News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै टी-२०आई शृंखलामा १९ रनले ऐतिहासिक जित निकाल्यो।
- कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच घोषित भए र उनले ३८ रन बनाउँदै बलिङमा पनि १ विकेट लिए।
- नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दा बलिङ, फिल्डिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्यो।
११ असोज, काठमाडौं । नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकाल्यो ।
वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै नेपालले १९ रनको जित निकाल्दै आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) राष्ट्रविरुद्ध पहिलो जित निकाल्न सफल भयो ।
नेपालको ऐतिहासिक जितमा सबै खेलाडीहरूले राम्रो प्रदर्शन गरे । विशेषगरी कप्तान रोहित पौडेलको प्रदर्शन शानदार रह्यो । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेदेखि यस खेलअघिसम्म नेपाली क्रिकेट टोलीले टी-२०आई अन्तर्राष्ट्रियमा १०३ खेल खेलेको थियो । १०४औं खेलमा नेपालले अन्तत: आईसीसीको फूल मेम्बरलाई हराउन सफल भयो ।
यसकारण ऐतिहासिक जित
नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।
नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।
हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।
नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।
नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो।
आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।
पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो।
यसरी सम्भव भयो जित
खेलमा नेपालले टस हारेको भएपनि कप्तान रोहित पौडेलले उक्त टस हारे पनि राम्रो भएको उल्लेख गरेका थिए । किनभने उनी टस जितेर ब्याटिङ रोज्न चाहन्थे ।
यसकारण खेलमा अर्ली एडभान्टेज भने नेपालले पाइसकेको थियो । शारजाहमा पछिल्लो समय सबै खेल पहिले ब्याटिङ गर्ने टोलीले जितिरहेका थिए । त्यसकारण राम्रो स्कोर खडा गर्न सके नेपालले कसिलो बलिङमा खेल जित्ने सम्भावना त थियो नै ।
नेपालले ब्याटिङमा सुरुवात राम्रो गर्न नसकेपनि कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । नेपालले २० ओभरमा १४८ रन बनायो । उक्त योगफल मैदानको औसतभन्दा कम भएपनि डिफेन्ड गर्न पुग्दो थियो ।
जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजलाई नेपालले सुरुवातदेखि नै दबाबमा राख्यो । कुशल भुर्तेलले शानदार रनआउट गर्दै पावर हिटिङ ब्याटर काइल मेयर्सलाई पेभेलियनको बाटो देखाए । त्यसपछि पनि नेपालले नियमित अन्तरालमा विकेट लिइराखेको थियो ।
दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा अर्को एक रनआउटमार्फत किएसी कार्टी आउट भएका थिए भने सन्दीप जोराले पनि बाउन्ड्री नजिकै राम्रो क्याच लिए । यसबाहेक सिङ्गल डबल रोक्न पनि खेलाडीहरूको फिल्डिङ जोशिलो थियो ।
अनुभवी अलराउण्डर जेसन होल्डर सस्तैमा आउट हुँदा वेस्ट इन्डिज ७६-६ को खराब अवस्थामा पुगिसकेको थियो । त्यसपछि फाबियन एलेन र कप्तान अकिल होसेन मिलेर केही ठुला शटहरू खेलेपछि खेल फेरि रोमाञ्चक अवस्थामा पुगेको थियो ।
अन्तिम २ ओभरमा ३० रन आवश्यक रहँदा करण केसी बलिङमा आए । उनको ओभरमा कप्तान होसेन आउट भएपछि नेपालले खेलमा फेरि मोमेन्टम प्राप्त गर्यो । उक्त ओभरमा करणले २ रन मात्र दिए ।
अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा बलिङमा दीपेन्द्रसिंह ऐरी आए । तर रन धेरै बाँकी रहेको हुँदा दुई लिगल बलले मात्र पनि नेपालको जित सुनिश्चित भइसक्ने थियो । फाबियन एलेनले २ चौका मात्र प्रहार गरे । नेपाल १९ रनले विजयी भयो ।
रोहितको कप्तानी प्रदर्शन
रोहितले नेपालका लागि आज कप्तानी प्रदर्शन गरे । ब्याटिङमा नेपालका लागि सर्वाधिक ३८ रन बनाएका उनले किफायती बलिङ गर्दै १ विकेट पनि लिए ।
उनले बलरहरूको प्रयोग पनि राम्रो तरिकाले गरेको देखिन्थ्यो । जसको नतिजा वेस्ट इन्डिजका ब्याटरहरू दबाबमा परेको कुराले प्रष्ट देखिन्थ्यो ।
रोहितसँगै कुशल मल्लको ब्याटिङ तथा कुशल भुर्तेलको बलिङ पनि शानदार रह्यो । फिल्डिङ पनि एक-दुई गल्तीबाहेक उत्कृष्ट रह्यो ।
खेलपछि कुरा गर्दै कप्तान रोहितले ब्याटिङमा राम्रो योगफल बनेको र बलिङ कसिलो गर्न सके खेल जित्न सकिने मनोबल टिममा रहेकाले त्यही योजना अनुसार सफल भएको बताए ।
उनले सबै नेपाली समर्थकहरूलाई धन्यवाद पनि दिँदै आगामी दिनहरूमा पनि यस्तै समर्थन गरिरहन आग्रह गरे ।
प्रतिक्रिया 4