
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानहरू तिहारका लागि फूल टिप्न र माला बनाउन व्यस्त छन्।
- स्थानीय वडाअध्यक्ष रवीन्द्र सापकोटाका अनुसार ४७० किसानलाई ७० प्रतिशत अनुदानमा सयपत्रीको बेर्ना वितरण गरिएको छ।
- फूल उत्पादक अनिता बस्नेतले एक रोपनीमा मखमली फूलबाट रु एक लाखसम्म आम्दानी हुने बताइन्।
२४ असोज, काठमाडौं। तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानहरूलाई फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ छ ।
यस क्षेत्रका खेतबारी, करेसाबारी सयपत्री र मखमलीले रंगिएको छ भने स्थानीयवासीलाई फूल टिप्ने र माला बनाउने चटारोले छोपेको छ।
यसवर्षको तिहार कात्तिक २ गतेदेखि सुरू हुँदैछ ।
सूर्यविनायक नगरपालिका–७का वडाअध्यक्ष रवीन्द्र सापकोटाका अनुसार दशैं सकिएसँगै यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन्।
उनका अनुसार फूलखेती गर्न वडाले किसानलाई ७० प्रतिशत अनुदान दिएको थियो। बाँकी ३० प्रतिशत लागत भने किसान आफैले व्यहोरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘हामीले यहाँका ४७० किसानहरूलाई ७० प्रतिशत अनुदानमा सयपत्रीको बेर्ना दिएका हौ। बाँकी ३० प्रतिशत किसानहरू आफ्नै लागतमा फूलखेती लगाउनु भएको हो।’
स्थानीय कृषक मीना नगरकोटीले जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्म टिप्न सकिने र फूल सप्रिएमा एक सिजनमा एक रोपनी जग्गाको उत्पादनबाट रु एक लाखसम्म आम्दानी गर्न सकिने बताउँछिन्। स्थानीय फूल उत्पादक कृषक एवं पुष्प व्यवसायी अनिता बस्नेतले यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको बताइन्।
‘एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला उन्न सकिने र एउटा मालाको यसवर्ष रु २५ मा बिक्री हुँदा पनि एक लाखको कारोबार हुने छ,’ उनले भनिन्, ‘मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई सजिलो भएको छ।’
उनका अनुसार सयपत्री फूल एक मुठाको रु १० देखि १५ मा बिक्री हुने गरेको छ भने मखमली मालाको मूल्य प्रतिगोटा २२ देखि २३ रुपैयाँसम्मपर्छ।
अहिले गुन्डुका किसानहरू बिहानभरि खेतमा फूल टिप्छन् भने दिउँसोको समयमा त्यसलाई माला उनेर बिक्रीका लागि तयार पार्ने गर्छन्। तिहारका लागि आवश्यक पर्ने मखमली फूलको उत्पादनमा यहाँका किसानहरूले ठूलो योगदान पुर्याएका छन्।
तिहारमा चारपाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु ६ सयदेखि ८ सयमा बिक्री हुँदै आएको व्यवसायीले बताएका छन्। भक्तपुरको गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा किसानहरूले व्यावसायिक फूलखेती गर्दै आएका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4