News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी२०आई शृंखला २-१ ले जित्दै टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक सफलता हासिल गरेको छ।
- कप्तान रोहित पौडेलले शृंखला जितलाई महत्वपूर्ण ठहर गर्दै विश्वलाई नेपालको क्षमताबारे देखाउनुपर्ने बताए।
- यूएईमा भएको शृंखलामा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र समर्थकहरूको ठूलो उपस्थितिले क्रिकेटप्रतिको माया देखाएको छ।
१५ असोज, काठमाडौं । वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्न यूएई जानुअघि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पाैडेल र नेपाली टिमसँग एउटा छुट्टै आत्मविश्वास देखिन्थ्यो ।
सबै खेलाडीको हाउभाउ अनि कुराकानी देख्दा पक्कै केही ठुलो सफलता हात पर्दैछ भन्नरे बुझ्न सकिन्थ्यो । टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई हराएर शृंखला नै जित्ने त्यो आत्मविश्वास यसपटक उत्कृष्ट थियो ।
बिदाइको बेला पनि रोहितसहित सबै खेलाडीले वेस्ट इन्डिजसँग खेल्न उत्साहित रहेकोसँगै जित्छाैं भन्ने मानसिकता देखाइरहेका थिए ।
जेनजी आन्दोलनले आलो घाउ सेलाउन नपाउँदै नजिकिएको नेपालीहरुको महानचाड दशैंको बेला विदेशमा गएर खेल्नुपर्ने बाध्यताकै बीच पनि खेलाडीहरूको आत्मविश्वास र जोश भने कति पनि घटेको थिएन ।
उनीहरू टेस्ट राष्ट्र वेष्ट इन्डिजलाई हराएर नेपाली क्रिकेटमा नयाँ आयाम ल्याउन चाहन्थे भने दशैंको बेला जीतको कोसेली अनि सारा नेपालीहरुलाई एकजुट बनाउने र कम्तीमा केही दिनकै लागि भएपनि खुशी फर्काउने लक्ष्यमा थिए ।
देशमा विषम् परिस्थिति सिर्जना भएको दुई साता नबित्दै नेपाली क्रिकेट टोलीले यी सबै लक्ष्य पूरा गर्यो । त्यतिमात्र होइन वेष्ट इन्डिज जस्तो विश्व च्याम्पियन बनिसकेको र टी-२० मा छुट्टै छाप समेत बनाएको क्यारेबियन टिमलाई हराएपछि अहिले अन्तर्राष्ट्रिय जगतमा पनि नेपाली क्रिकेटको फेरि चर्चा बढेको छ ।
यसअघि विगतमा जितको निकै नजिक पुगेर पनि चुक्ने गरेको नेपालले यस पटक खेल मात्र होईन वेष्ट इन्डिजसँगको सिरिज नै आरामदायी तरिकाले जित्दै क्रिकेट विश्वलाई फेरि चकित पारेको छ । अब नेपाल टेष्ट राष्ट्र लाई समेत हराउन सक्षम छ भन्ने सन्देश नेपालले दिएको छ ।
गत वर्ष अमेरिका र वेष्ट ईन्डिजमै भएको टी२० विश्वकपमा नेपाले दक्षिण अफ्रिकालाई हराउन निकै नजिक पुगेर पनि जम्मा १ रनले चुकेको थियो । त्यो १ रनको हार सायदै कसैले भुल्न सक्ला । तर यसपटक टेष्ट मान्या प्राप्त टिमसँग नेपालले ऐतिहासिक सिरिज खेल्दै ऐतिहासिक जित हात पार्नु चानचुने कुरा पक्कै होइन ।
त्यो पनि पहिलो र दोस्रो खेल जित्दै एक खेल अगावै सिरिज आफ्नो कब्जामा पारेपछि वेस्ट इन्डिजका कप्तानले समेत नेपालको प्रशंसा नगरी बस्नै सकेनन् । उनले नेपालको टिमलाई कमजोर मान्न नहुने टिप्पणी गरे ।
