
News Summary
Generated by OK AI. Editorially reviewed.- २०४६ सालपछि नेपालमा प्रजातन्त्र पुनर्स्थापना, माओवादी युद्ध, राजदरबार हत्याकाण्ड, र २०६२-६३ सालको जनआन्दोलनजस्ता राजनीतिक घटनाहरू भएका छन्।
- नेकपा (माओवादी) को गठबन्धन सरकार नौ महिनामा ढलेको, केपी ओलीको संसद् विघटन र अदालतको परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको घटना देखिएको छ।
- राजनीतिमा नेताहरूको चरम शक्ति–संघर्ष, भ्रष्टाचार, र प्रणालीगत समस्याले देशको राजनीतिक स्थिरता प्रभावित गरेको छ भन्ने प्रश्न उठाइएको छ।
प्रिय जेनजी !
म मिलेनियल्स पुस्ताको स्वघोषित प्रतिनिधि बनेर केही कुरा लेख्छु है! हाम्रो पुस्ताले धेरै राजनीतिक उतारचढाव पढ्यो, सुन्यो, देख्यो र भोग्यो पनि! जहानियाँ राणाशासनको बारेमा हामीले पढ्न मात्र पायौं।
२००७ सालमा राजा त्रिभुवनले ल्याएको प्रजातन्त्र, २०१७ सालमा राजा महेन्द्रले लागू गरेको निर्दलीय पञ्चायती व्यवस्था र २०४६ सालमा राजा वीरेन्द्रले पुनर्वहाली गरेको बहुदलीय शासन व्यवस्थासँग सम्बन्धित घटनाहरूका बारेमा हामीले किताबमा मात्र पढेनौं, हाम्रो अग्रज पुस्ताहरूबाट सुन्ने र बुझ्ने मौका पायौं। प्रजातन्त्र पुनर्स्थापना गर्नेसम्मका राजनीतिक परिवर्तनमा हाम्रो पुस्ताको खास योगदान छैन।
तर त्यसयता देशमा भएका सानादेखि ठूला राजनीतिक घटनाहरूका हामी साक्षी हौं! हाम्रो पुस्ताको राजनीतिक चेतनाको जग मूलतः २०४६ सालमा राजनीतिक दलहरूले जनआन्दोलन मार्फत पुनर्स्थापना गरेको प्रजातन्त्र, २०५२ सालमा सुरु भएको माओवादी युद्ध, २०५८ सालमा घटेको राजदरबार हत्याकाण्ड र राजा वीरेन्द्रको वंश विनाश जस्तो रहस्यमयी घटना, २०५९ सालमा राजा ज्ञानेन्द्रले गरेको कु, २०६२-६३ सालको १९ दिनको जनआन्दोलन, त्यसपछि अधिकार प्राप्तिका लागि भएका विभिन्न जनजाति तथा थारू-मधेश आन्दोलन नै हुन्।
यसबीचमा हामीले राजाको प्रत्यक्ष शासन र राजाले गराएको स्थानीय चुनाव देख्यौं। संकटकाल भोग्यौं, अनेकौं पटक अनिश्चितकालीन बन्द-हड्ताल भोग्यौं। कैयौं मानिस घरवारविहीन भए, गाउँ छोड्न बाध्य भए, धेरै संरचना खरानी भए। सशस्त्रद्वन्द्व कालमा प्रहरी, सेना र माओवादी लडाकु शहादत भएका धेरै आततायी घटनाहरू सुन्यौं, पढ्यौं र देख्यौं पनि जसमा हजारौंको बलिदानी हाम्रै पुस्ताले गरेको छ। ठूलो दु:ख, कष्ट, पीडा भोगेको हाम्रो पुस्ताले व्यवस्था परिवर्तनको रूपमा २०० वर्ष पुरानो राजतन्त्र ढलेको देख्यो। तत्पश्चात् हामीले संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान पायौं।
२०४६ सालको संविधान जारी भएपछि हामीले नेपाली कांग्रेसको एकल बहुमतको सरकार देख्यौं। नेकपा (एमाले) को नौ महिने सरकार र राप्रपाको अल्पमतको सरकार पनि देख्यौं। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन पनि देख्यौं।
पहिलो पटक सरकारको नेतृत्व गरेको नेकपा (माओवादी) को गठबन्धन सरकार नौ महिनामा ढलेको पनि देख्यौं। दुई–दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपालले सरकार बनाएको पनि देख्यौं। केपी ओलीको झण्डै दुईतिहाइ बहुमतको सरकारले संसद् विघटन गरेको पनि देख्यौं। अदालतले परमादेश जारी गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको घटना पनि देख्यौं।
