+
+
Shares

जहाँ मान्छेहरू ८० किलोमिटर टाढादेखि घुँघी खान आउँछन्

कृतनसहित श्रीमती शान्ति देवी, छोरी सृष्टि र छोरा अबदेश सबैलाई यसले व्यस्त बनाएको छ । अरू केहीलाई पनि रोजगारी दिइरहेका छन् ।

सापेक्ष सापेक्ष
२०८२ असोज २५ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृतन चौधरीले २०७६ सालमा उदयपुरको चौदन्डीगढीमा आफ्नो जातिको विशेष परिकार घुँघीको व्यवसाय सुरु गर्नुभयो।
  • उनको घुँघी पसल हाल मदन भण्डारी लोकमार्गस्थित आँपडाडामा छ, जहाँ दैनिक ३०-४० किलो घुँघी बिक्री हुन्छ।
  • घुँघीलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ र कृतनको पसलमा १०० रुपैयाँ प्रति प्लेटमा बिक्री हुन्छ, जसमा २५-३० वटा घुँघी हुन्छन्।

कृतन चौधरी (४५)को जीवन ठिकठाक चलिरहेको थियो । श्रीमती अनि एक छोरा एक छोरी, पारिवारिक अवस्था राम्रै थियो । तर  कृषि पेशाले जीवन धान्न कठिन भइरहेको थियो । जति दु:ख गर्दा पनि सोचे जस्तो नतिजा आउन सकिरहेको थिएन । कमजोर आर्थिक पाटोले छोड्न मानिरहेको थिएन ।

त्यसपछि उनले निधो गरे घुँघीको व्यवसाय गर्ने । जुन उनको जातिको विशेष परिकार हो । यसरी कृतनले २०७६ सालतिर ‘घुँघी सेन्टर’ खोले । उदयपुरको चौदन्डीगढी नगरपालिका-५ ढेला चौरीस्थित आफ्नै घरमा ।

त्यसबेला उनको सिको गर्दै अन्य केहीले पनि घुँघीको व्यवसाय सुरु गरे । तीमध्ये कुनै अझै चलिरहेका छन् भने केही बन्द भइसके । कृतनको घुँघी पसल भने फस्टाउँदै गइरहेको छ ।

अहिले घुँघीका लागि उनको पसल नगरक्षेत्रकै सबैभन्दा प्रख्यात छ । यहाँ प्रायगरी मध्यदिनदेखि घुँघी खान ग्राहकहरू आउने गर्छन् । राति अबेरसम्म पसल खुल्ने गर्छ ।

अहिले उनको पसल मदन भण्डारी लोकमार्गस्थित आँपडाडा भन्ने ठाउँमा छ, बेल्टार बजारदेखि दुई किलोमिटर पूर्वमा ।

पसल छिर्ने मुल बाटो छेवैमा ठूलो बोर्डमा ‘घुँघी कर्नर’ लेखिएको छ । त्यहाँ पुग्दा एउटा लामो घर देखिन्छ । त्यसको बाहिर चौर छ । अहिले पसल रहेको यो ठाउँमा कोभिड महामारी अघिसम्म एक निजी विद्यालयको भवन थियो ।

पाँच कक्षासम्म पढाइ हुने उक्त विद्यालय बन्द भएपछि कृतनले यसलाई भाडामा लिएर पसल चलाउन लागेका हुन् ।

‘ढेला चौरीमै हुँदा पसलले राम्रो गर्न थालिसकेको थियो तर त्यो ठाउँ मूल बाटोदेखि अलि टाढा पर्छ’ उनले भने, ‘घुँघी खान मन भए पनि मान्छेहरू त्यहाँ जान सकिरहेका थिएनन् । यो भवन खाली भएको थाहा भएपछि यता सर्‍यौँ ।’

यता आएपछि उनको पसलले धेरै नयाँ ग्राहकहरू पायो । राजमार्ग छेवैमा हुनुको फाइदा निकै भयो उनलाई । घुँघी धेरै बिक्ने मुख्य सिजन जाडो महिना भए पनि बाह्रै महिना कृतनको पसलमा ग्राहकको कमी हुँदैन ।

यहाँ एक पटक घुँघी खाएका ग्राकहरू पुन: खोजीखोजी आउने गरेको छोरा अवदेश चौधरी सुनाउँछन् । उनका अनुसार यहाँ घुँघी खान स्थानीयबाहेक धरान, इटहरी, विराटनगरबाट समेत मान्छेहरू आउने गर्छन् । दूरीको हिसाबमा विराटनगर यहाँदेखि ८० किलोमिटर टाढा पर्छ ।

के हो घुँघी ?