नेपालले सिरिज २-१ ले जित्दै टेस्ट राष्ट्र विरुद्ध खेलिएको पहिलो टी२०आई सिरिज नै आफ्नो पक्षमा पार्न सफल भयो । यसअघि एसोसिएट टिम विरुद्ध मात्रै टी२०आई सिरिज खेल्दै आएको नेपालले अब टेस्ट राष्ट्र सँग पनि सिरिज खेल्न र जित्न पनि सक्षम भएको कुरा प्रमाणित गरेर देखाएको छ ।
नेपालले बनाउँदै आएको इतिहासको साक्षी यूएई बन्दै आएको छ । नेपालले ऐतिहासिक विश्वकपका लागि छनोट भएकोदेखि ऐतिहासिक द्विपक्षीय शृंखला जितसम्म संयोगवश सबै यूएईमै खेलेको बेला भएको छ र यही स्थानबाट नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुँदै आएको छ ।
यस शृंखला नेपालबाहिर भएपनि दर्शकको साथ भरपुर थियो । नेपाली समर्थकहरू उल्लेखनीय मात्रामा देखिन्थे । यसले क्रिकेटप्रतिको माया र सबै छरिएर रहेका नेपालीहरूलाई एकजुट बनाउने माध्यम क्रिकेट भएको दर्साएको छ ।
इतिहासको साक्षी यूएई, नयाँ अध्यायको सुरुवात
नेपाली क्रिकेटको अधिकांश इतिहासको साक्षी बन्दै आएको यूएईमा यसपटक पनि अर्को एउटा इतिहास थपियो । नेपालले वेस्ट इन्डिजसँग खेलेको ऐतिहासिक शृंखलामार्फत टेस्ट राष्ट्रविरुद्धको जित र शृंखला जित दुवैको कीर्तिमान बनायो ।
यसअघि सन् २०१२ मा भएको एसीसी ट्रफी इलिटको पहिलो उपाधि पनि नेपालले यही भूमिमा जितेको थियो । त्यसमाथि पनि उक्त जित शारजाहमै आएको थियो । नेपाल र यूएईले संयुक्त रूपमा उपाधि बाँडेका थिए ।
त्यस्तै नेपालको ऐतिहासिक विश्वकप सहभागिता पनि यही भूमिमा तय भयो । यहीँ भएको आईसीसी टी-२० विश्वकप छनोट पार गरेर नेपालले इतिहासकै पहिलो विश्वकप खेल्न टिकट काटेको थियो जुन् आजपनि सारा नेपाली क्रिकेट समर्थकको यादगार पलको रूपमा छ ।
त्यसपछि नेपाली क्रिकेटको पहिलो द्विपक्षीय शृंखला जित पनि यही भूमिमा सम्भव भयो । सन् २०१९ मा यूएई भ्रमणमा नेपाली टोलीले यूएईसँगको टी-२०आई शृंखलामा २-१ को जित हासिल गर्यो । त्यो नेपालको पहिलो द्विपक्षीय शृंखला जित थियो ।
यसरी नेपाली क्रिकेटमा रचिँदै आएको इतिहासको साक्षी बन्ने गरेको यूएईमा नै नेपालले कीर्तिमानी जितहरू निकाल्दै नयाँ कथाहरू रचिरहने संयोग बनेको छ । यही यूएईबाट अब नेपाली क्रिकेटको नयाँ अध्याय सुरु भएको छ ।
नेपालले वेस्ट इन्डिजजस्तो च्याम्पियन टिमलाई हराएर क्रिकेट जगतलाई फेरि चकित पारेको छ । अब नेपाल टेष्ट राष्ट्र लाई समेत हराउन सक्षम छ भन्ने सन्देश पनि दिएको छ ।
नेपालले ऐतिहासिक सिरिज खेल्दै ऐतिहासिक जित हात पार्नु चानचुने कुरा पक्कै होइन । नेपालले सिरिज २-१ ले जित्दै टेस्ट राष्ट्र विरुद्ध खेलिएको पहिलो टी२०आई सिरिज नै आफ्नो पक्षमा पार्न सफल भयो ।
