+
+
Shares

इलाम विपद् : राहत र उद्धारबारे सुहाङले गरे मन्त्रीहरूसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १७:२१

२० असोज, काठमाडौं । नेकपा एमालेका निवर्तमान सांसद सुहाङ नेम्वाङले इलाम विपद्बारे गृहमन्त्री ओम प्रकाश अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ लगायतलाई भेटेर राहत तथा उद्धारमा जोड दिन अनुरोध गरेका छन् ।

बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएपछि एमालेका युवा नेतासमेत रहेका नेम्वाङले गृहमन्त्री अर्याल र यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर राहत र उद्धारबारे ध्यानकर्षण गराएको बताएका छन् ।

‘इलाममा भएको मानवीय र भौतिक क्षतिको विषयमा जानकारी दिने लिने र त्यसको व्यवस्थापनका लागि भइरहेका कामहरूबारे छलफल गरियो,’ सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङले लेखेका छन् ।

नेम्वाङका अनुसार मन्त्रीहरूलाई तत्काल बाँकी रहेका उद्धार तथा क्षतिपूर्तिका विषयमा पुन: ध्यानाकर्षण गराइएको छ ।

‘पहिरोका कारण प्रहरीको बसोबास गर्ने ठाउँ यसअघि नै क्षतिग्रस्त हुँदा धेरै ठाउँमा सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा अवगत गरियो,’ उनले लेखेका छन् ।

मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने विषयमा छलफल भएको उनले बताए ।

एक जना गुमाएको खण्डमा २ लाख रुपैयाँ र एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने विषयमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् ।

‘अस्थायी व्यवस्थापनका लागि दुई किस्तामा (पहिलोमा रु. २५,०००, दोस्रोमा रु. २५,००० पहिलो बनिसकेपछि) व्यवस्थापन गरिने,’ नेम्वाङले मन्त्रीहरूसँग छलफल भएपछि लेखेका छन्, ‘स्थायी पुनर्स्थापनाका लागि पनि उचित व्यवस्थापन गरिने ।’

विपद् व्यवस्थापनका लागि इलाम जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल हिजो नै ७० लाख रुपैयाँ निकासा भएको उनले जनाएका छन् । अवरुद्ध बाटो र पुल यथाशीघ्र खुलाउने विषयमा सरकारसँग उनले छलफल गरेका छन् । इलाममा भोलिसम्म पुन: विद्युत् सञ्चालनमा ल्याउने गरी काम भइरहेको सरकारले जानकारी गराएको छ ।

उद्धार र राहत कार्यमा खटिएकालाई पनि नेम्वाङले धन्यवाद दिएका छन् । इलामका प्रत्येक नागरिकको सुरक्षा, पुनर्स्थापना र मनोबलका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा गरिरहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?