News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा पुरुष नेसन्स लिगका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
- टोलीमा ८ नयाँ खेलाडी छन् र कप्तान पद अझै खाली छ ।
- काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते बंगलादेशको ढाकामा हुँदैछ।
२५ असोज, काठमाडौं । बंगलादेशमा आयोजना हुने काभा पुरुष नेसन्स लिग भलिबलको लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल भलिबल संघले शनिवार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको जनाएको छ ।
प्रारम्भिक चरणमा छनोट भएका १८ खेलाडीले असोज पहिलो सातादेखि प्रशिक्षण सुरु गरेका थिए । त्यसबाट अन्तिम टोली छनोट गरिएको हो ।
नेपाल भलिबल संघको असोज २३ गते सम्पन्न ५७ औं कार्यसम्पादन समितिको बैठक अनुसार राष्ट्रियका प्रशिक्षकहरुलाई राष्ट्रिय टिम छनोटको जिम्मेवारी दिइएको र असोज २३ र २४ गते भएको अन्तिम चरणको छनोटबाट १४ सदस्यीय टिम छनोट गरेको नेपाल भलिबल संघले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको ढाकामा हुँदैछ ।
पुरुष टिमको मुख्य प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा उत्सव खड्का छन् ।
पुरुष टोलीमा अधिकांश नयाँ अनुहारहरु छन् । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका जम्मा ६ खेलाडी मात्र टिममा छन् भने ८ नयाँ खेलाडी पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा परेका छन् ।
यद्यपी भलिबल संघले अझै कप्तान भने तोकेको छैन । पछिल्लो पटक नेपालले सन् २०२३ मा श्रीलंकामा भएको काभा च्यालेन्ज कप खेल्दाको टिमबाट जम्मा तीन खेलाडी धिरोजकाजी बस्नेत, विनोद चन्द र सफल विक मात्र अहिले टिममा छन् ।
यस्तै पूर्व कप्तान हरिहजुर थापा र धन बहादुर भट्ट क्षेत्री, शरण सामरी क्षेत्रीले टिममा पुनरागमन गरेका छन् । यी तीन खेलाडी २०२३ को च्यालेन्ज कपमा टिममा थिएनन् ।
त्यसबेला कप्तान रहेका मान बहादुर श्रेष्ठ सन्यास लिएर विदेश लागेपछि कप्तान पद खाली नै छ ।
दुई वर्षअघि श्रीलंकामा भएको काभा च्यालेन्ज कप खेलेको टिमका तत्कालीन कप्तान मानबहादुरसँगै विशाल विक, टेक अवस्थी, लोकेन्द्र गिरी, हेमन्त मल्ल, रविन चन्द र सम्राट भण्डारी हाल विदेशमा छन् ।
यस्तै गत वर्ष काभा यू२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालीलाई रजत पदक दिलाउने टिमका कप्तान अर्जुन नेपालीसहित पहल गहतराज, शैलेन्द्र थादव र सुजन सुनारले पनि सिनियर टिममा स्थान बनाएका छन् । यस बाहेक सुनिल बोहरा, रविन नगरकोटी, नृपध्वज बस्नेत, सन्तोष राईले पनि पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।
प्रशिक्षण रहेका रोमन बस्नेत, सुरेन्द्र केसी, सुर्य विक, अभिषेक थापा भने टोलीमा अटाएनन् ।
१४ सदस्यीय अन्तिम टोली
धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी बस्नेत, सुनिल बोहरा, पहल गहतराज, सरन सामरी क्षेत्री, शैलेन्द्र यादब, अर्जुन नेपाली, सफल विक, रबिन नगरकोटि, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार, विनोद चन्द, सन्तोष राई
व्यवस्थापक : प्रविन श्रेष्ठ
प्रमुख प्रशिक्षक : भरत यादव
सहायक प्रशिक्षक : उत्सव खडका
प्रतिक्रिया 4