
विकासशील देशहरूमा स्वास्थ्य सेवाका लागि विदेशी सहयोग वा सरकारी बजेटमा निर्भरता सामान्य भए पनि, तिलगंगा आँखा केन्द्रले यसलाई तोडेर आत्मनिर्भर बन्ने बाटो रोज्यो। एक चार्टर्ड एकाउन्टेन्टको रूपमा मेरो विश्लेषण छ, तिलगंगाले अपनाएको लागत असुली मोडेल (कस्ट रिकोभरी मोडल) सामाजिक उद्यमशीलताको उत्कृष्ट उदाहरण हो, जसले सेवा र आर्थिक स्थायित्व दुवैलाई सँगै अगाडि बढाएको छ।
यस मोडेलका मुख्य पक्षहरू, पैसा तिर्न सक्ने बिरामीले तिरेको रकमबाट गरीब बिरामीको निःशुल्क उपचार गरिन्छ। यसले संस्थालाई दानमा मात्र निर्भर हुनबाट जोगाएर आर्थिक रूपमा बलियो बनाएको छ।
क्रस-सब्सिडी आम्दानीका स्रोतहरू तिर्न सक्ने बिरामीबाट उठेको शुल्क। इन्ट्राअकुलर लेन्स (आईओएल) को उत्पादन र बिक्री। ५० भन्दा बढी देशमा लेन्स निर्यात। विदेशी विद्यार्थीलाई तालिम दिएर उठेको शुल्क। अन्य देशहरूसँगको सहकार्यबाट प्राप्त आम्दानी।
लेन्स उत्पादन: प्रति युनिट करिब ३ देखि ४ अमेरिकी डलर लाग्ने लेन्स ५ देखि १० अमेरिकी डलरमा बिक्री गरिन्छ, जसबाट प्राप्त नाफा (सरप्लस) आउटरीच कार्यक्रम र निःशुल्क सेवामा लगानी गरिन्छ। खर्चलाई प्रत्यक्ष (लेन्स उत्पादन, औषधि), अप्रत्यक्ष (तलब, मर्मत) र आउटरीच (ग्रामीण शिविर) मा स्पष्ट रूपमा छुट्याइएको छ। यसले तिर्ने बिरामीबाट आएको पैसा गरीबलाई सहयोग गर्न प्रयोग गर्न सकिन्छ।
आन्तरिक नियन्त्रण प्रणाली: खरिद निर्देशिका, सामान नियन्त्रण, बैंक मिलान, र कामको बाँडफाँट जस्ता प्रणालीहरूले दुरुपयोग रोक्छन्। सबै खर्चको लेखापरीक्षण हुने भएकाले पारदर्शिता सुनिश्चित हुन्छ। स्वदान अस्थायी हुन्छ, तर लागत असुलीबाट आउने आम्दानी स्थायी हुन्छ।
तिलगंगा नाफा कमाएर पुनः लगानी (रिइन्भेष्टमेन्ट) गर्छ। यो नाफा कमाउने उद्देश्य नभएको तर कुशलतापूर्वक सञ्चालित हाइब्रिड सामाजिक उद्यम (हाइब्रिड सोसियल इन्टरप्राइज) हो। लेन्स निर्यात र तालिमबाट आएको आम्दानीले यसलाई अन्तर्राष्ट्रिय स्तरमा आत्मनिर्भर बनाएको छ।
तिलगंगाको लागत असुली मोडेलले नेपाललाई आँखा उपचारमा आत्मनिर्भर मात्र नभई निर्यातक देश पनि बनाएको छ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई गर्व दिलाएको छ। तिलगंगाको सफलताका कारणहरू हुन्: तिर्ने बिरामीबाट सब्सिडी, कुशल उत्पादन र निर्यात, पारदर्शी लेखा, र अन्तर्राष्ट्रिय सम्मान। यी सबैले तिलगंगालाई एक सामाजिक उद्यम बनाएका छन्।
यसलाई अपमानित गर्ने प्रयास ईर्ष्या र राजनीतिक स्वार्थ मात्र हो। तिलगंगाको यो मोडेललाई स्वास्थ्यका अन्य क्षेत्रमा पनि अपनाउन सकिन्छ, जसले नेपाललाई दीर्घकालीन स्वास्थ्य सेवामा अगाडि बढाउनेछ।
गाई पाल्ने दृष्टान्त र हिन्दू धर्म
