News Summary
Generated by OK AI. Editorially reviewed.- छुदेन काविमोले २०८१ सालको मदन पुरस्कारप्राप्त कृति उरमालका लागि आफ्नो कथासँगको प्रेम र लेखन यात्राको अनुभव सुनाउनुभएको छ।
- उहाँले बाजेको संघर्षका कथाबाट कथा लेख्न प्रेरणा पाउनुभएको र कथाले मान्छेहरूलाई जोड्ने शक्ति राख्ने बताउनुभएको छ।
- लेखकले साहित्यले वञ्चित र शोषितको पीडा उजागर गर्ने र मान्छेभित्रको मान्छेलाई बचाइराख्ने काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
नदी, चरा र कथाको यात्रा एकै हुने रहेछ, जसले तमाम बाधाहरू उछिनेर, हजार सीमाहरू नाघेर अघि बढिरहने रहेछन् र जहाँ जहाँ पुग्यो, त्यहीँ त्यहीँको भइदिने रहेछन्। त्यही भएर होला, जब म नदी देख्छु वा चरा देख्छु, वा राम्रा कथा भेट्छु,संसारका तमाम सीमाहरूलाई नै भुलिपठाउँछु।
कथासँगको मेरो सम्बन्ध ठ्याक्क त्यही नदी र चराहरूसँगको जस्तै छ, जसले हरेक दिन र हरेक समय आशाको एउटा उज्यालो बोकेर आइदिन्छ। अनि त्यही उज्यालोले मलाई कथाको नयाँ यात्रा हिँड्न अह्राइरहन्छ। जुन यात्रा निकै रमाइलो छ, जसले मलाई चराले जस्तै थोरै थोरै कल्पनामा उड्न पनि सिकाइरहन्छ। र, नदीले जस्तै अप्ठ्याराहरूलाई पन्छाउँदै आफ्नै दुनियाँमा बहन पनि लगाइरहन्छ।
मैले लेखनसँग प्रेम बसेपछि कथा भन्न थालेको होइन, कथासँग प्रेम भएपछि लेखन यात्रा सुरु गरेको हुँ। त्यही भएर कथा मेरो निम्ति ‘फस्ट लभ’ पनि हो। नत्र त मैले कहिले सोचिनँ, एकदिन म पनि लेखक बन्नेछु।
बाजेले सुनाउने संघर्षका कथाहरूसँग लुकामारी खेल्दाखेल्दै मैले दुनियाँका कथा मन पराउन थालेको हुँ। त्यसपछि किताबका पात्रहरूसँग हिँड्दाहिँड्दै धेरथोर लेखक बनेको हुँ।
मेरा बाजे औँठाछाप थिए। उनले जीवनमा कहिल्यै आफ्नो नाम लेखेनन्। किनकि, उनले अक्षर चिन्दै चिनेनन्। तर, त्यही अक्षर नचिन्ने मेरा बाजेसँग दर्जनौँ संघर्षका कथा थिए। त्यही संघर्षका कथा सुन्दासुन्दै पात्रहरूसँग मेरो प्रेम झाँगिएर गयो। अनि म कथाप्रेमी भएँ।
त्यो बेला मेरा बाजेले सुनाउने कथा उनीजस्तै सामान्य मान्छेका कथा हुन्थे। जहाँ उनीजस्तै पात्रहरू रुँदै हाँस्थे। म तिनै पात्रहरूसँगै डुल्दै डुल्दै कहिलेकाहीँ बर्मासम्म पुग्थेँ। उनै बाजेले एकदिन मलाई निकै रमाइला कथा सुनाएका थिए। जुन कथा सुनेपछि मलाई पहिलोचोटि लागेको थियो, कथा लेख्नु पनि पर्ने रहेछ।
माथि आकाशतिर पुगिसकेका बाजेलाई सम्झिँदै म आज त्यही कथा यहाँ सुनाउन लागिरहेको छु। जुन एउटा सिपाही जीवनको सामान्य कथा थियो–
एकजना सिपाही थिए। निकै आँटी र लडाकु। जहिले बलको तुजुक मात्रै देखाइरहन्थे। मौका पर्यो कि लड्न अघि सरिहाल्थे।
एक साँझको घटना हो। अफिसकै बडाबाउसँग उनको झगडा पर्यो। बडाबाउ शान्त थिए। तर्क मात्रै गर्थे। त्यो दिन पनि उनले तर्कै गरे। तर, सिपाहीलाई बडाबाउको तर्क मन परेन। अचानक उनको पारा चढ्यो। हल्का मातेका पनि थिए। बडाबाउको मुखमा दुई मुक्का हानिदिए।
