
News Summary
Generated by OK AI. Editorially reviewed.- झन्डै २०० जना म्यानमारका रोहिंग्या नागरिकले नेपाली राहदानी प्रयोग गरी साउदी अरब पुगेको खुलेको छ।
- साउदी अरबले भिसा म्याद सकिएका नेपाली राहदानी प्रयोग गर्नेहरूलाई नियन्त्रणमा लिएर दूतावासलाई फिर्ता लैजान भनेको छ।
- दूतावासका अनुसार तीमध्ये ९० प्रतिशतसँग हस्तलिखित पुराना राहदानी छन् र उनीहरू नेपाली भाषा र घर ठेगाना समेत जान्दैनन्।
९ असोज, काठमाडौं । झन्डै २०० जना म्यानमारका नागरिक नेपाली राहदानी प्रयाेग गरेर साउदी अरब पुगेको खुलेको छ ।
झन्डै २०० जना म्यानमारी राेहिंग्या समुदायका नागरिक नेपालको भूमि र राहदानी प्रयाेग गरेर साउदी अरब पुगेको खुलेको हो ।
असाेज ७ गते परराष्ट्रसचिव अमृतबहादुर राईको उपस्थितिमा विभिन्न ९ वटा देशमा राजदूत तथा नियाेगका अधिकारीसँगकाे भर्चुअल बैठकमा यो विषय उठेको थियो ।
उनीहरूकाे राहदानी र नागरिकतासहित अन्य कागजातबारे बुझ्ने काम भइरहेकाे जानकारी दूतावासका अधिकारीले गराएका थिए ।
उनीहरूले प्रयाेग गरिरहेका राहदानी धेरै पुरानाे रहेकाे साउदीस्थित नेपाली राजदूतावासका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार उनीहरूले प्रयाेग गरेको राहदानीको म्याद अहिले गुज्रिसकेको छ ।
साउदी अरबले भिसाकाे म्याद सकिएर पनि लामाे समयदेखि त्यहिँ बसिरहेकाहरूलाई नियन्त्रणमा लिने अभियान तीव्र पारेको छ । साेही क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर साउदीको प्रशासनले नेपाली राजदूतावासलाई आफ्ना नागरिक लैजान भनेकाे थियाे ।
साउदी प्रशासनले आफ्ना नागरिकहरू फिर्ता लैजानुहाेस् भनेर दूतावासलाई पत्र पठाएको थियाे । त्यसपछि बुझ्दै जाँदा उनीहरू नेपाली नागरिक नै नरहेकाे पाइएकाे दूतावासका ती अधिकारीले बताए ।
उनीहरूसँग सन् २०१४ भन्दा अघिकाे नेपाली राहदानी देखिएकाे थियाे । उनीहरूमध्ये ९० प्रतिशतसँग हस्तलिखित राहदानी रहेकाे दूतावासका ती अधिकारीले बताए । तर, उनीहरू कुन मितिमा साउदी गएका थिए भन्ने खुलेको छैन ।
सरकारी संयन्त्रबाटै उनीहरूलाई राहदानी दिइयाे कि दलालहरूले नक्कली राहदानी बनाएर उनीहरूलाई साउदी पुर्याए भन्नेबारे दूतावास बेखबर छ ।
दूतावासका अनुसार पछिल्लो समय नेपाली राहदानी नै बाेकेर उनीहरू नविकरणका लागि समेत आएका थिए । तर, उनीहरू राम्रोसँग नेपाली समेत बाेल्न नसक्ने, नेपालका बारेमा केही थाहा नभएकाे, घर ठेगाना समेत थाहा नभएकाे पाइएकाे हाे ।
प्रतिक्रिया 4