हिन्दू धर्ममा गाईलाई “कामधेनु” को रूपमा पूजा गरिन्छ, जसले अनन्त दूध, अन्न, धन र समृद्धि प्रदान गर्ने दैवी सम्पत्तिको प्रतीक मानिन्छ। कामधेनुलाई केवल गाई नभई, दिगो समृद्धिको स्रोतको रूपमा हेरिन्छ। यसैगरी, आर्थिक क्षेत्रमा “गाई पाल्ने” भन्नाले एकपटकको लगानीबाट निरन्तर उत्पादन र सेवा दिने आधारभूत संरचना निर्माण गर्नु भन्ने अर्थ लाग्छ।
तिलगंगा आँखा केन्द्रले यस अवधारणालाई “कामधेनु” मा रूपान्तरण गरेको छ। कामधेनुको पौराणिक कथा अनुसार, महर्षि वशिष्ठको आश्रममा रहेको यो दिव्य गाईले जो कोहीको पनि इच्छा पूरा गर्थी। यसै कारणले कामधेनु सम्पत्ति, आत्मनिर्भरता र दिगोपनको शाश्वत प्रतीक बन्न पुग्यो।
यसैलाई आधार मानेर, तिलगंगाले स्थापना गरेका आईओएल कारखाना, अस्पताल, तालिम कार्यक्रम र अनुसन्धानजस्ता विभिन्न पक्षहरूलाई कामधेनु समान दिव्य स्रोतको रूपमा विकास गरेको छ।
यसले न केवल नेपालमा लाखौं मानिसलाई दृष्टिदान गरेको छ, बल्कि ५० भन्दा बढी मुलुकमा लेन्स निर्यात गरी नेपाललाई विश्वभर चिनाएको छ। यसरी, टेकोनोमिकलाई गाईलाई कामधेनुमा रूपान्तरण गर्ने एक मानवतावादी दर्शनका रूपमा बुझ्न सकिन्छ।
दूध होइन, गाई किन्ने दृष्टिकोण
नेपालमा स्वास्थ्य सेवालाई दिगो बनाउनु एक चुनौती रहँदै आएको छ। धेरै संस्थाहरू विदेशी सहयोग, आयातित सामग्री वा दातृ निकायको भरमा चल्ने गर्दछन्। यसलाई “दूध किन्ने” जस्तै भन्न सकिन्छ– जसले केही समयका लागि समस्या समाधान गर्छ, तर दिगोपन प्रदान गर्दैन। यसको विपरीत, डा. सन्दुक रुइत र तिलगंगा नेत्र केन्द्रले “गाई पाल्ने” अर्थात् आधारभूत सम्पत्तिमा लगानी गर्ने बाटो रोजे। यो मोडेललाई आज “टेकनोमिक” भनिएको छ।
तिलगंगाका गाईहरू, आईओएल कारखाना: फ्रेड हल्लोज फाउन्डेशनको सहयोगमा स्थापित यो प्रयोगशालाले महँगो आयातलाई प्रतिस्थापन गर्यो। यहाँ सस्तोमा गुणस्तरीय लेन्स उत्पादन भई ५० भन्दा बढी मुलुकमा निर्यात भइरहेको छ, जसले लाखौं बिरामीलाई दृष्टिदान गरेको छ र नेपाललाई विदेशी मुद्रा आर्जन गर्न मद्दत गरेको छ।
यसले क्रस-सब्सिडी मोडेल अपनायो। धनी बिरामीले तिरेको शुल्कले गरीबलाई निःशुल्क वा सस्तो उपचार उपलब्ध गराइयो, जसले हजारौंलाई दृष्टिदान गर्यो र संस्थालाई आत्मनिर्भर बनायो।
आधुनिक उपकरण: लासिक मेसिन जस्ता उपकरणहरूबाट प्राप्त आम्दानी पनि गरीब बिरामीको उपचारमा प्रयोग गरियो। शैक्षिक तथा तालिम कार्यक्रम: नेत्र चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको नयाँ पुस्ता तयार गरियो, जसले भविष्यमा निरन्तर सेवा प्रदान गर्नेछन्।
आईएसओ, सीई मार्क जस्ता प्रमाणपत्र र अन्तर्राष्ट्रिय प्रकाशनहरूले तिलगंगाको विश्वसनीयता बढायो। यी “गाईहरू” ले दिएको “दूध” केवल उपचार मात्र थिएन, बरु आधुनिक सेवा, गुणस्तरीय लेन्स, निर्यातबाट आएको आम्दानी, तालिम प्राप्त जनशक्ति र अन्तर्राष्ट्रिय मान्यता पनि थियो।
