
२६ असोज, काठमाडौं । पर्सामा हैजाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
यो अभियान आजदेखि आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार पर्सामा करिब छ लाख ५४ हजार जनालाई यो खोप खुवाइने लक्ष्य छ । हैजा महामारीविरुद्धको औषधि एक वर्ष उमेर माथिका सबैलाई खुवाइने उनले बताए ।
बारामा भने २९ असोजदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने छ ।
परिवार कल्याण महाशाखाका अनुसार हैजा प्रभावित क्षेत्रका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई यो खोप दिन लागिएको हो ।
विशेष गरी पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा तीव्र गतिमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) सँग खोप मागेको थियो । मुखबाट दिइने हैजाविरुद्ध इयूभिकोल–एस खोप १० लाख १८ हजार मात्रा प्राप्त भएको छ ।
सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका खोप दिन लागेको हो ।
गत ६ भदौमा वीरगञ्ज महानगरपालिका-१२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।
प्रतिक्रिया 4