
२७ असोज, काठमाडौं । सेप्टेम्बर ९ (भदौ २४ गते) को एकै दिन दिउँसोका केही घन्टाहरूमा नेपालका राज्यसत्ताका धेरैजसो संरचनाहरू आगोले खरानीमा परिणत भए ।
हिमाली राष्ट्रभरि भएका सुनियोजित आगजनी हमलाहरूमा एउटा ऐतिहासिक दरबारदेखि सर्वोच्च अदालतसम्म, ठूला मन्त्रालयदेखि वडा कार्यालयसम्म गरी सयौँ सरकारी भवनहरू नष्ट गरिए ।
यसबाहेक, सयौँ अन्य सरकारी भवनहरूलाई पनि निशाना बनाइयो, जसमा राजनीतिक अभिजात वर्गसँग जोडिएका व्यवसाय र विद्यालयहरू, साथै बहालवाला र अवकाशप्राप्त नेताहरूको घर पनि सामेल थिए।
यो व्यापक आगजनी, त्यसको एक दिनअघि काठमाडौंमा भएका विरोध प्रदर्शनका क्रममा १९ जना भ्रष्टाचारविरोधी प्रदर्शनकारीलाई सुरक्षा बलले गोली हानी मारेपछि भएको थियो।
उक्त घटनापछि आम रूपमा १९ गतेको हत्यापछि युवा प्रदर्शनकारीहरूको भीडले आक्रोशित भई बदला लिन खोज्यो र प्रतिशोधात्मक आक्रोश बढ्दै जाँदा उनीहरूले आगजनी गरेको भन्ने बुझाइ बनेको छ ।
तर न्यूयोर्क टाइम्सले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगजनी विशेषज्ञसँगका अन्तर्वार्ताहरू; घटनास्थलका तस्बिर र भिडियोहरूको विश्लेषण र न्यूयोर्क टाइम्सका पत्रकारहरूले गरेका स्थल अवलोकनहरूका आधारमा गरेको अनुसन्धानले नयाँ तथ्यहरू उजागर गरेको छ। त्यति धेरै सुनियोजित र राष्ट्रव्यापी विनाश अभियान अघिल्लो दिन भएका मृत्युहरूको पूर्णतया स्वतःस्फूर्त प्रतिक्रिया मात्र हुन सक्दैन।
सेप्टेम्बर ८ का गोलीकाण्डका केही घण्टा पछि नै ‘प्रयोग गर्न तयार सूचीहरू’ अनलाइनमा देखिन थाले, जसमा नेपालका भ्रष्टाचार र यसको संरक्षण सञ्जालको हिस्सा भएका भनिएका व्यक्तिहरूका निजी विवरणहरू सार्वजनिक गरिएको थियो।
भोलिपल्ट दिउँसोसम्म ती मध्ये धेरै व्यक्तिहरूका घरहरूमा आगो लगाइयो। नेपालका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (राज्यका तीनै अङ्ग) पनि आगोको चपेटामा परे ।
विनाशको मात्रा केही घन्टाभित्रै सयौं हवाई हमलाहरूले गरेको क्षतिजस्तै प्रलयकारी थियो ।
सेप्टेम्बर ९ मा काठमाडौंका मुख्य भवनहरूमा कतिबेला लाग्यो आगो ? हेर्नुहोस् समयरेखा –
लगभग दिउँसो १:४५ बजे — भीड संसद भवन परिसरमा प्रवेश गर्यो।
३० मिनेटभित्र — संसद भवनमा आगो लाग्यो।
भीड त्यसपछि सर्वोच्च अदालततर्फ अघि बढ्यो।
२:५० बजेतिर — सर्वोच्च अदालतमा आगो बल्यो।
३:०६ बजेतिर — भीड सिंहदरबार परिसरमा पुग्यो।
२० मिनेटभित्रै — सिंहदरबार पनि आगोमा जलिरहेको थियो।
‘त्यति छोटो समयमा यति धेरै भवनमा आगो लाग्नु संगठनात्मक दक्षता बिना सम्भव हुँदैन,’ एन्ड्र्यू मूर एन्ड एसोसिएट्सकाका वरिष्ठ आगलागी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भने ।
