+
+
Shares

केन्द्रीय समिति बैठकमै नारायणकजीले मागे कार्यवाहक अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १३:५३
फाइल तस्वीर

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका छन् । उनले केन्द्रीय समितिको बैठकमै यस्तो माग राखेका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौंको प्रज्ञा भवनमा जारी छ । जहाँ सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । त्यसक्रममा प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरे ।

लगत्तै बोलेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु पर्छ,’ श्रेष्ठले भनेका छन् ।

बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ । एक नेताका अनुसार श्रेष्ठले भनेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यवाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’

यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेका थिए ।

उपमहासचिव जनार्दन शर्माले अनलाइनखबरलाई बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका थिए ।

‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्‍यो भनेर माग गर्नुभएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार अनलाइनखबरसँगको अन्तर्वार्तामा भनेका थिए ।

महाधिवेशनसम्म कार्यवाहकको रूपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्ड सहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उपमहासचिव शर्माको सार्वजनिक प्रस्ताव छ । हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पूरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसो गर्दा पार्टीको साख थप बढ्ने उनको विश्वास छ ।

पार्टीले केवल महाधिवेशन तोकेर मात्रै नहुने, महाधिवेशनमा कार्यकर्तालाई स्वतन्त्र ढंगले आफ्नो नेता छान्ने र नयाँ–नयाँ विचार आउने वातावरण बनाउन दिन सक्नुपर्ने उपमहासचिव शर्माको आग्रह छ ।

यही बेला केन्द्रीय समितिको बैठकमै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेका हुन् ।

श्रेष्ठपछि अन्य पदाधिकारीले समेत बोल्न चाहे पाउनेछन् । त्यसपछि प्रदेश अध्यक्षबाट रिपोर्टिङ लिने र समूहगत छलफल गरेर बैठक सकाउने माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?