बडाबाउ घ्वाप्प ढले। सिपाहीले अझै दाह्रा किटिरहे।
कथा जहिल्यै साझा हुने रहेछ, जसले एउटा मान्छेलाई अर्को मान्छेसँग जोडिरहने रहेछ। एउटा ठाउँलाई अर्को ठाउँसँग प्रेम गर्न सिकाइरहने रहेछ।
अलि पछि सिपाही मत्थर बने। त्यो बेला पो बल्ल उनले थाहा पाए- बडाबाउको दुईवटा दाँत झरेछ। सिपाहीलाई अलिअलि अफसोस पनि भयो। त्यही अफसोससँग उनी काममा फर्किए।
दाँत झरेको पाँच सालपछिको घटना हो।
सिपाही अधबैँसे भइसकेका थिए। रिटायर्ड भएर घर फर्किने भए। पेन्सनको कागज मिलाउन अफिस पुगे। अफिसमा पुग्दा पो उनी तीन छक्क परे।
नयाँ अफिसरले भन्यो, ‘यो तपैंको कागज होइन। किनकि यो नामको मान्छेको त चारवटा दाँत छैन भनेको छ। सरकारी कागजमा तपैंको आइडेन्टिफिकेसन त्यस्तो लेखिएको छ।’
सिपाहीले पाँच वर्षपछि बुझे। त्यो बेला बडाबाउले किन हात फर्काएनन्, उनले बलले दुईवटा दाँत झारेका थिए। बडाबाउले मुक्का नचलाई कलमले चारवटा दाँत झारिदिएछन्। कागजमा जे लेखेको छ, त्यो त गर्नैपर्ने भयो नि !
त्यसपछि सिपाही चुपचाप डाक्टरकहाँ गए। आइडेन्टिफिकेसन मार्कका निम्ति चारवटा दाँत झारे र गाला मुसार्दै फर्किएर पेन्सनको कागज मिलाउन आइपुगे।
कथा सुनाएपछि बाजेले अन्तिम लाइन जोडेका थिए, ‘कलमको तागत त्यति धेर हुन्छ। बुझिस् नि?’
बाजेको त्यही कथा सुनेपछि मलाई पहिलोचोटि लागेको थियो, कथा सुन्न मात्रै होइन; लेख्न पनि जरुरी रहेछ। त्यसपछि नै मैले अलि अलि लेख्न थालेको हुँ। भेटेका हरेक कथा नछुटाई पढ्न थालेको हुँ।
म कालेबुङको निकै अभेक गाउँमा जन्मिएको हुँ। त्यहाँ आज पनि पक्की सडक पुगेको छैन। त्यो बेला स्कुल पुग्न दैनिक ६ घण्टा हिँड्थेँ म। बिहान तीन र बेलुकी तीन घण्टा। मसँग गोजीमा पैसा हुन्थेन। जब आफूसँग केही हुँदैन नि, तब मान्छेको दिमागमा कपासका भुवाझैँ साना साना सपना पलाउने रहेछन्, आशाको। मैले त्यही आशाको सपनासँग रम्दै जीवनमा कल्पना गर्न सिकेँ।
त्यही सिकेपछि हो, कथा, किताब र कल्पना मेरा नजिकका साथी बनेका। एक समय यस्तो थियो, म किताबको ‘एडिक्सन’ मा पूरै फसेको थिएँ। मलाई किताबबिना बस्नै गाह्रो हुन्थ्यो। किनकि, गाउँमा मसँग किताबबाहेक अरू केही हुन्थेन। घरमा एउटा रेडियो थियो। किताब नहुँदा म रातदिन त्यसैमा ‘रेडियो नेपाल’ सुनिरहन्थेँ र कल्पना गर्थें, ‘रेडियोमा बोल्ने मान्छे कस्ता होलान्, त्यो सहर कस्तो होला, जहाँ बसेर रेडियोका मान्छेले हामीलाई फर्माइसमा मीठा मीठा गीत सुनाइरहन्छन्’
मेरा आपा हरेक मंगलबार निम्बोङ बजार जान्थे। फर्केर आउँदा लाइब्रेरीबाट केही थान किताब ल्याइदिन्थे। किताब पाएपछि मेरो दसैँ आइहाल्थ्यो। हरेक छुट्टीको दिन म त्यही किताबसँग जंगल पस्थेँ।