उनले थपे, यस प्रकारको घटनाका लागि महिनौं नभए पनि, हप्तौंको योजना चाहिन्छ।’
नेपाल सरकारको केन्द्रमा आक्रमण गर्ने ती भीडहरू दङ्गा नियन्त्रण गर्ने प्रहरी टुकडीले पहरा दिएको संसद् भवन परिसरबाहेक प्रायः अवरोधविहीन रूपमा अगाडि बढे ।
त्यो दिन सडकमा नेपाल सेनाको उपस्थिति लगभग देखिएको थिएन।
चार जना प्रत्यक्ष जानकारी राख्ने स्रोतका अनुसार, सेनालाई हस्तक्षेप नगर्न आदेश दिइएको थियो।
उनीहरूसँगै न्यूयोर्क टाइम्ससँग संवादमा आएका अन्य प्रत्यक्षदर्शी र अधिकारीहरू सबैले आफ्नो नाम नखुलाउने सर्तमा कुरा गरे । किनभने उनीहरूलाई सार्वजनिक रूपमा जानकारी दिन अनुमति थिएन वा प्रतिशोधको डर थियो।
सेप्टेम्बर ९ को त्यो अस्तव्यस्तता नेपालका प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भयो। छिट्टै सरकार ढल्यो। नेपालको प्रशासनिक संरचना जलेर खरानी बन्यो।
काठमाडौं र वरिपरिका क्षेत्रमा मात्र ११० भन्दा बढी प्रहरी चौकीहरूमा आगो लगाइएको प्रहरी प्रवक्ताले बताए।
‘ध्वंस र व्यवसायिक क्षतिको गणना अझै भइरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार यसको मूल्य नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक तिहाइभन्दा बढी बराबर हुन सक्छ,’ एक मन्त्रीले प्रारम्भिक अनुमान सुनाए ।
अग्नि अनुसन्धानकर्ताहरूले भग्नावशेषका नमूनाहरूको परीक्षण नगरी, प्रत्यक्षदर्शीहरूको अन्तर्वार्ता नलिई र भवनहरूको जाँच नगरी सेप्टेम्बर ९ मा के भयो भन्ने कुराको पुनर्संरचना गर्न असम्भव रहेको चेतावनी दिएका छन्।
यद्यपि, सामान्यतया यस्ता घटनाहरू हेर्ने प्रहरी प्रयोगशालाले यो महत्त्वपूर्ण विश्लेषणमध्ये कुनै पनि गरेको छैन। अधिकारीहरूको निष्क्रियता कुनै विशेष आदेशको परिणाम हो कि होइन, त्यो स्पष्ट छैन ।
तर हरेक दिनको प्रयास बिनै विज्ञानले कसले, कसरी र किन नेपालको सरकारी संरचना जलाएको हो भनेर निर्धारण गर्ने सम्भावना कम हुँदै गइरहेको छ ।

नेपाली प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका शाखा प्रमुख पवन ढुङ्गानाले गएको महिना आगो दन्किएदेखि आफ्नो टोलीका कसैलाई पनि अनुसन्धानका लागि नबोलाइएको पुष्टि गरे।
उनको प्रयोगशालाले परीक्षण गर्नका लागि केही पनि प्राप्त गरेको छैन। उनले भने, ‘कुनै पनि आगोको भग्नावशेष (डेब्रिस) सम्भवतः अब अप्रासंगिक हुने गरी बिग्रिसकेको छ।’
ढुंगानाले थपे, ‘काठमाडौँमा मात्र नभई देशैभर यस्ता ठूला आगलागीहरू हेर्दा, यो पूर्व-योजनाबद्ध थियो भनेर शङ्का गर्न सकिन्छ । पक्कै पनि, हामीसँग कुनै कुराको स्पष्ट प्रमाण छैन।’
