+
+
Shares

बीपीको विकल्पमा पुष्पलाल राजमार्ग : खुर्कोट-मन्थली-चरिकोट हुँदै काठमाडौं छिर्न सकिने

बीपी राजमार्गको विकल्पमा रामेछाप–दोलखा हुँदै पुष्पलाल राजमार्गमार्फत उपत्यका प्रवेश गर्न सकिन्छ । बीपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली–तामाकोशी–दोलखाको चरिकोट–अरनिको राजमार्गको खडीचौर हुँदै काठमाडौं पुग्न सकिन्छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १९ गते २०:३९

१९ असोज, काभ्रेपलाञ्चोक । गत वर्षको अविरल वर्षाले क्षति पुर्याएर बनेको डाइभर्सन रोशी खोलाको बाढीले बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुलाई समस्या परेको छ ।

काभ्रेको धुलिखेलदेखि सिन्धुलीको नेपालथोक हुँदै बर्दिबास पुग्ने राजमार्गको काभ्रे चौकीडाँडा–नेपालथोक खण्डमा गत वर्ष बनेका डाइभर्सन बगाएपछि पूर्वका जिल्लाबाट उपत्यका आउने यात्रुलाई समस्या भएको हो ।

गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा शुक्रबार बेलुकादेखि परेको पानीका कारण रोशी खोलाले गत वर्ष बनेको डाइभर्सनको अधिकांश हिस्सा बगाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी बिन्दु अधिकारीले रोशीको बहाव कम हुने वित्तिकै काम सुरु गर्ने जानकारी दिइन् ।

‘पानीको बहाव कम भयो भने सोमबारदेखिनै निर्माण सुरु गर्छौं । कम्तीमा ३ देखि ४ दिन तथा बढीमा एक हप्तामा बीपी राजमार्ग सञ्चालनमा ल्याउँछौं,’ अधिकारीले भनिन् ।

उनका अनुसार रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने भएकोले बहाव कम नभई काम सुरु गर्ने सम्भावना छैन । ‘काम सुरु गर्न बहावको मात्र चिन्ता हो, सडक निर्माणका लागि आवश्यक पर्ने अफिस तथा ठेकेदार कम्पनीको मेसिनहरू साइडमा छन्, उनले भनिन् ।

विकल्पमा खुर्कोट–मन्थली–चरिकोट हुँदै पुष्पलाल राजमार्ग

बीपी राजमार्गको विकल्पमा रामेछाप–दोलखा हुँदै पुष्पलाल राजमार्गमार्फत उपत्यका प्रवेश गर्न सकिन्छ । बीपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली–तामाकोशी–दोलखाको चरिकोट–अरनिको राजमार्गको खडीचौर हुँदै काठमाडौं पुग्न सकिन्छ ।

बीपी राजमार्गमा रोशी खोलाको कटानले अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रूपमा खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा लगायतका जिल्लाका सवारी साधन पुष्पलाल राजमार्ग हुँदै चरिकोटबाट राजधानी जान थालेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

उनका अनुसार दोलखामा भित्री सडक पोवटीदेखि मेलुङ जाने सडक बाहेक अन्य स्थानमा समस्या छैन । उपत्यका जान पुष्पलाल राजमार्ग प्रयोग गर्न थालेपछि सवारी चाप बढेको र चाप व्यवस्थापन गर्न राजमार्गका ठाउँठाउँमा प्रहरी परिचालन गरिएको दोलखाका प्रहरी प्रमुख महतोको भनाइ छ ।

उनका अनुसार शनिबार अपराह्नदेखि आइतबार मध्याह्नसम्म करिब ५०० भन्दा बढी सवारी साधन यो राजमार्ग हुँदै राजधानी गएका छन् । शनिबार राति सवारी साधनको अत्यधिक चाप भएपछि त्यस क्षेत्रबाट आएका ३०० भन्दा बढी सवारी साधन चरिकोटमा होल्ड गरेर आइतबार बिहान गन्तव्यका लागि छाडिएको थियो ।

पुष्पलाल राजमार्गअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका-१ भिरकोट, कालीदहमा सडक भासिएपछि केही बेर राजमार्ग अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा राजमार्ग निर्माण गरी एकतर्फी सवारी आवागमन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खुर्कोट–मिल्ती सडक राति बन्द

बीपी राजमार्ग अवरुद्ध भएर खुर्कोट–मन्थली हुँदै चरिकोटबाट उपत्यका जान थालेपछि सडकको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले रातिको समयमा खुर्कोट–मन्थली–खिम्ती–मिल्ती सडक खण्डमा सवारी चलाउन रोक लगाएको छ ।

वर्षा निरन्तर भइरहेकोले वर्षात र बाढी पहिरोबाट यात्रु र सवारी साधनलाई हुनसक्ने जोखिम हुन नदिन आइतबार साँझ ५ बजेदेखि २४ असोज बिहान ५ बजेसम्म खुर्कोट–मन्थली–खिम्ती–मिल्ती सडकमा रातिको समयमा अत्यावश्यक बाहेक सबै सवारी सञ्चालनमा रोक लगाएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

