News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको क्रममा आगजनीले २१ मालपोत कार्यालयका अभिलेख नष्ट हुँदा जग्गाधनीले श्रेस्ता कायम गर्न ११ थरी कागजात पेस गर्नुपर्ने भएको छ।
- भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्यले नागरिकताको प्रमाणपत्र, स्थायी ठेगाना सिफारिस, सक्कल पुर्जा लगायत कागजात आवश्यक भएको बताउनुभयो।
- डिजिटल अभिलेख नभएका जग्गाधनीले लामो प्रक्रिया अपनाउनुपर्ने र डिजिटल रेकर्ड भएका जग्गाधनीलाई सरल सेवा दिने प्रयास भइरहेको विभागले उल्लेख गरेको छ।
२३ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीका कारण कतिपय मालपोत कार्यालयमा अभिलेख मेटिएकाले जग्गाधनीहरुले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । त्यसका लागि जग्गाधनी स्वयं उपस्थित भएर ११ थरी कागजात पेस गर्नुपर्ने भएको छ ।
कलंकी, कास्की लगायतका विभिन्न मालपोत कार्यालयहरुले सूचना जारी गर्दै विभिन्न ११ थरी कागजातसहित श्रेस्ता कायमका लागि निवेदन दिन भनेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेनजी युवा आन्दोलनको क्रममा काठमाडौंको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो ।
तीमध्ये कतिपयमा डिजिटल अभिलेख छैन । डिजिटल रेकर्ड नभएकाको हकमा भूमि प्रशासन निर्देशिका २०८१ अनुसार श्रेस्ता कायम गर्न झन्झटिलो र लामो प्रक्रिया अपनाउनुपर्ने विभागका अधिकारीहरु बताउँछन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग निर्देशक तथा प्रवक्ता खिमानन्द आचार्यका अनुसार श्रेस्ता कायम गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा लगायतका कागजात चाहिन्छ ।

यसैगरी जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिस्टर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद पनि पेस गर्नुपर्ने छ ।
जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र लगायतका कागजातसहित मालपोत कार्यालयमा निवेदन दिनुपर्छ ।
कसैले नक्कली लालपुर्जा बनाएर जग्गामा दाबी गर्न सक्ने तथा एउटै जग्गामा अरुको पनि दाबी पर्न सक्ने जोखिम भएकाले पनि ११ थरी कागजात आवश्यक ठानिएको मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन् ।

विभागका निर्देशक आचार्यका अनुसार डिजिटल रेकर्ड भएका जग्गाधनीको हकमा भने यति धेरै कागजात र प्रक्रिया आवश्यक पर्नेछैन । यद्यपि सकेसम्म सरल र छिटो सेवा दिने प्रयास भइरहेको सरकारी अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया 4