त्यही बेलादेखि हो, मैले जीवनमा रुँदै कथा पढ्न थालेको। मैले पहिलोचोटि रुँदै पढेको कथा लियो टोल्सटोयको ‘लामो यात्रा’ थियो। त्यो पढ्दै गर्दा म पाँच क्लासतिर थिए हुँला। तैपनि उतिबेला मलाई कहिले लागेन, त्यो कथाको पात्र ‘आइभान’ मेरा गाउँको मान्छे होइनन्। उनी त मैले वर्षौँदेखि चिनेको नजिकका आफन्त जस्तै लागे। त्यसपछि अन्तोन चेखवको ‘भान्का’ पढेँ। मलाई कथाका मकारिक ठ्याक्कै आफ्नै बाजेजस्तै लागे। पछि द गुड अर्थ पढेँ।
उपन्यासमा वर्णन गरिएको चीनको त्यो दुर्गम ठाउँ मलाई आफ्नै गाउँझैँ लाग्यो। वाङलुङ त मलाई हाम्रै गाउँको माइते दाजुजस्तै लागे। त्यसपछि नै मैले बुझेँ, कथाको देश नहुने रहेछ।
हो, कथा जहिल्यै साझा हुने रहेछ, जसले एउटा मान्छेलाई अर्को मान्छेसँग जोडिरहने रहेछ। एउटा ठाउँलाई अर्को ठाउँसँग प्रेम गर्न सिकाइरहने रहेछ।
साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्छ भन्ने कुरामा म सधैँ विश्वास गर्छु। त्यही विश्वासकै कारण हो, उरमालमा पनि मैले शोषित र वञ्चितहरूकै पीडालाई लेख्ने कोसिस गरेको छु।
ठीक यतिबेला म ६ सालअघिको कुरा सम्झिरहेछु। जुनबेला म पहिलो उपन्याससँग नेपाल आइपुगेको थिएँ। रेडियो नेपालमा सुनेका ठाउँहरू हुँदै हुँदै जब म काठमाडौँ पुगेँ, तब मलाई पहिलोचोटि लाग्यो, ‘प्रेम र साहित्यको सिमाना नहुने रहेछ।’
त्यो बेला म यो ठाउँका निम्ति एकदम अचिनारु मान्छे थिए। तर, कथाको शक्ति हेर्नुस न? यही कथाले हामीलाई यसरी जोडिदियो, छोटो समयमा नै हामी कति धेरै नजिकका आफन्त भयौँ।
हिजोआज काठमाडौँ मलाई सहर होइन, अलिअलि आफ्नै घर लाग्न थालेको छ, जहाँ हरेक मोडमा म कथाका पात्रसँग जोडिएका कोही न कोहीलाई भेटिरहन सक्छु। त्यही भएर होला, कुनै बेला जब म एकदम रित्तो हुन्छु, मेरो लेखनीमा जब सुकौरा पर्छ, तब म यही नेपाल सम्झिन्छु। नेपाली पाठकलाई सम्झिन्छु। सानो अवसर पाउनासाथ दगुरेर यतै बरालिन आइपुग्छु।
जब म यहाँबाट फर्किन्छु, उत्साहको बर्सातमा थोरै रुझेरै फर्किन्छु। मेरो उराठलाग्दो मन फेरि हराभरा भइहाल्छ।
म फेरि नयाँ कथा लेख्ने नयाँ मान्छे भइदिन्छु।
यसचोटि अलि अलग भयो। नेपालबाट मदन पुरस्कारको घोषणाले मेरो लेखनीमा उत्साहको नयाँ वसन्त पनि लिएर आइदियो।
मदन पुरस्कारको घोषणा भएको दिन म सिलिगुडीमै थिएँ। मलाई थाह थिएन, त्यही बेलुकी पुरस्कार घोषणा हुनेवाला छ। कस्तो संयोग, मैले कति दिनपछि उरमाल उठाएर अन्तिम पन्नामा आफैँले लेखेको भूमिका पढेको थिएँ र कथाका पात्रहरूलाई सम्झिँदै महानन्द नदीको किनार घुम्न निस्किएको थिएँ। नदी र कथाको संयोग यहाँ पनि हेर्नुहोस् न, त्यो साँझ मैले महानन्दको किनारमा ठ्याक्क पुग्दा नै यता उरमालका निम्ति मदन पुरस्कारको घोषणा भइसकेको थियो।
मैले नदीका किनारमा उडिरहेका चराहरूलाई नियाल्दै फोन हेरेँ। मेरा सम्पादक तथा प्रकाशक अजित बरालको धेरैवटा कल आइसकेको रहेछ। कल ब्याक गरेँ, उहाँले खुसीको आँसु खसाल्नुभो, ‘तपाईंलाई बधाई।’ उहाँको आँखामा छचल्किएको त्यो खुसी कथासँगको प्रेम नै थियो।
त्यसपछि फेसबुक खोलेँ, मदन पुरस्कारले छाइसकेको थियो। अब मेरो फोन लगातार बज्न थाल्यो। मैले बहिरहेको नदीतिर फर्किएर लामो श्वास तानेँ। एक क्षणलाई फोन साइलेन्समा राखेँ। अलि भावुक बनेछु, कथाका पात्रहरूलाई पालैपिलो सम्झिन थालेँ।
