+
+
Shares

फेरि ह्युमपाइप राखेर खुलाइयो काभ्रेको डाँडापारी जाने सडक

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज २८ गते १९:४६

२८ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको रोशी गाउँपालिकाको सिपाली क्षेत्र हुँदै महाभारत गाउँपालिका जाने सडक सञ्चालनमा ल्याइएको छ ।

नमोबुद्ध नगरपालिका ६ थानसिङबेशीमा रहेको पक्की पुल गत वर्षको असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो । तर, यस वर्षको बाढीले  फेरि ह्युमपाइप बगाएपछि सडक अवरुद्ध बनेको थियो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन दिनको प्रयासपछि थानसिङबेंशीमा ह्युमपाइप राखेर सडक खुलाइएको जानकारी दिए ।

रोशी गाउँपालिकाको सिपाली क्षेत्र हुँदै महाभारत गाउँपालिका जाने सडक रोशीको बहाव नघटेको कारण सञ्चालनमा समस्या भएको थियो । ‘रोशीको बहाव कम भएपछि तीन दिन लगाएर ह्युमपाइप राखेर यातायात सञ्चालन गर्‍यौं,’ लामाले भने ।

उक्त सडक हुँदै रोशीको केही वडा तथा महाभारत गाउँपालिकाका बासिन्दा आवतजावत गर्थे । सडक अवरुद्ध हुँदा डाँडापारी बासीले ठूलो समस्या भोग्दै आएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

‘बाढी आउँदा महाभारतबासीको सडक सञ्जालबाट सम्पर्क टुट्छ । स्थायी पुल निर्माणको प्रक्रिया अझै टुंगो नलागेकाले अस्थायी रूपमा आवागमन सहज बनाउन रोशी खोलामा ह्युमपाइप राखिएको हो,’ अध्यक्ष जिम्बाले भने ।

रोशी खोलाको बाढीले यस अघि दुई पटक ह्युमपाइप बगाइसकेको छ । ह्युमपाइप राखिएसँगै अब सवारीसाधन र पैदल यात्रु दुवैलाई खोलामार्ग हुँदै जोखिमपूर्ण यात्राको बाध्यता हटेको छ। स्थानीयवासीले यसलाई तत्कालका लागि ठूलो राहतका रूपमा लिएका छन्।

छिट्टै बेलिब्रिज बनाउने आश्वासन

गत वर्षको असोजमा आएको रोशी खोलाको बाढीले बगाएको खरिबोट–थान्सिङ मोटोरेबल पुल भएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।

भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत तथा यातायातमन्त्री कुलमान घिसिङले उक्त स्थानमा बेलिब्रिज बन्ने बताएका हुन् ।

मन्त्री घिसिङले बिपी राजमार्ग, खरिबोट, थान्सिङ, सिपाली हुँदै महाभारत जानको लागि बेलिब्रिज निर्माणका लागि चाहिने सामान भारतमा अर्डर भइसकेको बताए ।

‘छिट्टै पुल बन्छ,  लामो खालको बेलिब्रिज नेपालमा नपाइने हुनाले भारतमा अर्डर भएको हो,’ घिसिङले भने, ‘पक्की पुल निर्माण नभएसम्मलाई बेलिब्रिज बनाउन लागिएको हो ।’

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?