+
+
Shares

माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:३१

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव प्रस्तुत भएको छ ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरुमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका हुन् ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले निष्कर्षहरू प्रस्तुत गरेका थिए । जसमा एउटा बुँदामा माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव रहेको छ ।

जसमा भनिएको छ, ‘पार्टीका सबै नेताहरुको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानबीनका लागि पूर्व महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबीनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।’

यस्तो छ सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष

१.   छलफलमा उपस्थित संख्या  ५२

२.   छलफलमा प्रत्यक्ष सहभागी संख्या ४५

३.   लिखित ३ जना

४.   छलफलमा अनुपस्थित ४ जना

बैठकमा अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एवं उपमहासचिव जनार्दन शर्मा प्रभाकरले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सारगर्वित छलफल भयो । छलफलको निष्कर्शलाई निम्नानुसार उल्लेख गरिएको छ ।

१. जेन जी आन्दोलनको बारेमा

·      जेन जी आन्दोलनको समीक्षाका बारेमा अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको समीक्षा, यसले राष्ट्यि स्वाधिनता तथा राष्टियतामा सिर्जना गरेको संकटजन्य परिस्थिति र आन्दोलनपछाडिका बस्तुगत कारणहरुबारे तीनवटै प्रस्तावमा उल्लेख गरिएको धारणामाथि सबै सहभागीहरुको समर्थन रहेको छ ।

·      जेन जी आन्दोलनको भय र दबाब तिनवटै प्रस्तावमा देखिएको छलफलमा उठ्यो । जेन जी आन्दोलनको मुद्दा मूलत: माओवादी केन्द्रले नै उठाउँदै आएका राजनीतिक मुद्दा भएकाले पार्टीले यस परिस्थितिलाई समाजवादी क्रान्तितर्फ विकास गर्न सकिने सम्भावना रहेकोले ठोस कार्यक्रममार्फत नेतृत्व र अगुवाई लिनुपर्दछ ।

·      जेनजी आन्दोलनको क्रममा भएको घुसपैठबाट सिर्जना भएको परिस्थितिको कडा शब्दमा भर्त्सना गर्नुपर्दछ । अपराधिक गतिविधिहरुको निष्पक्ष न्यायिक छानबीन गरी राजनीतिक र अपराधिक गतिविधिको विन्यास गरी कार्वाहीको दायरामा ल्याउनुपर्छ ।

२. विशेष महाधिवेशनका बारेमा

·      वस्तुगत परिस्थिति आत्मसात गर्दै पार्टीसामु देखिएका चुनौतीहरू हल गर्न प्रस्तुत विशेष महाधिवेशन आयोजना गर्ने प्रस्तावमा सबैको समर्थन रह्यो।

·      महाधिवेशन मिति ठोस गर्ने विषयमा समूहमा एकमत हुन सकेन । यस अन्तर्गत दुईवटा मुख्य धारणा देखिए ।

(क) हाल पार्टीमा देखा परेको विवादलाई कायमै राखेर निर्वाचनमा जानुभन्दा निर्वाचन अघि मंसिरमा नै महाधिवेशन सम्पन्न गरेर एकीकृत भएर निर्वाचनमा जानुपर्छ भन्ने मत ४१ जनाले राख्नुभयो ।

(ख) विशेष महाधिवेशनले पार्टीको वैचारिक, राजनीतिक बहसको माग गर्ने भएकोले तयारी नपुग्ने हुँदा निर्वाचनपछि महाधिवेशनमा जानुपर्छ भन्नेमा ९ जना प्रतिनिधिहरुले धारणा राख्नुभयो ।

नेतृत्व हस्तान्तरणका विषयमा समूहमा दुई फरक धारणा प्रस्तुत भए ।

निष्कर्षमा:

