
२५ असोज, काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन् ।
सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार प्रकाशित भएका थिए ।
मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । कर्णाली जेनजीको नाममा प्रकाशित वक्तव्यका अनुसार त्यहाँका युवाहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् ।
जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको, जेनजी आन्दोलनमा कुनै भूमिका नरहेको बताएकी छिन् ।
जेनजीहरुले टासी फ्री तिब्बत अभियानमा संलग्नता रहेको आरोप लगाउँदै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् । टासी यसअघि हिमाली क्षेत्रको जलवायु संकटापन्न प्रणााली तथा जाति आदिबारे अध्ययन गर्दै आएकी अगुवा हुन् । उनको समुदायगत प्रतिनिधित्व साथै हालसम्मको योगदानका आधारमा मन्त्री बनाउने सरकारी तयारीबीच आलोचना सुरु भएको हो ।
साथै कर्णालीको प्रतिनिधित्व गराउन कर्णालीका जेनजीहरुसँग छलफल र परामर्शविना नगरी कुनै निर्णय नगर्न विज्ञप्तिमा भनिएको छ । टासीलाई कर्णालीको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो ।
कर्णालीका जेनजीहरूले प्रदेशको प्रतिनिधित्वका लागि पटकपटक छलफल पनि गरेका थिए । सम्भावित व्यक्तिका विषयमा समेत छलफल गरेका थिए । छलफलमा टासीको नाम प्रस्ताव भएको थिएन ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीबारे प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गर्ने बताएकी छन् ।
यसअघि प्रकाशित समाचारमा टासीको नागरिकताबारे पूर्वसांसदले लगाएको गम्भीर आरोप तथा केही विषयहरु अप्रासंगिक र अनुचित ठानेर हामीले क्षमायाचनासहित हटाएका छौं । सम्पादक
प्रतिक्रिया 4