तिलगंगाका कर्मचारीहरू “गोठाला” जस्तै थिए जसले यी “गाईहरू” को स्याहार गरे। आँखा शिविरहरू “दूध” गाउँ-गाउँ पुर्याउने “वितरण प्रणाली” बने, शैक्षिक कार्यक्रमले “नयाँ बाछा” जन्माए, निर्यातले “अतिरिक्त दूध” बेचेर नाफा नेपाल ल्यायो, र अनुसन्धानले “गाईलाई पोषिलो खाना” दिएझैँ गुणस्तर बढायो।
हाम्रो समाजमा व्यक्तिमा निर्भर प्रणाली, उत्तराधिकारी व्यवस्थाको अभाव, र पारदर्शिताको कमी जस्ता समस्याहरू छन्। धेरै दाताहरूले सहयोग दिए पनि त्यसको सही प्रयोग नहुने देखिन्छ। तर तिलगंगाले दानलाई खर्च मात्र नगरी सम्पत्तिमा बदल्यो।
रकम सुरक्षित खातामा राखियो, नीति-प्रक्रिया अनुसार खर्च भयो, र प्रत्येक काम पारदर्शी र लेखापरीक्षित गरियो। स्थानीय मन्दिर वा टोल सुधार समितिहरूमा व्यक्तिगत निर्भरताका कारण रकम हराएको उदाहरण पाइन्छ।
चौधरीले २००५ मा टोल सुधार समितिमा २५,००० र गाउँको मन्दिर व्यवस्थापनमा २०,००० कोषस्वरूप तिरे, तर त्यसको प्रतिफल पाएनन्। अध्यक्षको निधनपछि ती रकम कहाँ गए भन्ने थाहा नै भएन।
यी केही उदाहरण मात्र हुन्; वास्तवमा हजारौं दाताहरूले म्याचिङ ग्रान्ट दिएका छन् तर धेरैजसो प्राप्तकर्ता संस्थाहरूले वास्तविक रकम होइन, कागजमै मात्र लगानी देखाएका छन्। तर तिलगंगाले दानलाई सम्पत्तिमा बदलेर, सुरक्षित खातामा राखी, नीति-प्रक्रिया अनुसार खर्च गरी, र पारदर्शिता अपनाएर काम गर्यो।
डा. सन्दुक रुइतमाथिको आरोप
हालै डा. सन्दुक रुइतमाथि लगाइएका आधारहीन आरोपहरूले मलाई दुःखी बनाएको छ। म एक चार्टर्ड एकाउन्टेन्ट हुँ र पैसा र हिसाबकिताबको महत्त्व बुझ्दछु।
झन्डै सात वर्ष तिलगंगा आँखा केन्द्रमा आर्थिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दा, मैले देखेको छु कि प्रत्येक पैसा बिरामीको उपचार र अस्पतालको पूर्वाधारमा मात्र खर्च भएको छ। तसर्थ, तिलगंगा वा डा. रुइतमाथि यस्ता आरोप लगाउनु नेपाली जनतालाई झुक्याउनु हो।
तिलगंगा सन् १९९४ मा अस्ट्रेलियाली फ्रेड हल्लोज फाउन्डेशनको सहयोगमा स्थापना भएको हो। प्राध्यापक फ्रेड हल्लोज र डा. सन्दुक रुइतको मित्रता र दुर्गम गाउँमा अन्धोपनको पीडा देखेर यो संस्थाको परिकल्पना गरिएको थियो। जगदीश घिमिरे, दिवाकर गोल्छा, सुशील पन्त र डा. सन्दुक रुइत जस्ता अग्रजहरूको सामूहिक प्रयासले यसलाई मूर्त रूप दियो।
पहिलो १० वर्ष तिलगंगा पूर्ण रूपमा अस्ट्रेलियाली सहयोगमा चल्यो, जसमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पनि योगदान थियो। यो केवल डा. रुइतको सपना नभई, अग्रजहरूको सामूहिक प्रयास र अन्तर्राष्ट्रिय मित्रताको उपज थियो। आज आईओएल प्रयोगशाला, आँखा शिविर, अन्तर्राष्ट्रिय तालिम कार्यक्रम र ५० भन्दा बढी देशमा निर्यात हुने लेन्सहरू तिलगंगाको सफलताका प्रमाण हुन्।
