+
+
Shares

ओमानमा भिजिट भिसामार्फत घरेलु कामदारमा जाने नेपाली बढ्दै, उद्धारमा समस्या

पछिल्लो समय यूएईले भिजिट भिसामा रोक लगाएपछि वैकल्पिक गन्तव्यका रूपमा प्रयोग गर्न थालेका एजेन्टहरू मार्फत नेपालीहरू ओमान पुगिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा भिजिट भिसा लिएर घरेलु कामदारका रूपमा जाने नेपालीको संख्या तीव्र रूपमा बढिरहेको छ।
  • ओमानस्थित नेपाली दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीले उद्धार प्रक्रिया जटिल भएको र भिजिट भिसामा आउनेहरूमा समस्या बढेको बताए।
  • नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि भिजिट भिसामार्फत ओमान पुग्ने क्रम रोकिएको छैन र दूतावासमा उद्धारका लागि आउनेहरूको संख्या बढ्दै गएको छ।

२४ असोज, काठमाडौं । भिजिट भिसा लिएर ओमान जाने नेपालीको संख्या पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ ।

विशेषगरी दलालको फन्दामा परेर नेपाल मार्फत भिजिट भिसामा जाने र ओमानमा घरेलु कामदारका रूपमा काम गर्ने नेपालीको संख्या बढ्दो क्रममा रहेको हो ।

यसले गर्दा एकातिर नेपालबाट अवैधानिक हुने गरेका छन् भने अर्कातर्फ ओमानमा समस्यामा परेका नेपालीको उद्धारमा समस्या देखिएको छ ।

ओमानस्थित नेपाली दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीका अनुसार ओमानमा भिजिट भिसामार्फत आउने नेपालीको संख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो समय यूएईले भिजिट भिसामा रोक लगाएपछि वैकल्पिक गन्तव्यका रूपमा प्रयोग गर्न थालेका एजेन्टहरू मार्फत नेपाली त्यहाँ पुगिरहेका छन् ।

‘ओमानमा भिजिट भिसा पाउन केही सहज भएकाले पछिल्लो समय भिजिट भिसामार्फत आउनेहरूको संख्या निकै बढेको छ,’ ज्ञवालीले भने, ‘घरेलु कामदारका रूपमा आउनेहरू विशेषगरी महिला हुन्, जसमा अहिले समस्यामा परेकाहरूको संख्या बढ्दो छ ।’

हाल ओमानमा करिब २५ हजार नेपाली कामदार छन्, जसमा घरेलु कामदारका रूपमा महिलाको उपस्थिति उल्लेख्य छ । अहिले १२ हजारभन्दा बढी महिला घरेलु कामदारको रूपमा काम गर्दै आएको दूतावासले जनाएको छ ।

भिजिट भिसामा ओमान पुग्नेहरू धेरैजसो दलाल मार्फत जाने भएकाले वैधानिक नहुने र त्यसपछि समस्या पर्दा उद्धार गर्न कठिन हुने अवस्था बढेको उनले बताए ।

‘नेपालमै रहेका एजेन्टहरूले ललाइफकाइ पठाउने गर्छन् । यहाँका केही अफिससँग मिलेर उनीहरूलाई घरेलु कामदारका रूपमा पठाउने गरेको देखिन्छ,’ उनले भने ।

दूतावासमा उद्धारका लागि पुग्नेहरूको संख्या पनि बढ्दै गएको उनले बताए । ‘भर्खरैको एक महिनामै ६२ जना नेपाली उद्धारका लागि दूतावासमा आएका छन्,’ उनले भने, ‘हाल पनि २०–२१ जना महिला सुरक्षित गृहमा छन् ।’

ज्ञवालीका अनुसार ओमानको कानुनी प्रणाली ‘कफाला कानुन’ (स्पोन्सरसिप सिस्टम) भएकाले उद्धार प्रक्रिया निकै जटिल हुन्छ । ‘स्पोन्सरले भिसा क्यान्सिल नगरेसम्म वा ‘एक्जिट’ नदिएसम्म कामदारलाई फर्काउन सकिँदैन,’ उनले स्पष्ट पारे, ‘घरेलु कामदारका उजुरी मौखिक हुने भएकाले अदालतमा प्रमाण जुटाउन गाह्रो पर्छ, जसले गर्दा मुद्दा वर्षौंसम्म तानिन्छ ।’

दूतावासका अनुसार केही कामदार महिनौंसम्म सुरक्षित गृहमा बस्नुपर्ने अवस्था आउँछ । कतिपय अवस्थामा त स्पोन्सरहरूले उल्टै मुद्दा हाल्ने पनि गरेका छन् । नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि भिजिट भिसामार्फत ओमान पुग्ने क्रम रोकिएको छैन ।

अवैधानिक रूपमा ओमान पुगेका नेपालीहरू उद्धारका दृष्टिले जोखिममा छन् । ‘भिजिट भिसामा आएका नेपालीहरू काम नपाएर, शोषणमा परेर वा हिंसाको सिकार बनेर दूतावास आउँछन्,’ ज्ञवालीले भने, ‘तर, कानुनी रूपमा उद्धार र फर्काउने प्रक्रिया अत्यन्त कठिन छ ।’

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा श्रम स्वीकृति लिएर ५ हजार २ सय ९३ नेपाली गएका थिए । पुनः श्रम स्वीकृति सहित भने ८ हजार ६ सय १ जना आमोनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?