१. वर्तमान संकटपूर्ण राजनीतिमा ऐतिहासिक उपलब्धि गुम्ने खतरा रहेको बेला, राष्टिय स्वाधिनतामा संकट आएको बेला पार्टी विभाजित भएर या नेतृत्व परिवर्तन गरेर जाँदा दुर्घटना हुने, दुश्मनसँग लडदा हामीलाई फलाम जस्तो एकता चाहिने भएकोले यस परिस्थितिमा बृहत वाम ध्रुवीकरणका लागि समेत प्रचण्डकै नेतृत्व आवश्यक हुने, सरकारमा भएको बेला सुशासनका पक्षमा अभियान सञ्चालन र प्रतिपक्षमा छँदा समेत निरन्तर खबरदारी प्रचण्डकै नेतृत्वमा भएको अवस्थामा सरकारको अक्षमताका कारण जेन जी आन्दोलन यो स्वरुपमा आएको परिस्थिति रहेकोमा के र कुन नैतिकताको प्रश्नका आधारमा प्रचण्डले राजीनामा दिने र किन दिने भन्ने धारणासहित अध्यक्षकै संयोजकत्वमा विशेष महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने मत ३९ जना प्रतिनिधिले राख्नुभयो ।

२. अध्यक्षको प्रस्ताव बाहेकका अन्य दुई प्रस्तावको समर्थन गर्दै ११ जनाले जेनजी आन्दोलनपछि सिर्जना भएको परिस्थितिमा अध्यक्षले वैचारिक प्राधिकार सुनिश्चित हुने गरी नैतिकताको आधारमा राजीनामा दिनुपर्ने र त्यसपछि स्वभाविकरुपमा वरिष्ठ कार्यवाहक हुने र आयोजक समिति संयोजक हुनुपर्ने धारणा राखे ।

३. फागुनमा हुने निर्वाचनमा सहभागी हुने बिषयमा अध्यक्ष प्रचण्डले प्रस्तावमा अघि सार्नुभएको युवा तथा नयाँ उम्मेदवार र जेनजीको सहभागिता बढाउने वातावरण बनाउन पार्टीले थप छलफल र ठोस कार्यविधि तयार गर्नुपर्ने छ ।

४ संगठन शुद्धिकरण र सांस्कृतिक रुपान्तरणका बारेमा ।

पार्टीलाई साँचो अर्थमा क्रान्तिकारी पार्टी बनाउन संगठनात्मक कार्यशैली, सांस्कृतिक रुपान्तरणलगायतका पक्षमा अध्यक्ष प्रचण्ड तथा अन्य दुबै प्रतिवेदनमा उल्लेख गरिएका विषयहरु सही छन् । यी विषयहरुमा थप छलफल तथा बहस गरी एकीकृत प्रतिवेदन तयार गरिनुपर्दछ भन्ने मतमा सबैको सहमति रह्यो ।

५. सुशासन तथा अन्य

·      पार्टीले सरकारको नेतृत्वमा रहेको बेला अघि बढाएका सुशासनका कामहरुको सबैले सामूहिक स्वामित्व लिएर प्रचार गर्ने तथा पार्टीभित्र समेत सुशासनको विषयलाई सांस्कृतिक रुपान्तरणको मुख्य मुद्दा बनाउनुपर्नेमा समूहमा छलफल भयो । यससम्बन्धमा निम्न विषयमा तत्काल ध्यान दिइनुपर्दछ ।

·      पार्टीमा युवा महिला जेनजी दलित आदवासी लगायतका समुदायको के कस्तो प्रतिनिधित्व छ भन्ने विषयमा सदस्यता तथ्यांक विश्लेषण गरी संगठनात्मक श्वेतपत्र जारी गर्ने । यसबाट पार्टीमा युबा र समावेशीकरणको अवस्था अन्य दलहरुभन्दा राम्रो रहेको छ भन्ने सन्देश जाने ।

·      पार्टीका सबै नेताहरुको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानबीनका लागि पूर्व महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबीनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?