घुँघी नदी, खोला वा तालमा पाइने एक प्रकारको शङ्खे कीरा हो । थारू समुदायमा बढी चर्चित भएका कारण यसलाई कतिपयले ‘थारु सी फुड’ पनि भन्ने गरेका छन् । विशेषत: घुँघी नेपालको तराई क्षेत्रमा बस्ने थारू, मधेसी, राजवंशी, धिमाल जस्ता आदिवासी समुदायको पुस्तौंदेखिको भोजन हो ।

आजकल भने घुँघीलाई माछा जस्तै व्यावसायिक रूपमा पोखरीमा पाल्ने गरिन्छ । त्यसकारण यो वर्षभरी नै पाइन्छ । घुँघी होटल चलाए पनि आफैँले भने नपालेको कृतनले बताए ।

होटलका लागि उनीहरूले बेल्टार, फतेपुरलगायतका ठाउँबाट घुँघी ल्याउने गरेका छन् । त्यसरी ल्याउँदा प्रतिकिलोको ८० देखि ९० रुपैयाँसम्म पर्छ ।

मौलिक भोजनबाहेक घुँघीलाई स्वास्थ्यका लागि पनि राम्रो मान्ने गरिन्छ । घुँघी खाँदा क्याल्सियम पाइने र हड्डीसम्बन्धी समस्या (जस्तै दुखेको, मर्केको) ठिक भनिन्छ । यहीकारण पनि धेरै जना घुँघी खान आउने उनले सुनाए ।

कसरी बनाइन्छ ?

यसलाई तयार पार्न विभिन्न चरण पार गर्नुपर्छ । यो प्रक्रिया झन्झटिलो र लामो हुन्छ ।

कृतनका अनुसार सबैभन्दा पहिले पोखरीबाट घुँघीलाई ल्याएपछि रातभर पानीमा राखिन्छ । त्यसपछि त्यसको बाहिरी भाग (पुच्छर) काटिन्छ । अनि काटेर राम्ररी धोइन्छ । र, उसिनिन्छ ।

उसिनेपछि फेरि धोएर त्यसको पछाडिको भाग अर्थात् ‘खिल’ भनिने वस्तुलाई निकालिन्छ । त्यसपछि बल्ल नुन, तेल, मसला लगाएर पकाइन्छ । र घुँघी खानका लागि तयार हुन्छ ।

त्यसरी बनाइएको घुँघीलाई यहाँ १०० रुपैयाँ प्रति प्लेट विक्री गरिँदै आइएको छ । एक प्लेटमा २५-३० वटा घुँघी हुन्छन् ।

पारिवारिक व्यवसाय

अहिले उनीहरूले घुँघी सेन्टरलाई पारिवारिक व्यवसाय बनाएका छन् । कृतनसहित श्रीमती शान्ति देवी, छोरी सृष्टि र छोरा अबदेश सबैलाई यसले व्यस्त बनाएको छ । अरू केहीलाई पनि रोजगारी दिइरहेका छन् ।

केही समयअघि ठूलो छोरा पारस पनि यही पसलमा संलग्न थिए । अहिले उनी विदेश गएका छन् ।

अहिले व्यवसायको धेरै काम छोरा अवदेशले सम्हाल्छन् । प्लस टू पास गरेका उनी परिवारको घुँघी व्यवसायसँग गाडी, डोजर, टिपर जस्ता सवारी साधन पनि चलाउँछन् ।

उनका अनुसार आफ्नै घर ढेला चौरीमा पसल चलाउँदा त्यहाँ दैनिक १० किलोग्रामसम्म घुँघीको खपत हुने गरेको थियो भने अहिले ३०-४० किलोसम्म खपत हुन्छ ।

घुँघीबाहेक यो पसलमा अन्य स्थानीय परिकार पनि पाइन्छन् । जाडो मौसममा माछा पाइन्छ । साथै, उनीहरूको लोकल भटमास चिउरा पनि उपलब्ध छ । तर मुख्य परिकार घुँघी रहेको छ ।

अब विस्तारै यही व्यवसायलाई व्यवस्थित र राम्रो बनाउँदै जाने उनको योजना छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?