तेस्रो ठूलो दलले सरकारको नेतृत्व गरेको मात्रै कहाँ हो र दुई ठूला दलले सरकार बनाएको पनि देख्यौं। सडकबाट केपी ओलीको सरकार ढलेको त तिमीहरूले पनि नजिकबाट देख्यौ। चुनावअगाडि नयाँ-नयाँ पार्टीहरू बन्ने गरेको देख्यौं, चुनाव जित्नलाई नै गठबन्धन र पार्टी एकता गरेको पनि देख्यौं। चुनाव जितेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी), मधेशकेन्द्रित दलहरू धेरैचोटि फुटेको पनि देख्यौं। हाम्रो पुस्ताले देख्न बाँकी केही छ जस्तो लाग्दैन, सिर्फ देशमा राजनीतिक स्थिरता देख्न चाहिं पाएनौं।
सरकार मात्रै होइन नेताहरू पनि थुप्रै देख्यौं! किशुनजीको सादगी जिन्दगी देख्यौं। मदन भण्डारीको विचार पढ्यौं। मनमोहन अधिकारीको लोकप्रियता देख्यौं। गगन थापा र रामकुमारीहरूका युवा जोश देख्यौं। गिरिजाबाबुको अभिभावकत्व देख्यौं। माओवादीप्रति जनताको उभार र प्रचण्डप्रति मान्छेहरूका अपेक्षा देख्यौं। मधेश आन्दोलनका नायकका रूपमा उदाएका उपेन्द्र यादव देख्यौं। नेपालको पहिलो राष्ट्रपति मधेशको छोरो भएको देख्यौं।
डा. बाबुराम भट्टराईप्रति जनताको आकर्षण पनि देख्यौं। जनआन्दोलनका बेला खलनायक बनेका कमल थापा फेरि गाई चुनाव चिह्न लिएर उदाएको पनि देख्यौं। संविधान जारी गर्दै गर्दाका सुशील कोइराला देख्यौं। महिलाहरू राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख भएको पनि देख्यौं। केपी ओलीको चट्टानी अडान पनि देख्यौं। थारू आन्दोलन उठाएका रेशम चौधरी देख्यौं। देश विग्रहको कुरा गर्ने सीके राउतमा आएको जिम्मेवारीबोध पनि देख्यौं। रवि लामिछानेको क्रेज देख्यौं। स्वतन्त्र (बालेन, हर्क, गोपी) हरूले मेयर जितेको पनि देख्यौं।
घटनाहरू मात्र होइन, जनताले नेताप्रति गरेका अपेक्षाहरू पनि देख्यौं। नेतालाई भगवान जसरी पूजा गरेको र कैयौं पटक सार्वजनिकस्थलमा चप्पल प्रहार गरेको पनि देख्यौं! हामीले धेरै नेताहरू उदाएका मात्रै होइन पतित भएको पनि देखेका छौं।
पार्टी नेतृत्व र सत्ताका लागि शीर्ष नेताहरू बीचको चरम शक्ति–संघर्ष भएको पनि देखेका छौं। नेताहरूका चरम सत्तालिप्सा देखेका छौं। त्यति मात्र कहाँ हो र यहाँ त वहालवाला प्रधानन्यायाधीश सरकारप्रमुख भएको देखेका छौं। आफ्नै फैसला विपरीत सडकबाटै पूर्वप्रधानन्यायाधीश पहिलो महिला प्रधानमन्त्री भएको त तिमीहरूले समेत राम्रैसँग देख्यौ नि! राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भनेर अब हामीलाई कसैले भनिराख्नै पर्दैन।
अहिले आएर म कहिलेकाहीं सोच्छु, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन र समावेशी संविधान बनाउन योगदान गरेको हाम्रो पुस्ताले देशको खास समस्या पहिल्याउनै सकेन कि, समस्याको डायग्नोसिस नै गरेन कि! हरेक व्यवस्था असफल देखिनुले समस्या व्यवस्थामा होइन, समस्या व्यवस्था सञ्चालन गर्ने हाम्रा राज्य संयन्त्रमा, हाम्रो कर्मचारीतन्त्रमा, हाम्रो सेवा वितरण प्रणालीमा त होइन भनेर हामीले समीक्षा गरेनौं कि! सुरक्षा दिने संस्थाले नै सौदाबाजी पो गरिरहेको छ कि?
भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने संस्थाले उल्टै भ्रष्टाचारीको संरक्षण त गरिरहेको त छैन ? न्याय दिने ठाउँमा झन् बढी अन्याय पो भइरहेको छ कि? समयसापेक्ष हुनुपर्ने सेवा वितरण प्रणाली झन्झटिलो भई सेवाग्राही उल्टै प्रताडित पो भए कि? यी सबै संयन्त्रलाई नियमन र नियन्त्रण गरी शान्ति, सुशासन र सुव्यवस्था कायम गराउने हाम्रा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रणाली नै अक्षम भएका हुन् कि? भएको नै हो भने यसलाई विश्वसनीय र समयसापेक्ष बनाउन कसरी सकिन्थ्यो होला?
फेरि कुरो आउँछ प्रणाली सुधार गर्ने काम त नेताको हो! कुनै बेला हामीले नै आदर्श मानेका, चुनेका हरेक नेताहरू नै असफल देखिनुमा समस्या नेतामा होइन, समस्या नेता चयन गर्ने हामी जनतामा नै पो छ कि? नेताहरू हाम्रै प्रतिनिधि पात्र न हुन्! समस्या नेता छनोट गर्ने हाम्रा मापदण्डमा पो छ कि?
हामी नेताहरूको पपुलिस्ट कुरामा मात्रै रमायौं कि? नेताहरूसँग राज्य सञ्चालन र देश विकास गर्न आवश्यक राष्ट्रिय पूँजी निर्माण, रोजगारी र घरेलु उत्पादन बढाउने योजना लगायत कुरामा स्पष्ट मार्गचित्र माग्न पो बिर्सियौं कि? समस्या आफूलाई अप्ठ्यारो पर्दा नियम, कानून, विधि र पद्धति मिच्न नेतालाई उकास्ने हाम्रै प्रवृत्तिमा त छैन? समस्या हामीले विश्वास गरेका पार्टी, पार्टीमा व्याप्त सिण्डिकेट वा पार्टीहरूको आन्तरिक लोकतन्त्रमा पो छ कि?
पार्टीहरूले हरेक क्षेत्रमा गरेको दलीयकरणमा पो छ कि? समस्या हाम्रो खर्चिलो निर्वाचन पद्धति वा अवलम्बन गरेको प्रणालीमा त छैन? समस्या कर्मचारीमा छ भनौं भने उनीहरू त झन् हामीमध्ये अब्बल ठहरिएका नेपाली नागरिक हुन्, भ्रष्ट भए भनौं भने त्यस्ता अब्बल नागरिकहरूलाई के कुराले प्रेरित गर्यो होला भ्रष्ट हुन, त्यसको पनि त केही कारण छ होला र समाधान पनि!
यी र यस्ता प्रश्न र बहस जनस्तर र पार्टीका बैठकमा भएको हामीले कहिल्यै थाहा पाएनौं। हामी त चप्पल लगाएर झुप्रो स्कूलमा कालोपाटीमा चक घोटेर पढेको पुस्ता! राति टुकी बत्तीको सहारामा पढेर बिहान कच्ची सडकमा साइकल चलाएर एसएलसी परीक्षा दिन गएको पुस्ता। स्मार्टफोन र ल्यापटप होइन, पत्रिका पढेर र रेडियो सुनेर समाचार थाहा पाउने गरेको पुस्ता।
हुन त मतदाताको अंकगणितका हिसाबले तिम्रो पुस्ताभन्दा हामी करिब १०-१२ प्रतिशत बढी संख्यामा छौं, तर पनि तिम्रो पुस्तासँग जस्तो हामीसँग अब ऊर्जा छैन, प्रविधिसँग तिमी जस्तो अभ्यस्त छैनौं, त्यो विशिष्ट किसिमको क्षमता पनि छैन।
हामी त अब घरगृहस्थीमा लागिसक्यौं, जेन अल्फा र जेन बिटा पुस्ताको स्याहारसुसार गर्नु हाम्रो दैनिकी भइसक्यो। तिमीहरूले चाहिं हामीले गरेको गल्ती नदोहोर्याउनु, व्यवस्था परिवर्तन र पपुलिस्ट नेताका कुरा सुन्न छोडेर, सम्भव भएसम्म मैले माथि गरेका प्रश्नहरूको उत्तर खोज्नु र मलाई पनि सुनाउनु है प्रिय जेनजी!!
(सहप्राध्यापक डा. ज्ञवाली, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका प्रमुख हुन्।)
प्रतिक्रिया 4