सिन्धुली र सिन्धुपाल्चोकमा सबै स्थानमा यातायात सुचारु

सिन्धुली जिल्लामा पनि बीपी राजमार्गको बर्खेखोला–नेपालथोक खण्ड बाहेक सबै राजमार्गमा यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी-१ गजुली दहमा, सुनकोशी ६ कानढुङग्रेमा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल–६ नागस्थानमा र गोलन्जोर-६ अक्करे भिरमा अवरुद्ध भएको सडक खुलेको छ । मदन भण्डारी राजमार्गको मरिन–२ सिन्दुरे दोभानमा पहिरो गई अवरुद्ध भएको सडक खुलेको छ । सिन्धुलीकै हरिहरपुरगढी-४ हाकपारा र कमलामाई नगरपालिका–८ हर्दियामा भएको अवरुद्ध पनि खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुपाल्चोकमा पर्ने अरनिको राजमार्गको बन्देउ, सुकुटे लगायतका क्षेत्रमा झरेको ढुंगासहितको पहिरो सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको टोलीले पन्छाएको छ।

सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका प्रमुख अच्युतकुमार मजगैयाका अनुसार अरनिको राजमार्गमा झरेको ढुंगाहरू र बन्देउदेखि चौतारासम्मको सडकमा खसेको लेदोसहितको पहिरो हटाएर सडक सञ्चालनमा आएको जानकारी दिए । तर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोमा भने सडक अवरुद्ध छ ।

काभ्रेमा बीपी र ग्रामीण सडक बाहेक अन्य सडक सञ्चालनमा

बीपी राजमार्गको काभ्रे खण्ड नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि बर्खेखोलासम्म पूर्ण रूपमा अवरुद्ध छ । काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको छ । राजमार्गमा दाप्चा खोलाले एक स्थानमा क्षति पुर्‍याएको छ ।

रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको छ । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको छ ।

गत असोजमा बगेर बनाइएको डाइभर्सन यो पटक सबै बगाएको छ । चौकीडाँडादेखि नेपाल थोकसम्म झण्डै १० करोड खर्चिएर बनाएको डाइभर्सन एक वर्षमै बगाएपछि बीपी राजमार्ग गत वर्षको असोजमै पुगेको छ ।

अरनिको राजमार्गको काभ्रे खण्ड धुलिखेल दोलालघाट खण्डमा झरेको पहिरो आइतबार दिउँसो हटाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए । उनका अनुसार अरनिको राजमार्गमा सवारी सञ्चालन ल्याइए पनि बीपी राजमार्गमा भकुण्डेसम्म जाने यात्रु तथा सवारीलाई मात्र जान दिइएको छ ।

बीपी राजमार्गको धुलिखेल–भकुण्डे खण्डमा पनि केही स्थानमा झरेको पहिरो तथा पात्लेखेतमा भासिएको सडक निर्माण गरेर एकतर्फी सडक सञ्चालन गरिएको प्रहरी प्रमुख शाहले जानकारी दिए । अरनिको राजमार्गमा भने मौसमको अवस्था हेरेर सवारी साधन सञ्चालन गर्ने उनले जानकारी दिए ।

‘उपत्यका छिर्ने एउटा मात्र विकल्प अरनिको राजमार्गमा रातिको समयमा पनि यातायात सञ्चालन गर्न दिन्छौं तर मौसमअनुसार रोक्नुपर्ने भयो भने प्रहरी स्ट्यान्डबाई राखेर सहयोग गर्छौं,’ शाहले भने ।

जिल्लामा अरनिको राजमार्ग सञ्चालनमा आए पनि पनौती हुँदै बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका जाने सडक अवरुद्ध छ । मंगलटार हुँदै महाभारत गाउँपालिका जाने सडकसमेत अवरुद्ध छ ।

यात्राको दूरी बढ्ने

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले झण्डै डबल किलोमिटर बढी यात्रा गर्नुपर्ने भएको छ । बीपी राजमार्गको खुर्कोट–धुलिखेल ७५ किलोमिटर, धुलिखेलदेखि काठमाडौं ३० किलोमिटर गरेर १ सय ५ किलोमिटरमा काठमाडौं पुगिन्थ्यो ।

तर विकल्पमा रहेको खुरकोट–मन्थली–चरिकोटबाट काठमाडौं पुग्न २ सय ४ किलोमिटर पार गर्नुपर्छ । विकल्पको सडकखाण्डमध्ये खुर्कोट–मन्थली १४ किलोमिटर, मन्थलीदेखि चरिकोट ६४ किलोमिटर तथा दोलखाको चरिकोटबाट काठमाडौं १ सय २६ किलोमिटरको यात्रा गर्नुपर्ने छ ।

केही स्थानमा समस्या

दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट, कालीदह, गत बर्ष क्षति भएको तामाकोशीको बगर खिम्ती, तामाकोशी क्षेत्रकै मालुखोला लगायतका स्थानमा एकतर्फी सडक सञ्चालनमा छ । ठूलो सवारी साधनलाई समस्या भएको दोलाखा प्रहरीका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।

त्यस्तै रामेछाप जिल्लामा पर्ने खुर्कोटदेखि तामाकोशीसम्म सडक पुरानो भएपनि सडक दुइतर्फीनै सञ्चालनमा छ ।

सिन्धुपाल्चोक क्षेत्रमा पर्ने मुडे देखि बन्देउ सम्म कुनै समस्या नरहेको शसस्त्र प्रहरी गण सिन्धुपाल्चोकको गणपति अच्युतकुमार मजगैयाले जानकारी दिए । अरनिको राजमार्गको काभ्रे खण्डमा पनि दोहोरो सवारी सञ्चालनमा समस्या नभएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

उनका अनुसार धुलिखेल–खावा खण्डमा भने साना सवारीलाई दोहोरो समस्या नभएपनि मालबहाक गाडीहरुलाई भने दोहोरोमा केही समस्या हुनसक्छ । बिहानसम्म साँगामा अवरोध भएपनि अहिले निर्वाधरुपमा दोहोरो सवारी सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?