+
+
Shares

संकटमा ठूला राजमार्गको भारी बोक्दै देशकै बुढो सडक त्रिभुवन राजपथ

दैनिक १० हजारभन्दा बढी ठूला सवारी साधनको चाप व्यहोर्ने पृथ्वी राजमार्ग बन्द हुँदा देशकै बुढो सडक त्रिभुवन राजपथ काम लागेको छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ असोज १० गते ८:०५
त्रिभुवन राजपथ खण्डमा रोकिएका गाडीहरु ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो सुक्खा पहिरो खस्दा दशैंको मुखमा पूर्व–पश्चिम यातायात सञ्जाल दुई दिनदेखि अवरुद्ध बनेको छ।
  • अवरुद्ध सडकका कारण यात्रु र मालवाहक सवारीहरू मकवानपुरका तीन वैकल्पिक सडकमार्गबाट काठमाडौं पुगेका छन्।
  • त्रिभुवन राजपथ, नेपालकै पहिलो राजमार्ग, पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको छ।

१० असोज, हेटौंडा । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक मंगलबार अपरान्ह ठूलो सुक्खा पहिरो खस्दा दशैंको मुखमा देशको प्रमुख पूर्व–पश्चिम यातायात सञ्जाल ठप्प हुन पुग्यो ।

अघिल्लो दिन खसेको पहिरो पूर्ण रुपमा पन्छाउन नपाउँदै फेरि सुख्खा पहिरो खसेपछि सडक दुई दिनदेखि लगातार अवरुद्ध बनेको थियो । पूर्वको काँकडभिट्टा, विराटनगर, जनकपुर हुँदै पश्चिमको महेन्द्रनगर, नेपालगञ्ज र बुटवलबाट यात्रुबाहक साना तथा ठूला र मालबाहक सवारी साधन काठमाडौं तथा पोखरा जान यो मार्ग नै छोटो र सुविधाजनक मानिन्छ ।

पूर्व–पश्चिम राजमार्गका ठूला बस तथा मालवाहक ट्रकहरु चितवनको नारायणगढ आइपुगेर मुग्लिन हुँदै राजधानी प्रवेश गर्ने मुख्य विकल्प अवरोध भएपछि गाडी चालक तथा यात्रुहरु बाटव् परिवर्तन गर्न बाध्य भए । त्यसको विकल्पमा काम लाग्यो नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ ।

वैकल्पिक मार्गको रुपमा पश्चिमतर्फ महेन्द्रनगर, कैलाली, बाँके, बर्दिया, दाङ, बुटवल हुँदै चितवन आउँदा वा पूर्वतर्फ काँकडभिट्टा, सुनसरी, सप्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर हुँदै काठमाडौं जानुपर्ने सवारीहरु मकवानपुरको सडकमार्गमा मोडिए । त्यसैले मकवानपुरका तीन वटा सडकमार्गमा यतिबेला सवारी चाप छ ।

हेटौंडा पालुङ हुँदै धादिङको नौबिसे जोड्ने त्रिभुवन राजपथ, हेटौंडा–ठिंगन–सातदोबाटो जोड्ने कान्तिलोकपथ र हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु जोड्ने छोटोमार्गले पूर्वदेखि पश्चिम नेपालका सवारीलाई काठमाडौं पुग्न सहज बनाएको हो । ‘यी तीनवटै सडकबाट काँकडभिट्टादेखि बुटवल हुँदै आउने सवारी काठमाडौं पुगेका छन्,’ मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अनलाइनखबरसँग भने ।

उनकाअनुसार कान्ति लोकपथ र कुलेखानी–फर्पिङ–बल्खु जोड्ने छोटोमार्गबाट मोटरसाइकल र साना सवारी साधन सञ्चालन भइरहेका छन् । त्रिभुवन राजपथबाट यात्रुबाहक र मालबाहक ठूला सवारी आवतजावत गरिरहेको डिएसपी अर्यालले बताए । तीन वटै सडकमा अत्यधिक सवारी चाप रहेको र मकवानपुर प्रहरीले ट्राफिक व्यवस्थापनमा खटिएर काम गरिरहेको उनी बताउँछन् ।