पाँच सालअघि जब म उपन्यास लेख्नका निम्ति डुवर्स पुगेको थिएँ। चिया कमानमा भेटिएकी महिला श्रमिकहरूलाई सोधिरहन्थेँ, ‘तपाईं आफ्नो नाउँ आफैँ लेख्न सक्नुहुन्छ?’ काँधमा उरमाल भिरेर मेलाबाट फर्किरहेका महिलाहरू थोरै मुस्कुराउँथे। र, बूढी औँला देखाएर लजाउँदै भन्थे, ‘काँ सक्नु। हामेर त सब ठेंगा हौँ, ठेंगा।’
अक्षर नचिनेकै कारण त्यही ठेंगा लगाएर जीवन चलाउनेहरूकै कथाले यसचोटि ‘मदन पुरस्कार’ जितेको थियो। मैले लेखेको कथाले दुईचार मान्छेभित्रको मान्छेलाई बचाइराख्न सकोस्, म संसारको सबैभन्दा सन्तुष्ट लेखक भइहाल्नेछु।
साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्छ भन्ने कुरामा म सधैँ विश्वास गर्छु । त्यही विश्वासकै कारण हो, उरमालमा पनि मैले शोषित र वञ्चितहरूकै पीडालाई लेख्ने कोसिस गरेको छु।
यसले मदन पुरस्कार पाउँदा त्यो आवाज अझ मुखर भएको अनुभव मैले गरेको छु। त्यति मात्रै होइन, मदन पुरस्कार गुठीले कसरी विश्वभरि लेखिने नेपाली साहित्यको स्वरलाई सुनिदिन सकेको छ, कसरी एउटा अलग भूगोलको संवेदनालाई आत्मसात् गर्न सकेको छ, त्यसको प्रमाणका रूपमा पनि मैले यसलाई लिएको छु। वर्षौंपछि फेरि एकचोटि पूरै भारतेली नेपाली साहित्य पुरस्कृत भएको आभास यसचोटि मैले गरेको छु।
साहित्यको काम के हुन्छ? हरेकचोटि लेख्नुअघि आफैँलाई सोध्ने गर्छु। तब मभित्रको एउटा मान्छे मुसुक्क मुस्कुराउँछ र भनिरहन्छ, ‘मान्छेभित्रको मान्छेलाई बचाइराख्नु हो।’
हो, हरेक मान्छेभित्र एउटा मान्छे हुन्छ, जो एकदम नादान हुन्छ। उसमा छलकपट हुँदैन। जहिले केटाकेटीझैँ लुकामारी खेलिरहन्छ। र, त्यो मान्छे संसारका हरेक मान्छेभित्र धेरथोर हुन्छ, हुन्छ।
एउटा अपराधीलाई गएर सोध्नुहोस्, ऊभित्र पनि त्यो मान्छे हुन्छ जसले अपराध गर्नुअघि कमसेकम एकचोटि भनिरहेको हुन्छ, ‘यो गलत हो।’ भ्रष्टाचारीलाई गएर सोध्नुहोस्, ऊभित्र नि त्यो मान्छे हुन्छ जसले उसलाई भ्रष्टाचार गर्दै गर्दा भनिरहेकै हुन्छ, ‘यो त गलत काम हो।’
चोर, डकैत, हत्यारा हर कोहीभित्र पनि त्यो मान्छे धेरथोर हुन्छै, हुन्छ। जसले हर समय उसलाई सही र गलत छुट्याएर झकझक्याइरहेको हुन्छ। तर जब तपाईं गलत बाटोतिर धकेलिँदै जानुहुन्छ, तपाईंभित्रको त्यो मान्छे मर्दै मर्दै गइदिन्छ।
हरेक मान्छेभित्र हुने त्यो अबोध मान्छेलाई कसरी र कसले सधैँभरि बचाइराख्न सक्छ त? त्यो काम केवल साहित्यले गर्न सक्छ। त्यही भएर म लेखिरहन चाहन्छु, मैले लेखेको कथाले दुईचार मान्छेभित्रको मान्छेलाई बचाइराख्न सकोस्, म संसारको सबैभन्दा सन्तुष्ट लेखक भइहाल्नेछु।
हो, खासमा म त्यही मान्छेभित्रको मान्छेलाई बचाइराख्नका निम्ति हर समय लेखिरहन चाहन्छु।
– २०८१ सालको मदन पुरस्कारप्राप्त कृति उरमालका लेखक छुदेन काविमोको सम्पादित मन्तव्य
प्रतिक्रिया 4