
News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको ५ असोजदेखि बेपत्ता भएपछि ७ असोज बिहान मृत अवस्थामा फेला पर्यो।
- पंकज महतोले अभिषेकलाई योजनाबद्ध हत्या गरेको स्वीकार गरेका छन् र प्रहरीले उनलाई मुख्य आरोपी ठहराएको छ।
- हत्या घटनामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम र मोबाइल बरामद गरिएको छ भने सीआईबीले अनुसन्धान अघि बढाएको छ।
९ असोज, जनकपुरधाम । ५ असोजदेखि बेपत्ता भएका सिरहा गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँप बगैँचामा मृत अवस्थामा फेला परे । उनको शव फेला परेपछि गाउँभरि सनसनी फैलियो ।
प्रहरी टोली तत्कालै घटनास्थल पुगेर अनुसन्धान सुरु गर्यो । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर (डग टोली) समेत प्रयोग गरियो । कुकुर सुँघ्दै-सुँघ्दै मृतककै हजुरबुबा पर्ने विन्देश्वर सिंहको आँगनमा पुग्यो । तर घरका अन्य सदस्यसम्म नपुगी रोकियो । त्यस बेला विन्देश्वरका १७ वर्षीय छोरा पंकज छतमा बसिरहेका थिए ।
१५ वर्षीय बालक अभिषेक हराएपछि पंकज आफन्तसँगै दिनरात खोजीमा सक्रिय थिए । उनी भिडमै मिसिएर घटनामा संलग्न नभएझैँ व्यवहार गरिरहेका थिए । तर डग टोली आउँदैछ भन्ने खबर सुनेपछि उनी आत्तिएर छतमा पुगेका थिए । शंका बढेपछि प्रहरीले पंकजसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो ।
‘घटना भएको बेलादेखि सँगै खोजिरहेका पंकज डग टोली आएपछि डराएर छतमा बसिरहेका थिए । तर प्रहरी आँगनसम्म पुगेपछि शंकाको आधारमा उनलाई पक्राउ गरियो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ।
अनुसन्धानका क्रममा पंकजकै बयान, घटनास्थल र वरपर भेटिएका प्रमाणहरूले उनी नै मुख्य आरोपी भएको प्रष्ट भएको प्रहरी स्रोतले जनाएको छ । घटनामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम साथै मृतक र पंकज दुवैको मोबाइल प्रहरीले बरामद गरेको छ ।
सिरहाका प्रहरी उपरीक्षक एसपी अनन्त शर्माले दोषी पत्ता लागिसकेको र केही निष्कर्ष आउन बाँकी रहेको बताए ।
‘दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन्,’ एसपी शर्माले भने, ‘केही निष्कर्ष निकाल्न बाँकी छ । निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौं ।’
अभिषेकको हत्या आफैंले योजनाबद्ध तरिकाले गरेको पंकजले बयानमा स्वीकारेका छन् । उनको बयानको आधारमै घर नजिकैको पोखरीबाट हत्यामा प्रयोग भएको ड्रम, पोखरी किनाराबाट मृतकको मोबाइल र सिमकार्ड, विद्यालय प्रांगणबाट गम्छा बरामद गरियो ।
त्यस्तै, पाँच करोड फिरौती माग गर्दै इमोमार्फत पठाइएको सन्देश पठाउन प्रयोग भएको पंकजकै मोबाइल दाउरा राख्ने घरभित्रबाट फेला परेको प्रहरीले जनाएको छ ।
यसरी भयो अभिषेकको हत्या
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार १५ वर्षीय अभिषेक सिंह ५ असोज साँझदेखि अचानक बेपत्ता भएका थिए । अबेर साँझसम्म घर नफर्किएपछि र मोबाइलसमेत नलागेपछि परिवार र आफन्तजनले खोजतलास सुरु गरेका थिए ।
