवाहरूले पुल तरेर मुग्लिन जाने र नारायणगतर्फ आउने मोटरसाइकललाई अप्ठ्यारो, साँघुरो र ढुंगैढुंगा भएको बाटो कटाएर सडकमा निकालिदिने काम गर्दै आएका छन् । चालकले पुलसम्म लैजान एक्लै नसक्ने भएपछि यहाँ बसेका युवाहरुको सहायता लिने गरेका छन् ।

विकासका कुनै साथीले मोटरसाइकलको अगाडिको भाग डोरी लगाएर अगाडिबाट तान्छन् त कसैले पछाडि र दायाँबायाँबाट धकेल्छन् ।

यसरी मोटरसाइकललाई कटाइदिए वापत एक जनासँग ४ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरेको विकासले बताए । त्यसरी आएको रकम ८ जनाले बाँड्ने उनले बताए ।

अरु बेलामा ज्याला मजदुरी र खेतीपातीको काम गर्ने विकाससहित युवालाई सडक बन्द हुँदा मोटरसाइकल तारेर पैसा कमाउने नयाँ मेसो मिलेको छ । बुधवार मात्रै विकासको टिमका हरेक सदस्यले २ हजार भन्दा बढी रकम मोटरसाइकल कटाइदिए वापत कमाए ।

‘हामीलाई पनि दुई–चार पैसा भयो, आफ्नो साधनमा जानेलाई पनि थप हैरानी भएन,’ विकासले भने, ‘बाटो नखोलुञ्जेललाई त हो, त्यसपछि त आफ्नै काम गर्नुपर्छ ।’

विकासको टिमले मोटरसाइकल तारेर पैसा कमाएको देखेपछि अरु युवाहरु पनि समूह बनाएर त्यही काम गर्नका लागि सो स्थानमा आएका छन् ।

झोलुङ्गे पुल कमजोर हुने चिन्ता

पहिरो गएको तुइनखोलाबाट पाँचकिलो झण्डै ४ किलोमिटर नारायणगढतर्फ पर्छ । मुग्लिनबाट पाँचकिलो ७ किलोमिटर जति छ । तुइनखोलामा ठूलो पहिरो आएपछि धेरैजसो काठमाडौं तथा तनहुँ जाने मानिसहरु यही पाँचकिलोको झोलुङ्गे पुल तरेर जाने गरेका छन् ।

यसभन्दा अगाडि (मुग्लिनतर्फ) अरु कुनै पनि पुलहरु त्रिशूली नदी माथि छैनन् । त्यसैले धेरै मानिसहरु कोही हिँडेर त कोही मोटरसाइलमा यही झुलुङ्गे पुलबाट जाने गरेका छन् । त्यसैले तुइन खोलाको पहिरोले राजमार्ग बन्द हुँदाको अतिरिक्त भार झोलुङ्गे पुलले पनि खेपिरहेको छ ।

लोड बढी पर्दा झोलुङ्गे पुल कमजोर हुन सक्ने चिन्ता जनप्रतिनिधिहरुलाई छ । आँबुखैरनी गाउँपालिका वडा नं. ४ का वडा सदस्य प्रेमबहादुर गुरूङले झोलुङ्गे पुलमा एकैपटक धेरै बाइक हाल्दा पुल कमजोर हुन सक्नेतर्फ युवाहरुलाई सचेत गराएको बताए ।

जिप चालकलाई पनि मौकामा चौका

झोलुङ्गे पुलनेरबाट हिँडेर मुग्लिन पुग्दा झण्डै डेढ घण्टा लाग्छ । मुग्लिन–नारायणगढ सडकखण्डको समानान्तर हुने गरी तनहुँको आँबुखैरनीतर्फ खनिएको सडकको कच्ची ट्रयाक पाँचकिलो भन्ने ठाउँसम्म आएको छ ।

मुग्लिनबाट झण्डै ५ किलोमिटर दुरीसम्म बोलेरो जिप पनि यही ट्र्याकमा गुड्ने गरेका छन् । त्यसभन्दा अगाडि भने जिप चल्न सक्दैन ।

यहाँ पैदल हिँड्न नसक्नेहरुका लागि जिप चालकहरुलाई पैसा कमाउने मेसो मिलेको छ । पाँच किलोमिटरसम्मको यात्रा गर्दा बोलेरोवालाले एक जनाबाट ४ सय रुपैयाँसम्म लिने गरेको यात्रुहरु बताउँछन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?