
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले सेयर बजार बढ्नेगरी तीन वटा नीतिगत सहजता गरेको छ जसमा सेयर कर्जा सीमा हटाइएको छ।
- अब बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर एक आर्थिक वर्ष नपर्खिकन बेच्न पाउने व्यवस्था गरिएको छ।
- नीतिगत सहजतापछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको र राजनीतिक माहोलले बजारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
२३ असोज, काठमाडौं । बुधबार मात्रै नेपाल राष्ट्र बैंकले सेयर बजार बढ्नेगरी तीन वटा नीतिगत व्यवस्था गर्यो ।
विगतमा बजार उच्च दरले घटेपछि अर्थमन्त्री रामेश्वर खनालको पहलमा असोज ३ गते गठन भएको पूँजीबजार सुधारका लागि गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले नीतिगत सहजता गरेको हो ।
जसअनुसार एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट पाउने अधिकतम २५ करोडको सेयर कर्जा सीमा हटाइएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट जति पनि सेयर कर्जा व्यक्तिले लिन पाउँछन् ।
त्यस्तै यसअघिसम्म बैंकले सेयर खरिद गरेको एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्मको लगानी मात्रै बेच्न पाउने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ । अब बैंक तथा वित्तीय संस्थाले होल्ड गरेको जति पनि सेयर बेच्न सक्नेछन् ।
त्यस्तै तेस्रो नीतिगत सहजता हो : अब बैंक तथा वित्तीय संस्थाले ६ महिनाको लागि मात्रै पनि सेयर तथा डिबेन्चरमा लगानी गर्न पाउने छन् । यसअघि बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर एक आर्थिक वर्ष बितिसकेपछि मात्रै बेच्न पाउने व्यवस्था थियो ।
यसरी नीतिगत व्यवस्था गरेपछि भोलिपल्टको सेयर बजारमा उत्साहले सकारात्मक सर्किट ब्रेक लाग्ने अनुमान थियो, सो अनुसार नियमित कारोबार सुरु भएको तीन मिनेटमै सर्किट ब्रेक लाग्यो । त्यसपछि दोस्रो र तेस्रो ब्रेक लागेर कारोबार स्थगित हुने अनुमान थियो । तर पहिलो सर्किट ब्रेक र स्थगित कारोबार २० मिनेटपछि खुल्दा बजार घट्न थाल्यो । पहिलो सर्किट ब्रेक लाग्दा १०२ अंक बढेको बजार बन्द हुँदा जम्मा २२ अंकमा खुम्चियो ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट हालको राजनीतिक संक्रमणकालीन अवस्थामा नीतिगत सहजताले नै केही प्रभाव पारेको दाबी गर्छन् । ‘मुलुकमा राजनीतिक अन्योलता छ, त्यसैले अघिल्ला दिन बजार निरन्तर घटेकोमा आज सकारात्मक भएको छ’ उनले भने ‘राजनीतिक मार्ग केही स्पष्ट भएपछि बजारले वृद्धिको राम्रो लय लिन सक्छ, अब नीतिगत असहजता रहेनन् ।’
सेयर कर्जा र बैंकले गर्ने कारोबारमा यो नीतिगत सहजता जरुरत नै रहेको र त्यो लागु हनु बजारका लागि राम्रो कदम भएको उनी बताउँछन् ।
मुलुकमा अहिले लगानीका अन्य माध्यम र विकल्प पनि नरहेकाले सेयर बजारप्रति निराश हुनुपर्ने अवस्था नै नरहेको उनी बताउँछन् । भदौ २३ र २४ गते मुलुकमा भएको विध्वंस र त्यसपछिको परिणामले उद्योगी, व्यवसायी र लगानीकर्ता निराश छन् । यसकै प्रतिबिम्ब सेयर बजारले देखाइरहेको छ ।
देशभरका उद्योगी, व्यवसायी र साना लगानीकर्तामा रहेको चरम निराशा राज्यले चिर्न सकेको छैन । ‘हाम्रा व्यवसायिक भवन मात्रै होइन, बस्ने घरमा समेत आगो लगाउने अपराधीलाई राज्यले संरक्षण गर्यो’ एक उद्यमीले भने ‘यसले भोलिका दिनमा पनि असुरक्षाको त्रास कायमै रह्यो ।’
मुलुकको आर्थिक विकास र कुनै पनि व्यवसायिक प्रतिष्ठान तथा नीजि सम्पत्तिमाथि हुने जोसुकैको अराजक हर्कत मान्य नहुनेमा सबै उद्योगी व्यवसायी स्पष्ट छन् ।
जब निजी क्षेत्र नै निराश हुन्छ, त्यसको प्रतिबिम्ब हरेक मुलुकका सेयर बजारमा देखिने गर्दछ । त्यसैले अबको राजनीतिक घटनाक्रमअनुसार बजार अघि बढ्ने लगानीकर्ता बताउँछन् ।
‘यदि राजनीतिक माहोल सकारात्मक देखिँदै गयो भने त्यसले बजारलाई ठूलै सकारात्मक प्रभाव पार्नेछ’ सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘यदि राजनीतिक माहोल बिग्रिने हो भने बजारलाई केही निरुत्साहित गर्छ ।’
बजारका लागि नीतिगत सहजता मात्रै ठूलो विषय नरहेको उनले बताए । ‘पूँजीको सुरक्षा, जिउधनको सुरक्षा, सकारात्मक मनोभाव महत्वपूर्ण विषय हुन्’ उनले भने । आज एकै दिनको बजारलाई लिएर लगानीकर्तामा उत्साह देखियो वा निराश देखियो भन्न हतारो हुने उनी बताउँछन् ।
दशैंदेखि छठसम्मको अवधिमा यसै पनि बजार सुस्ताउने सिजनका रुपमा हेरिन्छ । यतिबेला व्यवसायीको ठूलो रकम सामान आयात र व्यापारका लागि परिचालन हुने भएकाले बजार सुस्ताउने गरेको जानकार बताउँछन् ।
‘विगतका सामान्य वर्ष पनि दशैंतिहारका बेला बजार सुस्ताउने गरेकै हो, अहिले पनि कारोबार कम भइरहेको छ, तर सधैं घटिरहने हुँदैन’ एसोसिएसनका पूर्व अध्यक्ष रानाभाटले भने ।
तिहार र छठ पर्वपछि राजनीतिक माहोलमा सुधार देखिएमा र चुनावमा जाने विषयमा दलहरुबीच सहमति जुटेमा त्यसले बजारमा सकारात्मक प्रभाव पार्ने बुझाइ आम लगानीकर्तामा छ ।
प्रतिक्रिया 4