त्रिभुवन राजपथ खण्डमा रोकिएका गाडीहरु ।

पूर्वी, मध्य तराई तथा पश्चिम नेपाललाई जोड्ने पूर्व–पश्चिम लोकमार्गको भारी देशकै बुढो त्रिभुवन राजपथले बोकेको छ । त्रिभुवन राजपथ भारत सरकारको सहयोगमा वि.सं. २००९ मंसिर ७ गते शनिवार चन्द्रागिरीतर्फबाट डोजरले खनेर राजमार्ग निर्माणको शुभारम्भ गरिएको थियो ।

नेपालको सबैभन्दा पुरानो यो राजमार्ग बढी घुम्ती भएकाले पारवहनको दृष्टिकोणले सहज नमानिएपछि सरकारले अन्य सडकहरु निर्माण गरेको थियो । अन्य सडक सञ्जालहरु सुचारु भएपछि २०६० सालपछि मात्रै त्रिभुवन राजपथ कम प्रयोगमा आउन थालेको थाहा नगरपालिकाको पूर्वमेयर लवशेर विष्ट बताउँछन् ।

एक वर्ष अघि झन् ठूलो संकट टारेको थियो त्रिभुवन राजपथले गतवर्ष असोज १० गतेदेखि १४ गतेसम्म परेको भिषण वर्षाले देशका प्रमुख राजमार्गहरु क्षतविक्षत बनाउँदा दशैंको मुखमै राजधानी काठमाडौंसँगको सडक सम्पर्क टुट्न पुगेको थियो ।

संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख सडक बिपी राजमार्ग र मध्य तथा पश्चिम नेपाललाई जोड्ने पूर्व–पश्चिम लोकमार्ग हुँदै मुग्लिन–नागढुंगा खण्डको पृथ्वी राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो ।

एक वर्ष १२ किलोमिटर सडक बगेको बिपी राजमार्ग तत्काल खुल्ने स्थितिमा थिएन । बाढीपहिरोले पूर्व–पश्चिम लोकमार्ग (महेन्द्र राजमार्ग)लाई ठूलो क्षति नपुर्‍याए पनि काठमाडौंको दुई ‘लाइफलाइन’ बिपी र पृथ्वी राजमार्ग पूर्णरुपमा सञ्चालनमा आउन सकेका थिएनन् । नौबिसे-नागढुंगा सडकको झ्याप्ले खोला, धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा पहिरो खसेको थियो ।

दैनिक १० हजारभन्दा बढी ठूला सवारी साधनको चाप व्यहोर्ने पृथ्वी राजमार्गको पहिरो पन्छाएर सडक सुचारु गरिए पनि पूर्ण सञ्चालनमा आउन समय लाग्ने भएपछि उही देशकै बुढो सडक त्रिभुवन राजपथ काम लागेको थियो ।

यातायात व्यवस्था विभागले तत्कालीन समयमा नारायणगढदेखि काठमाडौं जोड्ने सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएसँगै त्रिभुवन राजपथको चाप बढेको थियो । त्रिभुवन राजपथमा पहिरो नजाने र बाढी आउने कम सम्भावनाले संकटमा काम लाग्दै आएको छ । गत वर्ष पनि साना–साना पहिरो पन्छाएर सडक नियमित सञ्चालनमा ल्याइएको थियो ।

देशकै पहिलो राजमार्ग

७ फागुन २००७ (बि.स.)मा नेपालमा प्रजातन्त्र आएपछि त्रिभुवन राजपथ सडक निर्माणको पहल थालिएको जानकारहरु बताउँछन् । २ असार २००८ मा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई राजा त्रिभुवनले देशमा सडक यातायातको असुविधाबारे बताएको यो सडक सम्बन्धी प्रकाशित लिखित दस्तावेहरुमा उल्लेख छ ।

पुरानो हेटौंडा क्षेत्र

नेहरुले छिट्टै नै राजमार्ग निर्माणमा सहयोग गर्ने आश्वासन दिएर फर्किएको ९ महिनापछि चैत २००८ मा भारतीय सेनाका इञ्जिनियरहरुको टोली सर्भेका लागि आइपुगेका थिए ।

