
२८ असोज, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा संकट आएको अवस्थामा कांग्रेसले नेतृत्व गरेको उल्लेख गर्दै अहिले पनि सबै पार्टीहरूलाई एकमत बनाएर लैजाने पहल गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उल्लेख गरेका छन् ।
‘यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजना बारे छलफल गर्न आवश्यक छ’ देउवाले भने, ‘मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढौं ।’
उनले देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको उल्लेख गरे ।
‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,’ उनले भनका छन् ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको उनले उल्लेख गरेका छन् ।
निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएको देउवाको भनाइ छ ।
‘तसर्थ निर्वाचनका लागि शान्ति सुरक्ष्याको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत: स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चतता गराउने जिम्मा सरकारको हो । यस तर्फ सरकारको ध्यान जाओस्,’ उनले भनेका छन् ।
सरकारले निर्वाचनका लागि वातावरण बनाउन बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास रहेको देउवाले बताए ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4