+
+
Shares
टिप्पणी :

ब्युरोक्रेसीमा जेनजी उकुसमुकुस

कर्मचारीभित्रका युवा पुस्ताले समयमा नै दरिलो भद्र क्रान्ति गर्न सके भने मात्र त्यसले भविष्यको ठूलो विस्फोटलाई रोक्न सक्छ।

सागर घिमिरे सागर घिमिरे
२०८२ असोज २३ गते ७:४९

चोकमा चिया गफ हुँदा म कर्मचारी हुँ भनेर आफ्नै परिचय दिन लाज लाग्ने। आफ्नै मानसिकतामा म भ्रष्ट हुँ, मैले ढिलासुस्ती गर्छु, समयमा निर्णय गर्दिनँ, घर्राभित्र फाइल लुकाउँछु, र नजानेको कुरामा पनि जान्ने पल्टिन्छु भन्ने भाव आउने। सरुवासँग बेस्सरी डराउँछु, नेतालाई साष्टाङ्ग दण्डवत् गरिराख्छु भने जस्तो । एक ओहोदामाथि पुगेपछि तल्लो पदमा कार्यरतलाई त मान्छे नै नगन्ने। आफ्नो कार्यको प्रगति शून्य हुँदा पनि कार्यसम्पादन मूल्याङ्कनमा हेर्‍यो भने शतप्रतिशत। हजुरबुबा उमेरको सेवाग्राही आउँदा पनि नमस्कार गर्नै मन नलाग्ने, कहिले नमस्कार गर्ला र फर्काउँला भनेर पर्खनुपर्ने जस्तो। निजामती कर्मचारीको शान कायम राख्ने। सेतो सर्ट, निलो पाइन्ट लगाएर सुकिलोमुकिलो तरिकाले सरकारी सवारीमा टक्क। एक पटक घोकेर लोकसेवा पास गरेपछि जिन्दगीभरलाई ढुक्क। क्या आनन्द छ ।

अझ, आज हाकिमसाब हुनुहुन्न, भोलि आउनुस् न है! सचिवज्यू मिटिङमा हुनुहुन्छ, फर्केपछि म कुरा राखिदिउँला, तपाईं जानुस् ! न सचिवज्यू समयमा फर्कने, न उहाँले कुरा राखिदिने, सेवाग्राही त घर गइसक्नुभयो। मन्त्रीज्यूसँग कुरा भाछ, त्यसलाई सरुवा गर्नुपर्छ। कसको मान्छे हो र त्यो ? चहलपहल दिएको छ, तह लगाउनुपर्छ। अनि, आजको निर्णयमा म साइन गर्दिनँ है, काजमा छु अहिले। गणेश काज। अफिसमा बसेरै गफ लगाइदिएबापत हाकिमसाबले माया गरेर दिनुभएको बक्सिस्। हरेक कार्यालयको वित्तीय प्रगति ७०-८० प्रतिशत। खर्च गर्न सकें भनेर हाकिमसाब मख्ख। काम के भयो, कति पूर्वाधार बन्यो, सेवाग्राही कति खुसी भए भनेर बुझ्नुपर्छ, लाज लागेर दिनभर ऐना पनि हेर्न मन नलाग्ने ।

१० प्रतिशत कमिसन त नियममै छ नि, भन्ने भाष्य जस्तो। माग्नै पर्दैन, आफैं दिन आउँछन्, अलि अनुभवीहरूका गफ। अलिअलि निकाल है, मलेपलाई छुट्याउनुपर्छ, अडिट खर्च। अडिट फेरि ‘श्री ५’ को वर्षमा एक पटक हुने राजकीय भ्रमण जस्तै हो है। सबै नतमस्तक, भोजन ज्यूनार गराउनुपर्ने। आर्थिक प्रशासनको वर्षभरिको कार्यबोझ नै त्यही, कहाँबाट निकाल्ने, कति छुट्याउने, कति बाँडफाँड गर्ने, कति खल्तीमा राख्ने। नत्र बेरुजु लेख्छ मलेपले। असुलउपर लेख्यो भने त के गर्नु, घरघडेरी नै बेचेर तिर्नुपर्ने जस्तो, उहाँहरूलाई नछुट्याई दिएबापतको कारबाही। नियम नै यस्तो कि, बेरुजु लेख्न पनि मिल्ने, नलेख्न पनि मिल्ने, अलिअलि भाग छुट्याए लेख्न नमिल्ने, नछुट्याए बेरुजु लेख्न मिल्ने। भर्खर जागिरमा नवप्रवेशी छन् भने त अफिस भरको तारो। भाग खोस्न प्रवेश गरेको जस्तो। पुरानाले अनुभव बताएर वाक्कै पार्ने, उहाँहरूले सगरमाथा नै चढिसक्नुभए जस्तो। भर्खर आएको जोश छ, विस्तारै बुझ्छ, सुरु–सुरुमा हामी पनि तिमी जस्तै थियौं, कानून हेरेर मात्र कार्यालय चल्दैन, मिलाउन नजानेर अख्तियारमा परेछ, आदि आदि सुनिराख्नुपर्ने। सेवा गर्छु भनेर गएको मान्छे त कसरी सम्हालिने ?

