
साबुन हाम्रो दैनन्दिन जीवनमा सबैभन्दा धेरै प्रयोग हुने चिजमध्ये एक हो । तर विडम्बना के छ भने यसको महत्वलाई हामीले प्राय: कम आँक्छौं । दैनिक प्रयोग हुँदाहुँदै पनि साबुनका जीवनरक्षक गुण र व्यापक लाभप्रति धेरैको ध्यान पुग्दैन । यो सामान्य देखिने तर असाधारण चिजको इतिहास भने पाँच हजार वर्ष पुरानो छ, जसलाई पहिलोपटक एकजना महिलाले आविष्कार गरेकी थिइन् ।
सूक्ष्म जीव र सफाइको अद्भुत सम्बन्ध
डच वैज्ञानिक एन्टोनी फिलिप्स भान ल्युहोनहकले सन् १६६८ मा आफ्नो सूक्ष्मदर्शक यन्त्रमार्फत पहिलोपटक ब्याक्टेरिया देखेका थिए । यिनै सूक्ष्म जीव हाम्रो शरीर, हात तथा मुखमा सर्वत्र पाइन्छन् । साबुनले तीमध्ये धेरै घातक जीवाणुलाई नष्ट गर्छ । यस अर्थमा साबुनलाई मानव इतिहासकै ठूलो चिकित्सा खोज मान्न सकिन्छ ।
साबुनको जन्मकथा
टाइम पत्रिकामा प्रकाशित समाचार अनुसार साबुनको सुरुआती आविष्कार र प्रयोग सुमेर सभ्यतामा भएकोे हो। त्यहाँ निनी नामकी एक महिलाले पहिलोपटक साबुनको सूत्र बनाएकी थिइन् । उनी आजभन्दा करिब ४,५०० वर्षअघि वर्तमानको दक्षिणी इराकमा अवस्थित प्राचीन सहर गिरसूमा जन्मिएकी थिइन्।
त्यतिबेला उक्त सहरमा कपडा उद्योग निकै फस्टाएको थियो। कपडाको उत्पादन गर्ने ठूला कारखानामा हजारौँ मजदुर काम गर्थे र त्यहीँ निनी पनि संलग्न थिइन्। वास्तवमा कपडामा लागेको चिल्लो सफा गर्नुपर्ने आवश्यकताले साबुनको आविष्कारलाई जन्म दियो ।
खरानी र बोसोबाट बन्यो पहिलो साबुन
रासायनिक पुरातत्वविद्हरूका अनुसार, ऊनमा रङ हाल्नुअघि त्यसमा रहेको चिल्लो अर्थात् बोसो (ल्यानोलिन) हटाउनैपर्थ्यो । ताजा ऊनलाई खरानी मिसिएको पानीले धुँदा बोसो सजिलै हट्थ्यो। यहीँ प्रक्रियाबाट निनीले खरानी र जनावरको बोसो मिसाएर पहिलोपटक एक किसिमको तरल साबुन तयार गरेकी थिइन् ।
निनीले खरानीमा पाइने क्षार र बोसोबीचको रासायनिक प्रतिक्रियाले अद्भुत सफाइ शक्ति प्रदान गर्छ भन्ने तथ्य पत्ता लगाइन् ।
सुरुआतमा त्यो पदार्थ केवल चिप्लो पानी जस्तै लाग्थ्यो, तर यही मिश्रण कपडा मात्र होइन, शरीर सफा गर्नसमेत उपयोगी हुने कुरा उनले पत्ता लगाइन्।
पहिलो साबुन- निनीको महान योगदान
वुमन इन एनसिएन्ट मेसोपोटामिया पुस्तककी लेखिका करेन नेमेट-नेजातका अनुसार, निनी पितृसत्तात्मक समाजमा हुर्केकी साधारण श्रमिक थिइन् । तर, उनले आफ्नो मिहिनेत र जिज्ञासाबाट इतिहासमै पहिलो साबुन बनाइन् ।
साबुनको आविष्कार कुनै प्रयोगशालामा नभई, कपडा कारखानामा भएको थियो । खरानी र बोसो मिलाएर उनले कपडा धुने तरल पदार्थ तयार पारिन् । जसलाई पछि हात धुने र कपडाको चिल्लो हटाउन प्रयोग गरियो । यही मिश्रणबाट साबुनको सुरुआत भएको मानिन्छ ।
साबुन: अदृश्य घातक तत्व विरुद्धको हतियार
आज साबुन केवल सरसफाइको साधन मात्र होइन, मानव स्वास्थ्यकै जीवनरक्षक आविष्कार बनेको छ। पाँच हजार वर्षअघि कपडा कारखानामा काम गर्ने साधारण महिलाले आविष्कार दिएको यो चिज आज पनि मानव जीवनलाई सुरक्षित राख्ने शक्तिशाली अस्त्र बनेको छ ।
प्रतिक्रिया 4