कप्तान रोहितले शृंखला जित धेरै विशेष भएको बताए । ‘महत्वपूर्ण सिरिज थियो हाम्रो लागि, विश्वलाई देखाउनका लागि पनि जित्नुपर्ने थियो’ उनले भने, ‘हामीमा धेरेको नजर छ । पछिल्ला वर्षमा राम्रो गर्दै आएका छौं, अझै राम्रो हुँदै जानेछ भन्ने आशा छ।’
यसअघि एसोसिएट टिम विरुद्ध मात्रै टी२०आई सिरिज खेल्दै आएको नेपालले अब टेस्ट राष्ट्र सँग पनि सिरिज खेल्न र जित्न पनि सक्षम भएको कुरा प्रमाणित गरेर देखाएको छ । आगामी दिनहरूमा यस्ता शृंखलाहरूले अझै धेरै एक्सपोजर पाउन र विश्व क्रिकेटमा नेपालको नाम अझै चम्किलो बनाउन अवश्य मद्दत पुग्नेछ ।
खेलाडीको उत्कृष्ट प्रदर्शन
नेपालको ऐतिहासिक शृंखला जितमा सबै नेपाली खेलाडीको प्रदर्शन दमदार रह्यो । तीन खेलमा फरक फरक खेलाडीहरूले राम्रो प्रदर्शनमार्फत योगदान दिएका छन् ।
विशेषगरी केही खेलाडीको प्रदर्शन भने अन्यभन्दा उत्कृष्ट रह्यो । पहिलो खेलमा रोहितले कप्तानी प्रदर्शन गरेका थिए । ब्याटिङमा नेपालका लागि सर्वाधिक ३८ रन बनाएका उनले किफायती बलिङ गर्दै १ विकेट पनि लिए ।
दोस्रो खेलमा नेपालको प्रदर्शन सबैभन्दा उत्कृष्ट रह्यो । यस खेलमा ब्याटिङमा ओपनर आसिफ शेख र सन्दीप जोरा चम्किए । आसिफले ६८ तथा जोराले ६३ रन बनाएर शतकीय साझेदारी समेत गरेपछि नेपालले बलियो योगफल बनाएको थियो ।
यसपछि बलिङमा पनि नेपाल हावी बन्यो । बलिङमा युवा खेलाडी आदिलको प्रदर्शन शानदार रह्यो । ३ वर्षपछि टिममा पुनरागमन गरेका आदिलले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए ।
कुशल भुर्तेलले ३ विकेट लिए । भुर्तेलको फिल्डिङ पनि शानदार रह्यो । एक शानदार क्याच लिएका थिए । त्यस्तै गुल्शन झाले २ अविश्वसनीय क्याच लिएका थिए ।
तेस्रो खेलमा वेस्ट इन्डिजले एकपक्षीय जित हासिल गरेको भएपनि नेपालका लागि कुशल भुर्तेलको ब्याटिङ राम्रो रह्यो । उनी केही राम्रा शटहरू खेल्दै लयमा देखिएका थिए, अम्पायरको सम्भवत: गलत निर्णयको शिकार भएर ३९ रनमा आउट भए ।
कप्तान रोहितले खेलाडीको प्रदर्शनबाट धेरै खुसी र गर्व लागेको बताए । ‘समग्रमा धेरै राम्रो भयो, धेरै खुसी छु यो प्रदर्शनबाट । सबै खेलाडीहरूप्रति धन्यवाद पनि छ’ उनले भने ।
रोहितको कप्तानी
नेपालका कप्तान रोहितको लिडरसिप पनि यस शृंखलामा अब्बल देखियो । उनले बलरहरूको प्रयोग पनि राम्रो तरिकाले गरेको देखिन्थ्यो । जसको नतिजा वेस्ट इन्डिजका ब्याटरहरू दबाबमा परेको कुराले प्रष्ट देखिन्थ्यो ।
सुरुका २ खेलमा वेस्ट इन्डिजका ब्याटरहरू नेपालको बलिङसामू निरिह बनेका थिए । रोहितले अधिकांश समय आफूसहितका स्पिन बलरहरूलाई बलिङ गराएका थिए ।
दोस्रो खेलमा उनले करण केसी, सोमपाल कामी, ललित राजवंशीजस्ता मुख्य बलरहरूको ओभर बाँकी हुँदाहुँदै पनि आदिल आलमलाई मात्र पूरा ४ ओभर गराए ।
रोहितको यस निर्णयमा आदिल खरो बने पनि । उनले ४ जना ब्याटरहरूलाई आउट गरे । यो निर्णय रोहितको गेम चेन्जिङ निर्णय भयो किनभने आदिलले शीर्षक्रमकै ३ ब्याटरलाई पेभेलियनको बाटो देखाएका थिए ।