भारतीय सेनाका रिटायर्ड कर्णेल ग्रान्टको निगरानीमा आएका सैनिक इञ्जिनियरहरुले कठिनताका बाबजुद राजमार्ग निर्माण गर्न सकिने बताएका थिए । काठमाडौंतर्फको चन्द्रागिरिदेखि मकवानपुरको भैंसैसम्मको ७९ माइल (१२७ किमी)को राजमार्ग निर्माणका लागि तीन भागमा विभाजन गरेर काम गरेको बताइन्छ ।

२६ मंसिर २०१० मा जिप मात्र चलाउन सकिने गरी तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मीले राजमार्ग उद्घाटन गरेको जनाइएको छ । यस सडकबाट नियमित रुपमा ट्रकसहितका ठूला सवारी साधनको सञ्चालन चैत २०१५ बाट सुरु भएको थियो । असार २०१६ सालबाट यात्रुबाहक सवारी काठमाडौंबाट अमलेखगञ्जसम्म भएको थियो ।

त्रिभुवन राजपथसँगै बनेको देशकै अर्को पुरानो सडक मकवानपुरकै कान्ति लोकपथ पनि हो । ललितपुरको सातदोबाटोबाट हेटौंडासम्म जोडिने ९२ किलोमिटरको कान्ति लोकपथ वि.सं. २०१६ मै नेपाली सेनाले बनाएको हो ।

मकवानपुर र ललितपुरतर्फ अधिकांश भागमा कालोपत्रे भएपनि कान्ति लोकपथ अझै पूर्णरुपमा सम्पन्न भइसकेको छैन । विभिन्न ठाउँमा पहिरोको नियमित जोखिमका कारण सडक साँघुरा र कच्ची नै छन् । यो सडकमा अत्यधिक पहिरोको जोखिम छ । गत वर्ष बाढीले यो सडक पनि पूर्ण रुपमा ठप्प भएपछि काठमाडौंलाई जोड्ने एकमात्र विकल्प त्रिभुवन राजपथ बनेको थियो ।

कान्ति लोकपथलाई सरकारले सधैं बेवास्ता गर्छ : पूर्वमेयर विष्ट

विपद्मा काठमाडौंसँग जोडिएका सबै राजमार्ग ठप्प हुँदा त्रिभुवन राजपथले सधैं काम दिँदै आएको छ । पृथ्वी राजमार्ग ठप्प हुँदा पश्चिम नेपालबाट काठमाडौं प्रवेश गर्ने एउटै विकल्पको सडक त्रिभुवन राजपथ हो ।

विपद्बाट उत्पन्न संकटले अहिलेमात्र होइन, २०५० सालदेखि काठमाडौंको ‘लाइफलाइन’को काम गरिरहेको बताउँछन् थाहा नगरपालिकाको निवर्तमान नगर प्रमुख लवशेर विष्ट । २०५०, २०५९ र २०६१ को विपद्मा देशभरका सवारीसाधनको काठमाडौं आवतजावत गर्ने एकमात्र विकल्पको सडक त्रिभुवन राजपथ बनेको उनी बताउँछन् ।

२०५९ मा हेटौंडाको राप्ति पुल र चितवन र मकवानपुरको सिमानास्थित लोथरमा भिषण बाढीले सडक बन्द हुँदा त्रिभुवन राजपथले लामो समयसम्म काम दिएको उनले सम्झिए ।

त्रिभुवन राजपथ काठमाडौंसँग जोड्ने पुरानो सबैभन्दा बलियो र सुरक्षित सडक खण्ड हुँदा पनि सरकारले बेवास्ता गरेको विष्टको गुनासो छ ।

सडकहरुमा ‘पासिङ वे’, कल्भर्ट, पहिरो जोखिम क्षेत्रमा पर्खाललगायतका संरचना, नाला निर्माण गर्नुपर्नेमा सरकारले ध्यान नदिएको उनले बताए । थाहा नगरपालिकाले विगतमा संघीय सरकारलाई यो सडकको पुनर्निर्माणका लागि लिखित अनुरोध गर्दापनि चासो नदिएको विष्ट बताउँछन् ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?