नव युवाहरूको आवाज सुनेर पद्धति बसाल्न र राज्यकोषको अनावश्यक दोहन रोक्न हामी राष्ट्रसेवक तयार भए मात्र समृद्धि र सुशासनको लागि भ्रष्टाचार र ढिलासुस्तीको बन्धन तोडेर हाम्रा युवा विद्यार्थीले गरेको बलिदानप्रति सच्चा सम्मान हुनेछ

म तपाईंलाई गर्छु नि भनेर सेवाग्राही, बिचौलिया, ठेकेदार, व्यापारीहरू आए भने त नतमस्तक। हुन्न भन्यो भने प्राइभेट सेक्टर फेन्डली नभएको ट्याग लागिहाल्छ। वडा सदस्य नेताज्यूले भनेको ठाउँमा योजना परेनछ, उहाँले यो हाकिम ठीक रहेनछ, राजनीति गरेछ भन्नुभयो रे, सरुवा गरेर डाँडा कटाउनुपर्छ भनिदिने। कि टक्क हो, हस्, भन्दै सबैसँग मिलाउनुपर्ने, नत्र निसास्सिएर फ्रस्टेसन। ५० हजारको जागिर खाएर किन बस्ने? मनमा बेचैन। सँगैको साथीले विदेश गएर १० गुणा बढी कमाउँछ, अझ देश बसेर लुटेका छन् कर्मचारीले भनेर स्टाटसमा लेखिराख्छ, हुलमुलमा परेर दिनदिनै गाली खाइदिनुपर्ने। साथी चाहिं बढी जान्ने–सुन्ने भएर विदेशीले हायर गरेर लगे जस्तो। अझ उता गएपछि त उहाँ सर्वविज्ञ।

कर्मचारी भएपछि बानी पनि अचम्मको। डलरमा खर्च गर्ने र तलब खाने निकायका टिम आछ रे गोष्ठी गर्न भनेपछि हाकिम साबको मुख नै रसाउने। मलिन अनुहार उतिबेलै हँसिलो। भोकमरीमा परेकोले रोटी पाए जस्तो। १० बजे होइन, ८ बजे नै प्रोगाम स्टार्ट हुन्छ, तारे होटलमा पुग्नुपर्छ। तारे होटल चाहिं किन भन्दा विदेशी स्टान्डर्ड मेन्टेन गरेको रे, मानौं कि विदेशीलाई नेपाल गरिब राष्ट्र हो भन्ने थाहा नै नभए जस्तो। हामीले मात्र सबैको मोडेल जानेको, बुझेको। ब्रेकफास्ट ८ बजे नै सुरु हुन्छ। काठमाडौंमा राख्यो भने भ्रमण भत्ता खान मिल्दैन, २० किलोमिटर टाढा धुलिखेलमा प्रोगाम गरौं न। नजिक पनि हुने, फ्रेस पनि भइन्छ। १ घण्टा एउटा कार्यपत्र सकिएपछि, सेसन ब्रेक गरेर चिया/कफी लिनुपर्छ। लन्च टाइम १ देखि २ बजेसम्म है। ४ बजे फेरि सेसन ब्रेकवाला टी । म विदाउट सुगर प्रिफर गर्छु, जागिरे भएपछिको प्रमुख उपलब्धि। बेस्सरी हेल्थ कन्सियस जस्तो पनि देखिने। दिनभर दिगो विकास र गरिबी निवारणको गफ । जेन्डर इस्युलाई कन्सिडर गर्नुपर्ने, सस्टेनेवल डेभलपमेन्ट गोलसँग अलाइन गर्नुपर्छ है कार्यक्रम गर्दा। बेलुका डिनर पनि हुनसक्छ। सानो झुण्ड, वरिष्ठहरूलाई भने ककटेल पार्टी सहितको डिनर। सबै सेक्टरसँग कोअर्डिनेशन राम्रो छ, हाकिमसाबको। छुट्टिने बेला आयोजकले धेरै गर्न सक्नुहुन्न, अहिलेलाई यति है हाकिमसाब, भनेर एउटा खाम, नियम अनुसारकै भत्ता हो ।