यसबाहेक ब्याटिङमा पनि दीपेन्द्रभन्दा अघि आदिललाई पठाउने, गुल्शनलाई शीर्ष ५ भित्रै पठाउनेजस्ता उनका निर्णय प्रशिक्षकसँगको सल्लाहमै भएको भएपनि यो स-साना निर्णयहरूले नै खेलमा ठुलो प्रभाव पारेको थियो ।
विश्वकप छनोटका लागि राम्रो तयारी
नेपालका लागि यो ऐतिहासिक शृंखला अर्को एउटा पक्षबाट पनि महत्वपूर्ण थियो । आगामी सातादेखि हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटका लागि नेपालका लागि यो अन्तिम तयारी थियो ।
यो शृंखला खेल्न जानुअघि कप्तान रोहितले शृंखला जित्ने र त्यसपछि छनोटमा पनि राम्रो खेलेर विश्वकपमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आसन्न छनोटका लागि यो शृंखला तयारीका हिसाबले साँच्चै नै राम्रो बन्यो ।
धेरै मन्फिडेन्स दिन्छ । हामी यही लयलाई विश्वकप छनोटसम्म कायम राखेर विश्वकपमा छनोट हुनेछौं ।
नेपालको खेल जहाँ, दर्शक त्यहाँ
भारतीय क्रिकेटमा एउटा भनाइ एकदमै प्रख्यात छ । ‘भारतको खेल चन्द्रमामै भयो भनेपनि निलो जर्सी लगाएर समर्थकहरू त्यहाँ पुग्छन्’ भनेर भन्ने गरिन्छ । नेपाली क्रिकेटमा पनि ठीक यस्तै छ ।
नेपालको खेल संसारको जुन कुनामा राखेपनि समर्थकहरू त्यहाँ पुग्ने गर्छन् । नेपालीहरू कामको सिलसिलामा विश्वभर छरिएर बसेका छन् । र नेपालको खेल हुँदा कामको छुट्टी लिएरै भएपनि नेपालको खेल हेर्न मैदानमा पुग्ने गर्छन् ।
यूएईमा त झन् नेपाली नहुने कुरै भएन । शारजाहमा रहेका नेपालीसँगै अन्य मुलुकबाट पनि नेपालको खेल हेर्न समर्थकहरू पुगेका थिए । जसका कारण शारजाह रंगशालाको माहोल घरेलु मैदानमा खेलेको झैं थियो ।
एकतर्फ यसले नेपाली क्रिकेटको क्रेज देखाउँछ भने अर्कोतर्फ क्रिकेट एकताको माध्यम भएको कुरा पनि प्रष्ट पार्छ । विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरूलाई एक बनाउने माध्यम अहिले क्रिकेट बनेको छ ।
रोहितले यस शृंखलाभर साथ र समर्थन गरेकामा सबैलाई धन्यवाद दिए । ‘हामीलाई यो शृंखलाभर साथ र हौसला दिनुभएको छ, धेरै आभारी छौं सबैजनाप्रति, आगामी दिनहरूमा पनि यस्तै साथ र समर्थन गरिदिनुहोला’ उनले भने ।
….
गत वर्ष नै वेस्ट इन्डिजको ए टिमसँग नेपालले घरेलु मैदानमा पाँच खेलको टी-२० सिरिज खेलेको थियो । रोस्टन चेजको कप्तानीमा आएको ए टिममा त्यो बेला राम्रा खेलाडीहरू पनि थिए ।
उक्त सिरिज नेपालले ३-२ ले गुमाएको थियो तर त्यसपछि भने वेस्ट इन्डिजसँग पनि नेपालको क्रिकेटिङ नाता नजिकियो ।
टी-२० विश्वकपमा बलिङ प्रशिक्षक ल्याउने, एनपीएलका बेला ब्रायन लाराको नेपाल आगमन, यसै सिरिजमा कार्लोस ब्राथवेटदेखि इयान बिशोपसम्म कमेन्ट्री पणयानलमा सामेल हुनु लगायतले पनि नेपाल र वेस्ट इन्डिजको निकटतालाई अझ बढाएको छ ।
प्रतिक्रिया 4