प्रहरीलाई दिएको बयानमा आरोपित पंकजले अभिषेकलाई खेल्न जाऔं भन्दै घरबाट लगेको स्वीकार गरेका छन् । घटनापूर्व उनले खेतमा खाल्डो खनेर प्लास्टिकको ड्रम तयारी अवस्थामा राखेका थिए ।
अभिषेकलाई त्यहाँ लगेर मजाक गरेजस्तो गरी गम्छाले हात बाँधिदिए । त्यसपछि आफूले घाँटी थिचेर हत्या गरेको बयान उनले दिएका छन् । हत्या गरी पंकजले शव ड्रममा हालेर पुरे र माथिबाट खेप्टामाटो राखेर ढाकिदिए ।
हत्या गरिसकेपछि पनि कसैले शंका नगरोस् भनेर पंकज आफन्तसँगै खोजतलासमा लागेको नाटक गर्दै हिँडे ।
घटनालाई मोड्न उनले ६ असोज बिहान ८ बजेतिर अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाए ।

सो सन्देशमा पैसा नदिए हत्या गर्ने र प्रहरीले थाहा पाए पनि अभिषेकलाई मारेर फ्याल्ने चेतावनी थियो । यसरी उनले घटना सीमापार बिहारसँग जोडिएको भ्रम फैलाउन खोजेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या पंकजकै संलग्नतामा भएको पुष्टि गरेको छ । अनुसन्धान अधिकृतका अनुसार, उनले फिरौतीको सन्देश पठाएर घटना मोड्न खोजेको र योजनाबद्ध हत्या गरेको स्वीकारेका छन् ।
हत्या भएको दिन बेलुकी ठूलो वर्षा भएपछि पंकज फेरि शव लुकाएको ठाउँमा पुगेका थिए । पानीले माटो धस्सिँदा ड्रम देखिन थालेपछि उनले शव निकालेर छेउको आँप बगैँचामा फ्याले र ड्रमलाई नजिकैको पोखरीमा डुबाए । भोलिपल्ट बिहान स्थानीयले शव देखेपछि सनसनी मच्चियो ।
पंकजले प्रहरीसमक्ष दिएको बयानअनुसार, अभिषेकले आफूलाई ट्याक्टर चलाउन सिकाउन अस्वीकार गरेकाले योजनाबद्ध हत्या गरेका हुन् ।
अभिषेक रेखादेवीका एउटै छोरा थिए । करिब १० वर्षअघि अभिषेकका पिता सञ्जय सिंहको मोटरजडित कलमा करेन्ट लागेर मृत्यु भएको थियो । पैतृक सम्पत्ति भएकाले अभिषेकले अध्ययन छाडेर ट्याक्टरमार्फत खेतीपाती गरिरहेका थिए । छोराको मृत्युपछि आमा अचेत अवस्थामा छिन् ।
सीआईबीले थाल्यो अनुसन्धान
पंकजले घटना आफूले एक्लै गराएको स्वीकार गरिसके पनि अन्य व्यक्तिको संलग्नता हुनसक्ने कोणबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान अघि बढाएको छ ।
पंकजको बयानका आधारमा मात्र हेर्दा, उमेरले सानो भएका कारण उनले अभिषेकको हत्या गरेर शव ड्रममा लुकाई पुनः निकालेर फालेको हुनसक्ने शंका प्रहरी र मृतक परिवारमा छ ।
अभिषेक परिवारको एक्लो छोरा भएको र उनको नाममा पुर्ख्यौली करिब चार बिघा जमिन रहेकाले सम्पत्ति हत्याउने उद्देश्यले हत्यामा अन्य आफन्त समेत संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसबाहेक पंकज नाबालक भएकाले उनले मात्र दोष स्वीकार गरे सजाय कम भएर छुट्ने रणनीतिअन्तर्गत योजनाबद्ध ढंगले अभिषेकको हत्या गरिएको त होइन भन्ने प्रश्न पनि उठाइएको छ ।
मुख्य आरोपी पंकज नाताले मृतक अभिषेकका काका पर्छन् । पंकज अभिषेकका हजुरबुबा लक्ष्मण महतोका तीन दाजुभाइमध्ये कान्छा तुल्सी महतोका नाति तथा विन्देश्वर सिंहका छोरा हुन् ।
प्रतिक्रिया 4