
News Summary
Generated by OK AI. Editorially reviewed.- १६ वर्षीया आकृति सोङ्मीका परिवारका पाँच सदस्यले पहिरोमा ज्यान गुमाएका छन्।
- राष्ट्रियस्तरको फुटबल खेल्ने आकृतिको सपनामा ठेस लागेको छ ।
- इलामको माइजोगमाई गाउँपालिकामा पहिरोले ८ जनाको मृत्यु भएपछि पुनर्स्थापनाको चिन्ता बढेको छ।
२१ असोज, इलाम । १६ वर्षीया आकृति सोङ्मी कक्षा ११ मा भर्ना भएयता फूपुसँगै इलाममा बस्थिन् । प्याङ गएको पनि केही दिन मात्रै भएको थियो, फूपु बुद्धमाया सोङ्मी ‘क’ले उनलाई इलाम फिर्ता बोलाइहालिन् ।
फूपुले इलाम नगरपालिकाले सञ्चालन गरेको भ्युटावर ठेक्कामा लिएकी छिन् । त्यहाँ उनले फूलको नर्सरी पनि सञ्चालन गरेकी छिन् । दशैंको छेकमा इलामको चियाबारी हेर्न आउने पर्यटकहरू भ्युटावर पनि चढ्छन् । त्यसैले चाडबाडमा पनि भ्यूटावर बन्द गर्न मिल्दैन । सबै कामदारहरू घर जाने भएकाले फुपू बुद्धमायाले भदैनी आकृतिलाई दशैंभरि भ्युटावरको टिकटघर व्यवस्थापनका लागि बोलाएकी थिइन् ।
अघिल्लो आइतबार मात्रै आकृति प्याङबाट फूपुलाई सघाउन इलाम बजार आइन् । उता घरमा भने ठूलो विपत्ति आइलाग्यो ।
प्याङको घरमा शनिबार साँझ सुतेका आकृतिका बाजे ८२ वर्षका बर्मलाल सोङ्मी, ७० वर्षीया बोजु (हजुरआमा) बुद्धमाया सोङ्मी ‘ख’, ४६ वर्षीय बुबा धनबल सोङ्मी, ४२ वर्षीया आमा सरला सोङ्मी र १४ वर्षीया माइली बहिनी प्रकृति सोङ्मीले ज्यान गुमाए ।
घरभन्दा ठूलो क्षेत्र ओगटेर आएको पहिरोले घर नै नदेखिनेगरी सोहोरेर ढुङ्गामाटोमा विलिन गरायो ।
बुद्धमाया ‘क’ लाई आइतबार सखारै भाइ रविनको फोन आयो । रविनले भने, ‘तुम्बा तुम्मा (बडिबा/बडिआमा) को घरको नामनिशान छैन पहिरोले, भागेर ज्यान जोगाएर जाने ठाउँहरू सबै खोजिसक्यौं, कहीँ पनि छैनन् । सायद घरसँगै सकिनुभो जस्तो छ ।’

बिहान उठेर कुचो लगाउन मात्र लागेकी बुद्धमाया ‘क’ लाई त्यो फोनले मस्तिष्कमा आँधिबेहरी नै ल्यायो । कुचोसँगै उनी थुचुक्क बसिन् । आँखाबाट बरर अश्रुधारा आँशु बगे ।
केहीबेरमा गाउँबाट खबर आयो, ‘घरसँगै घरभित्र रहेका आफ्ना तुम्बातुम्मा, दाजु भाउजु र सानो भदैनीको प्राणन्त भयो । ११ वर्षीया अर्की कान्छी भदैनी स्मृति भने पहिरो गएको घरदेखि पल्लो काकाको घरमा काकाकी छोरी मिक्फुङसँग खेल्न गएको बेला उतै सुतेका कारण बचिन् । यता आफूसँगै रहेकी जेठी भदैनी आकृति टुहुरी भइसकेकी थिइन् ।
यो कुरा आकृतिलाई कसरी जानकारी दिने भनेर बुद्धमाया ‘क’ विलखबन्दमा परिन् । छिमेकमा बस्ने भाइ थरेन्द्र सोेङ्मीलाई तत्काल बोलाएर भदैनी आकृतिलाई झट्टै प्याङ लिएर जान आग्रह गरिन् ।
बाढीपहिरोका कारण सडक सबै अवरुद्ध थिए । थरेन्द्रले आकृतिलाई पैदल नै गाउँ लिएर गए । गाउँ आइपुग्ने बेला बाटोमा हिँड्ने यात्रुहरूले आकृतिलाई करुणाभावले हेर्ने र खासखुस कुरा गर्न थाले ।
प्याङको ओढारे गाउँमा २८ वर्षीय किरण थेवे, उनकी गर्भवती पत्नी १८ वर्षीया मनमाया र उनीहरूका ३ वर्षीया छोरी मुनुसाको पहिरोले ज्यान लगिसकेको चर्चा बाटैमा भयो । आकृतिलाई घरमात्र पहिरोमा परेको बताइएको थियो । थेवे परिवारको घटना बाटोमा सुन्ने वित्तिकै आकृति स्तब्ध भइन् र थरेन्द्रलाई सोधिन्, ‘के हाम्रो परिवारको सबै जनालाई नराम्रो भएको हो ?’
थरेन्द्र अवाक् भए । गाउँ पुग्दानपुग्दै सबै कुरा छर्लङ्ग भयो ।

आइतबार साँझ घरछेउमा आकृतिका बाजे बोजु, आमाबुवा र बहिनीलाई फरक फरक चितामा सद्गद् गरेर उनीहरू घर फर्किए ।
लिम्बू परम्परामा शव गाड्ने प्रचलन हुन्छ तर अकालमा मृत्यु भएको खण्डमा जलाउने गरिन्छ । आइतबार रातिदेखि परेको मुसलधारे पानीका कारण आएको बाढीपहिरोले आकृति र स्मृतिलाई एक झट्कामा टुहुरा बनाइदियो ।
फुटबलर बन्ने सपना
पालिकास्तरीय महिला फुटबल खेलाडी समेत रहेकी आकृतिले आफ्नो फेसबुक प्रोफाइलको पहिलो फोटो नै क्रिस्टियानो रोनाल्डोको राखेकी थिइन् ।
इलाममा राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता आयोजना हुँदा उनले राष्ट्रिय महिला खेलाडीसँग फोटो खिचाउन र उनीहरूको खेल हेर्न प्याङदेखि इलामसम्म आएकी थिइन् ।

उनको राष्ट्रियस्तरको फुटबल खेल्ने सपनामा ठेस लागेको छ । आकृति र स्मृतिलाई अब लालनपालन कसले गर्ने र उनको भविष्यको योजना कसरी पूरा गर्ने भन्ने चिन्ता बढेको छ ।
फूपु बुद्धमायालाई उनीहरूको पुनर्स्थापनाको चिन्ता छ । उनी भन्छिन्, ‘अब उनीहरूको कोही बाँकी रहेन, अब म फूपु भएकाले म नै यिनीहरूलाई हेर्छु होला, पढाउँछु होला, साना बालखा टुहुरालाई राज्यले पनि केही त गर्ला ।’
यतिबेला इलामको माइजोगमाई गाउँपालिका नै शोकमा छ । साविक प्याङ गाविस (हालको माइजोगमाई–६) मा मात्र पहिरोले ८ जनाको ज्यान लिएको छ ।
प्रतिक्रिया 4