प्रधानमन्त्री सुशिला कार्कीको अन्तरिम सरकारले भीडमा लागेको ठूलो आगो र प्रदर्शनकारीहरूमाथि गरिएको अत्यधिक बलप्रयोगको छानबिन गर्न एक आयोग गठन गरेको छ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ठूला आगलागी र प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोगको छानबिन गर्न एक आयोग गठन गरेकी छिन्।
तर, अर्का एक नेपाली फरेन्सिक प्रहरी अधिकारीले नेपालको न्यायिक कामको थुप्रोका कारण कुनै पनि अनुसन्धान पूरा हुन सात वर्षसम्म लाग्न सक्ने बताए।
नेपालका व्यवसायिक संघ संगठनहरूले लगानीकर्ताको विश्वास पुनर्स्थापित गर्न धेरै छिटो कारबाही गर्न आग्रह गरेका छन्। आगलागीको जिम्मेवारी कसैले पनि लिएको छैन, यद्यपि आगो फैलिए जत्तिकै छिटो अनेकौं अनुमानहरू फैलिरहेका छन् ।
सेप्टेम्बर ९ मा, भीडहरू दुई घण्टाभित्रै संसद् भवनबाट सर्वोच्च अदालत हुँदै सिंहदरबार परिसरतर्फ अघि बढे, जहाँ पहिलेको दरबार र करिब २० वटा सरकारी मन्त्रालयहरू थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार, भीड आइपुगेको आधा घण्टाभित्रै मुख्य भवनबाट धुवाँ निस्कन थाल्यो। आगजनी विशेषज्ञहरूले बताएअनुसार, यति छिटो आगो दन्किनु र भित्री सामानबाट मात्र बल्दाको भन्दा बढी तीव्र ज्वाला देखिनुले, यसलाई तथाकथित ‘आगोको बाटो’ बनाउनका लागि पहिले नै विशेष प्रज्वलनशील पदार्थहरू छरिएको हुनसक्ने सङ्केत गर्दछ।
‘तस्बिरहरू हेर्दा आगोको ठूलो मात्राका कारण सोडियम वा म्याग्नेसियम जस्ता रसायनहरू प्रयोग गरिएको हुनसक्ने मेरो आशङ्का छ,’ ढुङ्गानाले भने, ‘तर विश्लेषण नगरी हामी ठोस रूपमा केही भन्न सक्दैनौं।’
यी रसायनहरू नियन्त्रणमा राखिने पदार्थ हुन् र तिनीहरू प्रयोग गर्न विशेषज्ञताको आवश्यकता पर्दछ।
मट्टितेल जस्ता अरू साधारण प्रज्वलनशील पदार्थहरू जस्तै तिनीहरूलाई सजिलै खरिद गर्न सकिँदैन।
यद्यपि, ठूला भवनहरूलाई पूर्ण रूपमा जलाउनका लागि धेरै ग्यालन तरल इन्धनको आवश्यकता पर्न सक्छ।
उल्लेखनीय कुरा के छ भने, त्यहाँका कर्मचारीहरूका अनुसार, भीड आइपुग्दा भवनका केही माथिल्ला झ्यालहरू खुला थिए, जुन सामान्यतया हुँदैनथ्यो ।
आगजनी विशेषज्ञहरूका अनुसार, यसरी गरिएको भेन्टिलेसन (हावा पास हुने अवस्था) ले आगो फैलन सहयोग गरेको हुनुपर्छ। तर, स्थलगत रूपमै गएर जासूसी कार्य नगरिकन यो जानीजानी गरिएको थियो वा थिएन भन्ने कुरा भन्न सकिंदैन।
सिंगापुरको फायर साइन्स फोरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कीले भने, ‘यो कुनै किसिमको सङ्गठित षड्यन्त्र थियो भन्नका लागि ‘धेरै सम्भावना छ’ भन्ने आधारहरूमा भवनको आकार, त्यसको विनाशको मात्रा र आगोको भयानक तीव्रता पर्दछन्।’
उनले थपे, ‘तब तपाईंले सोध्नुपर्छ: ‘ती प्रज्वलनशील पदार्थहरू भवनभित्र कसरी पुगे? यो भित्री मान्छेको काम थियो? के सुरक्षाकर्मीहरूले आफ्नो ठाउँ छोडेका थिए?’