डा. रुइतले ५० लाखभन्दा बढी मानिसलाई दृष्टिदान गरी नेपालको नाम विश्वभर फैलाउनुभएको छ। भारतको पद्मश्री, फिलिपिन्सको रामोन म्यागसेसे जस्ता दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कारहरू उहाँको मानवीय सेवाका साक्षी हुन्। आजको विश्वमा, जहाँ प्रविधि र विश्वव्यापीकरणले सबैलाई नजिक ल्याएको छ, हरेक व्यक्तिले आफ्नो प्रतिभा, सीप र मेहनत देखाउन सक्छ। अरूको सफलतालाई ईर्ष्या वा आरोपले हेर्नु हुँदैन।
हामीले उहाँको सफलताबाट प्रेरणा लिनुपर्छ, नयाँ कुरा सिक्नुपर्छ र आफूलाई सक्षम बनाउनुपर्छ। डा. रुइतमाथिका आरोपहरू आधारहीन छन्। आरोप राष्ट्रिय अपमान हो। उहाँले देशलाई चिनाउनुभयो, बिरामीलाई ज्योति दिनुभयो, र आत्मनिर्भर बन्ने बाटो देखाउनुभयो। उहाँको सफलतालाई गर्व मान्नुपर्छ, दोष होइन। सत्य सधैं टिक्छ, झुट टिक्दैन। हाम्रो संस्कृतिमा गुरु र उपचार गर्नेलाई देवता समान मानिन्छ।
डा. रुइतले आफ्ना व्यक्तिगत पुरस्कारहरू समेत संस्थाको लागि समर्पण गर्नुभएको छ। रामोन म्यागसेसे पुरस्कारबाट प्राप्त पचास हजार अमेरिकी डलर उहाँले आफ्नो खातामा नराखी तिलगंगाको खातामा जम्मा गर्नुभयो। ५० लाखभन्दा बढी मानिसलाई दृष्टिदान, ५० भन्दा बढी देशमा निर्यात हुने उत्पादन, हजारौं डाक्टरलाई तालिम दिने योगदान – यी सबै उपलब्धिका बाबजुद उहाँलाई विदेशी एजेन्ट भन्नु अज्ञानता हो र प्रत्येक नेपालीको गौरवमाथिको चोट हो। यस्ता आरोपहरू सुन्दा मन अमिलो हुन्छ। यस सन्दर्भमा केही प्रश्नहरू उठ्छन्:
– आत्मनिर्भर मोडेल बनाउने संस्थालाई किन विदेशी एजेन्ट भनिन्छ?
– गरीबलाई निःशुल्क उपचार दिने प्रणालीलाई अपराध किन ठानिन्छ?
– सयौंलाई एउटै दिनमा आँखा फर्काउने शिविरलाई एजेन्टको काम भनिन्छ?
– पाँच डलरमा लेन्स उत्पादन गरी ५० भन्दा बढी देशमा निर्यात गर्ने उपलब्धि पनि एजेन्टको खेल हो?
– चीन र उत्तर कोरियाले अनुमति दिएको संस्थालाई कसरी विदेशी एजेन्ट भन्न सकिन्छ?
– हजारौं डाक्टर र नर्सलाई तालिम दिने काम पनि एजेन्टले गर्छ?
– अनुसन्धान गरी अन्तर्राष्ट्रिय पत्रिकामा लेख छाप्ने संस्थालाई एजेन्ट भन्नु अज्ञानता होइन र?
– ५० लाखभन्दा बढी मानिसको दृष्टि फर्काएको योगदानलाई एजेन्टको नाममा किन अपमान गरिन्छ?
– डा. रुइतले आफ्नो म्यागसेसे पुरस्कारको ५० हजार डलर संस्थामा जम्मा गर्दा पनि उहाँ एजेन्ट हुनुहुन्छ?
– दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार पाएर नेपाललाई गर्व दिलाउने व्यक्तिलाई किन बदनाम गर्न खोजिन्छ?