उता सरकारी खर्चमा कार्यालय आफैंले गर्ने गोष्ठीमा हाकिमसाब र पेस्कीवालाको पसिना छुट्ने। जोगिएला नि नजोगिएला भनेर। ११ बजे बोलाइएकोमा महानुभावहरू १२ बजेसम्ममा प्रवेश गर्नुहुन्छ। २ बजे पाकेटमा समोसा वा मम खाजा। एक पटक कालो चिया चाहिं गरिदिम् है, भनेर हाकिमसाबले दया गरिसिदिनुहुने। अफिसको पैसाले कार्यक्रम गर्दा न भोक न तिर्खा। कार्य व्यस्तता हुन्छ फेरि अफिसको गोष्ठीमा। मन्त्रीज्यू र सचिवज्यूको कार्यव्यस्तता छ। बीचमै निर्देशनात्मक मन्तव्य राखेर जानुहुन्छ। सहभागीको कुरा सुन्न उहाँहरूलाई सधैं मन हुन्छ रे, तर कहिल्यै सुन्न भ्याउनुहुन्न, सधैं माफ गरिदिनुहोला उहाँहरूलाई।

अफिसमा चिया गफ हुन्छ, फलानो नेताले अकुत सम्पत्ति कमाएर बसेको छ, नेता बिग्रेर देश बनेन। देश बनाउने उपाय सबै कर्मचारीसँग छ। मन नपर्ने पार्टीको नेताले अलि बढी कमाउँछ, मन परेकोले अलि कम। मनपरेकोले गर्दैन होला त्यस्तो भन्ने विश्वासको कुरा हुन्छ। आफ्नो अनुहार हेर्न कार्यकक्षमा ऐना छैन। उता मन्त्रीज्यूलाई पनि थाहा छ, कर्मचारी नमिलाए सफल भइँदैन, असफल बनाउँछन्। खै केमा हो सफल वा असफल हुने। सचिवालयमा प्रोमोसन हुने कर्मचारी त सचिवज्यू भन्दा एक तहमाथि। उहाँले हो सबै सरुवा, विदेश भ्रमणहरूको चाँजोपाँजो मिलाउने। उहाँहरूले दया गरेर राम्रो अफिस मिलाइदिनुहुन्छ। कुन कर्मचारी कति पटक के कामको लागि विदेश भ्रमण गयो भन्ने रेकर्ड हेर्नुपर्नेछ, रिसर्चको लागि।

कर्मचारी संयन्त्रको समस्या र बेथितिको जानकार कर्मचारी नै हुन्। राजनीतिक नेतृत्वले अब चाहिं कर्मठ कर्मचारी चिन्न सकोस्।

राजनीति, पावर र प्रशासनको अन्तरसम्बन्ध बारे लेख लेख्न। सचिवज्यूले फेरि मन्त्रीज्यूले भनेको मानिसलाई नै एकदम उपयुक्त देख्नुहुन्छ। फाइल अगाडि बढाउने अन्य मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणको लिष्टमा राख्न नछुटाउनु है, फाइल हराउँछ फेरि। बजेट दिने मन्त्रालयको त अफिसर पनि अन्य मन्त्रालयको सचिव भन्दा माथिल्लो ओहोदाको हो। उहाँहरूले दिए त अरूले खाने हो, अनि। डाडु पनिउँ मन्त्रालय जस्तो। कार्यालय समयमा पार्टीका कार्यालयमा भेटिने ट्रेड यूनियनको पाटो त बोल्नुहुन्न। श्रमिक अधिकारको विज्ञज्यूहरूले विरोध गरिसिन्छ। कतै फसाएर जागिर नै खाइदेलान् भन्ने पिर। डरमर्दो।