काठमाडौँका अन्य स्थानहरूमा र नेपालभरका शहरहरूमा भीडहरूले अझ खुलेआम रूपमा काम गरे। उनीहरूले अघिल्लो रात वितरण गरिएका सूचीहरूलाई पछ्याए।
लक्षित स्थानहरूमा नेपालका राजनीतिक हस्तीहरूको घरहरू समावेश थिए, जसमा तीन ठूला राजनीतिक दलहरू- नेपाली कांग्रेस, माओवादी र कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू थिए।
हिंसाका साक्षी र सहभागीहरूका अनुसार, यी आगजनीकर्ताहरू इन्धनका कन्टेनरहरू र कपडाको बत्ती (विक) लगाएका बोतलहरूले सुसज्जित थिए। कसै-कसैले लाठी, राइफल र स्थानीय घुमाउरो छुरी (खुकुरी) बोकेका थिए।
आगजनीमा भाग लिने तीन युवाहरूले बताएअनुसार उनीहरूले त्यस दिन पालैपालो काम गरेका थिए र नचिनेका पाका मानिसहरूले उनीहरूलाई मोटरसाइकलको इन्धन भरिएका पेट्रोल बमहरू वितरण गरेका थिए। तीमध्ये दुई जनाले आक्रमणका भिडियोहरू पनि देखाए ।
लक्षित घरहरूमध्ये एकको छेउमा बस्ने छिमेकीहरूले ग्यास सिलिन्डरको सामग्री पोख्दै गरेका ३० वर्ष आसपासका पुरुषहरूको समूह देखेको बताए।
आगोको ज्वाला माथि उठेको देखेपछि, आगलानीमा संलग्न एकले ‘आगो लाग्यो अब हामीले पैसा पाउँछौं’ भनेर बोलेको गरेको छिमेकीहरूले बताए।
आगजनी नेपालको राजनीतिक संस्कृतिको एउटा विशेषता (चरित्र) रहँदै आएको छ। हाल उन्मूलन गरिएको राजतन्त्रविरुद्धको दशक लामो विद्रोहको क्रममा, माओवादीहरूले राज्यका प्रतीकहरू वा शक्तिशाली व्यवसायहरूलाई निशाना बनाउँदै आगजनी गरेका थिए र विस्फोटक पदार्थहरू राखेका थिए।
सन् २००६ मा गृहयुद्ध समाप्त भएपछि पनि जानाजानी आगो लगाउने कार्यहरू जारी रहे। उदाहरणका लागि, सन् २०१९ मा माओवादीबाट टुक्रिएको कम्युनिस्टहरूले दूरसञ्चार सञ्चालकद्वारा गरिएको भनिएको भ्रष्टाचारको विरोधमा राष्ट्रभरिका एक दर्जनभन्दा बढी सेलुलर टावरहरूमा आगो लगाएको स्वीकार गरेका थिए।
यस पटक तीन ठूला राजनीतिक दलहरूमध्ये कुनै पनि जोगिएनन्। विनाशबाट जोगिनेहरूमा चौथो र पाँचौं ठूला पार्टीहरू थिए- जसमध्ये एउटाको नेतृत्व सेप्टेम्बर ९ मा भएको सामूहिक जेल ब्रेकमा संलग्न एक राजनीतिज्ञले गरेका थिए भने अर्को राजावादी समर्थक गुट थियो।
सर्वोच्च अदालतका करिब ६०,००० मुद्दाका फाइलहरू जले । यसमा अग्नि प्रतिरोधी बाकसहरूले सुरक्षित गरेको भनिएकाहरू परेका अदालतका एक कर्मचारीले बताए।
दुई जना वकिलहरूका अनुसार, भ्रष्टाचारविरोधी अदालतमा भीडले विशिष्ट कागजातहरू राखिएका कोठाहरू खोज्दै चिच्याएका थिए।
विभिन्न शहरका व्यवसायीहरूका अनुसार, आगजनी गर्नेहरूले पालैपालो तल्लाहरूमा आगो लगाए । अग्नि विश्लेषकहरूका अनुसार, यो तरिका आगजनीलाई तीव्र बनाउने एउटा चाल थियो र यसले योजनाबद्ध आक्रमणतर्फ सङ्केत गर्न सक्छ ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई समेत मानिसहरूले पेट्रोल बम फ्याँकेर घेरेका थिए। तर, आगो सल्किएन र प्रयोगशालामा कुनै क्षति भएन।
‘हामी सबै यो कसले गर्यो भनेर जान्न चाहन्छौं,’ ढुङ्गानाले भने, ‘तर यो यस्तो छ कि हामीले पत्ता लगाउन सक्दैनौं।’
न्यूयोर्क टाइम्सका लागि हान्ना बिच र सजल प्रधानको रिपोर्टको भावानुवाद ।
प्रतिक्रिया 4