– यदि अनुदान पाएरै एजेन्ट हुन्छ भने, के नेपालका विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ) सबै एजेन्ट हुन्?
– यूडीएआईडी/एएसएचए म्याचिङ ग्रान्ट अमेरिकास्थित साझेदार संस्थाबाट आएको थियो र तिलगंगाले आफ्नै ४०% रकम मिलाएको थियो यस्तो पारदर्शी परियोजनालाई कसरी विदेशी एजेन्सीको कार्य भन्न मिल्छ?
– चीन र उत्तर कोरियाले तिलगंगालाई आँखा उपचार शिविर सञ्चालन गर्न अनुमति दिएका थिए, यदि यो विदेशी एजेन्सीको परियोजना मात्र थियो भने, यी दुई देशहरूले किन अनुमति दिने थिए?
– डा. रुइतले भारतबाट ‘पद्मश्री’, बहराइनबाट ‘ईसा अवार्ड’, अस्ट्रेलियाबाट धेरै पुरस्कार र अमेरिकाबाट ‘मानवता पुरस्कार’ पाउनुभयो पुरस्कार पाउँदा मात्रै एजेन्ट हुने हो?
यही कारणले डा. सन्दुक रुइतलाई दूरदर्शी भन्न सकिन्छ। उहाँले दानलाई संस्थागत सम्पत्तिमा बदल्ने, सेवाका साथै उत्पादन र निर्यातबाट आम्दानी सिर्जना गर्ने, मानव संसाधन विकास गर्ने, र पारदर्शी प्रणालीमार्फत सम्पूर्ण प्रक्रिया सुरक्षित राख्ने सोच प्रस्तुत गर्नुभयो। तिलगंगा केवल अस्पताल नभई राष्ट्रिय सम्पत्ति बन्यो, र डा. रुइत चिकित्सक मात्र नभई दूरदर्शी संस्थापक सावित हुनुभयो।
यसरी भन्न सकिन्छ—टोल वा मन्दिरको “दूध-मात्र” मोडेलले पैसा हराउँछ, तर तिलगंगाको गाई-सहित मोडेलले पैसालाई सम्पत्तिमा रूपान्तरण गर्छ। तिलगंगा आई सेन्टर (टीईसी) टेकोनोमिक भनेको एकपटकको लगानीबाट निरन्तर उत्पादन, आत्मनिर्भरता र दिगोपन दिने स्वास्थ्य सेवा मोडेल हो। यो मोडेल नेपाल जस्ता विकासशील मुलुकका लागि अनुकरणीय छ।
भविष्यमा टेकोनोमिक: आज धेरैले यसलाई साधारण रूपमा तिलगंगा आँखा केन्द्रको मोडेल मात्र ठानिरहेका छन्। तर भविष्यमा जब इतिहास लेखिनेछ, टेकोनोमिकलाई प्रविधिको रूपमा चिनिनेछ। यसले प्रमाणित गरेको छ दानलाई खर्च मात्र नगरी, सम्पत्तिमा बदल्न सकिन्छ।
आईओएल प्रयोगशाला, आत्मनिर्भर अस्पताल, तालिम, अनुसन्धान र निर्यात यी सबै मिलेर स्रोत व्यवस्थापनको नयाँ प्रविधि बनेका छन्। भोलि पुस्ताले यसलाई दिगो स्वास्थ्य अर्थशास्त्रको प्रविधि भनेर सम्झनेछ। जसरी कामधेनुको कथा अमर छ, त्यसरी नै डा. सन्दुक रुइतको टेकोनोमिक पनि स्वास्थ्य र मानवताको इतिहासमा अमर हुनेछ।
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’
यो भनाइले हाम्रो दृष्टि फरक हुने कुरालाई चित्रण गर्दछ, जसरी हामी संसारलाई हेर्छौं त्यसरी नै हाम्रो सत्यप्रतिको बुझाइ पनि फरक हुन्छ। कोही आशा र सेवा देख्छन्, कोही आरोप र अन्धकार मात्र। तर समय, धैर्य र निरन्तर सेवाले अन्ततः झुटलाई उज्यालोमा रुपान्तरण गर्दछ। यो नै ब्रह्माण्डको नियम हो सत्य ढाकिँदैन, झूट टिक्दैन।
(वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पौडेल नेपाल रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष हुन्।)
प्रतिक्रिया 4