यी विषय एकदम प्रतिनिधि विषय हुन्। सबै विषय १/२ दिनमा लेखेर नि नसकिएला। सबै खराब हो त? कत्ति पनि होइन। राम्रो भाछैन त? धेरै भाछ। तर धेरैजस्तो हुने चाहिं माथि उल्लेख गरे जस्तै हो। यो सबैमा बसेर साँच्चै राम्रो गर्छु भन्नेहरू कति अत्तालिएका होलान्? गर्नेहरू नभएका होइनन्, तर प्राय: छायाँमा परिने। सुशासनको पक्षमा बोल्ने कर्मचारीको चाहिं कुरा काटिएकै हुन्छ। फाजिलमा हुनुहुन्छ कोही। कोही कुर्सीविहीन, कोही जिम्मेवारीविहीन। जे गरे पनि कार्यालय त चलेकै छ। हर्दै जानुहोला, यति धेरै आगलागी भएर ध्वस्त हुँदा पनि खासै केही बिग्रन्न कर्मचारी संयन्त्रमा। बिग्रिने कुरा के छ र? भए पो बिग्रन्छ। मर्मतसम्भारको बजेटमा त मलेपको भाग छुट्याउनु नपर्ला नि है !

कर्मचारीतन्त्रबाट फेरि नागरिक मात्र हैन है, कर्मचारी नै पीडित छन् धेरै। मन नपरेको कर्मचारीको फाइल आयो भने त नियमले मिल्दैन। उहाँहरूले रिस्क लिन सक्नुहुन्न। कुनै कुरा उहाँहरूको जिम्मेवारीमा पर्दैन। घर्रामा डम्प। नमस्कार गर्ने, भेटी चढाउनेहरूको चाहिं नियमअनुसार हुन्छ रे, मौसुफहरूलाई। त्यसरी प्रताडित भएको कर्मचारीले कसरी विधिको शासन मान्ने, न्याय कहाँ खोज्ने, कति दु:ख पाउने? कर्मचारी भएपछि लेख्न बोल्न नि कहाँ स्वतन्त्रता छ र? दोस्रो दर्जाको नागरिक जस्तो अन्याय सहेर टुलुटुलु बस्नुपर्ने। चेन अफ कमाण्ड मेन्टेन गरिदिनुपर्ने, अन्याय नै सहेर भए पनि। फ्रस्टेसनको पिक लेभल।

पटक-पटक राजनीतिक क्रान्ति हुँदा पनि देशको अवस्था जहाँको त्यहीं रहनुको मुख्य कारण नै यिनै हुन्। कानून देखाएर शासन गर्ने कला अपरम्पार छ। पछिल्लो समयमा युवापुस्ताद्वारा ठूलो बलिदानी सहित परिवर्तनको दृढ आकांक्षा प्रकट गरे। राजनीतिक नेतृत्व नै परिवर्तनको सँघारमा रहेको पनि देखिन्छ। तर, यो पटक पनि कर्मचारी संयन्त्रको लालफित्ताशाही जन्जाल यथास्थितिमै बस्यो भने के गर्ने? नेता सुध्रिए कर्मचारी आफैं सुध्रिन्छन् भन्ने पनि हो। तर, खासमा भन्नुपर्दा कर्मचारी सुध्रिए भने नेता अलिअलि बिग्रिंदा पनि देशलाई खासै फरक पर्दैन। पद्धति बस्छ, पद्धतिले निर्णय निर्माण हुन्छ।

यो मानेमा, निजामती सेवामा प्रवेश गरेका अति कम्पिटेन्ट, नवयुवा र राष्ट्रप्रेम तथा सेवा भाव भएकाहरूलाई उल्लिखित जन्जिरबाट मुक्त गरी सेवामूलक प्रशासन बनाइहाल्नु जरूरी छ, पारदर्शिता सहितको। कर्मचारी संयन्त्रको समस्या र बेथितिको जानकार कर्मचारी नै हुन्। राजनीतिक नेतृत्वले अब चाहिं कर्मठ कर्मचारी चिन्न सकोस्। कर्मचारी भित्रका युवा पुस्ताले समयमा नै दरिलो भद्र क्रान्ति गर्न सकुन्, जसले भविष्यको ठूलो विस्फोटलाई रोक्न सकोस्। नवयुवाहरूको आवाज सुनेर पद्धति बसाल्न र राज्यकोषको अनावश्यक दोहन रोक्न हामी राष्ट्रसेवक तयार छौँ त ? लौ न, समृद्धि र सुशासनको लागि भ्रष्टाचार र ढिलासुस्तीको बन्धन तोडेर हाम्रा युवा विद्यार्थीको बलिदानीप्रति सच्चा सम्मान गरौं त।

(घिमिरे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उपसचिव छन्।)

लेखक
सागर घिमिरे

सागर घिमिरे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उपसचिव छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?