
३१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा करिब साढे ३ अर्ब खर्च कटौतीको निर्णय गरेको छ ।
२८ असोजमा मन्त्रालयले चालू खर्चतर्फ कर्मचारीको बैठक भत्ता, पदाधिकारीहरुको भत्ता र सुविधादेखि सवारीसाधन मर्मतसम्भार र इन्धन खरिदसम्म गरेर ३ अर्ब ४७ करोड १२ लाख ३८ हजार रुपैयाँ कटौतीको निर्णय गरेको हो । मन्त्रालयले कटौती गरेका खर्च शीर्षकहरुमा ३०, ४० र ५० प्रतिशतले बजेट काटिएको छ ।
आर्थिक मामिला मन्त्रालयका अनुसार खर्च शीर्षकअनुसार २ अर्ब ७६ करोड ९० लाख ३१ हजार अर्थात ३० प्रतिशत, ३६ करोड १३ लाख ७९ हजार अर्थात ४० प्रतिशत र ३४ करोड ८ लाख २८ हजार रुपैयाँ अर्थात ५० प्रतिशत बजेट काटिएको हो ।
मन्त्रालयले तालिम, गोष्ठी, अन्तरप्रदेश भ्रमण, अस्थायी दरबन्दीका कर्मचारी, संघसंस्था र व्यक्ति तोकेर विनियोजित कटौती गरेको आर्थिक मामिलामन्त्री प्रभात तामाङले जानकारी दिए ।
कर्मचारीको भत्ता, पारिश्रमिक तथा सुविधातर्फ
मन्त्रालयले पारिश्रमिक तथा सुविधातर्फ कर्मचारी बैठक भत्तामा २ करोड ३८ लाख ५३ हजार ५ खर्च कटौती गरेको छ । यसैगरी अन्य भत्ता शीर्षकको २ करोड ४२ लाख १५ हजार, कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा ८ लाख ६९ हजार, पदाधिकारी बैठक भत्ताको ८५ लाख १० हजार, पदाधिकारी अन्य सुविधाको ३ करोड २० लाख १ हजार, पदाधिकारी अन्य भत्ताको ६७ लाख ६५ हजार खर्च कटौतीको निर्णय पनि गरेको छ ।
सवारी साधन सञ्चालन तथा मर्मतसम्भारतर्फ
पुँजीगत सम्पत्तिको सञ्चालन तथा सम्भार खर्चतर्फ इन्धन (पदाधिकारी)मा ४० लाख १२ हजार, इन्धन (कार्यालय प्रयोजन)मा ४ करोड १४ लाख ९० हजार खर्च कटौती भएको छ ।
यसैगरी सवारीसाधन मर्मत खर्चमा ४ करोड ३६ लाख ५६ हजार, मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्चमा १ करोड ५४ लाख २८ हजार, सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्चमा २ करोड ७ लाख १६ हजार, अन्य सम्पत्तिको सञ्चालन तथा सम्भार खर्चमा ३२ लाख ४८ हजार खर्च कटौती गरिएको मन्त्री तामाङले बताए ।
कार्यालयका सामान तथा सेवातर्फ
कार्यालय सामान तथा सेवाहरुतर्फ मन्त्रालयले मसलन्द तथा कार्यालय सामग्रीमा ७ करोड ३९ लाख ८८ हजार र पुस्तक तथा सामग्री खर्चमा १ करोड ९ लाख १५ हजार खर्च कटौती गरेको छ ।
इन्धन अन्य प्रयोजनमा ५७ लाख २३ हजार, अन्य कार्यालय सञ्चालन खर्चमा ३९ लाख ६३ हजार खर्च कटौती भएको छ ।
सेवा तथा परामर्श खर्चमा ३ करोड ८४ लाख ४१ हजार र सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्चमा ३६ लाख ३७ हजार कटौती गर्ने निर्णय भएको छ ।
तालिम तथा गोष्ठीका कार्यक्रमतर्फ
कार्यक्रम सम्बन्धी खर्च शीर्षकहरुमा सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीमा २५ करोड ६९ लाख ४२ हजार, कर्मचारी तालिम खर्चमा ४ करोड ८३ लाख ४ हजार खर्च कटौती गरिएको छ ।
उत्पादन सामग्री/सेवा खर्चमा २ करोड ६४ लाख २७ हजार, कार्यक्रम खर्चमा १ अर्ब ४० करोड ८२ लाख ८४ हजार, विविध कार्यक्रम खर्चमा ५ करोड २६ लाख २९ हजार बजेट कटौती गरिएको मन्त्रालयले जानकारी दिएको छ । विविध खर्चबाट पनि ४ करोड ११ लाख २४ हजार कटौती गरिएको छ ।
धार्मिक तथा सांस्कृति संस्था तर्फ
धार्मिक तथा सांस्कृति संस्था सहायतामा ९६ लाख ३० हजार खर्च कटौती गरिएको छ । सरकारी निकाय समिति एवं बोर्डहरुलाई सशर्त चालु अनुदानबाट १९ करोड १२ लाख ८३ हजार तथा अन्य संस्थालाई अनुदान सशर्तबाट १४ करोड २३ लाख ९५ हजार खर्च कटौतीको निर्णय भएको छ ।
सरकारी निकाय समिति बोर्ड– पुँजीगत नि:शर्त अनुदानमा ३ करोड १ लाख ५० हजार, सरकारी निकाय समिति बोर्ड– पुँजीगत सशर्त अनुदानमा ३० करोड ३९ लाख ८० हजार र अन्य संस्थालाई सशर्त पुँजीगत अनुदानबाट १० करोड ५६ लाख ९३ हजार बजेट कटौतीको निर्णय भएको छ ।
मेसिनरी तथा औजारतर्फ
सवारीसाधन तथा मेसिनरी औजार भाडामा २२ लाख १७ हजार, स्थिर सम्पत्ति प्राप्ति खर्चतर्फ मेसिनरी तथा औजारमा १३ करोड ६७ लाख १६ हजार र फर्निचर तथा फिक्चर्समा २ करोड ७३ लाख ५५ हजार कटौती भएको छ ।
कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्चमा २ करोड ६० लाख ६८ हजार, पुँजीगत परामर्श खर्चमा १५ करोड २ लाख ९ हजार र सुरक्षा उपकरण प्राप्ति खर्चमा ३ करोड ६ लाख बजेट कटौती गरिएको मन्त्रालयले जनाएको छ ।
गत ३ असोजमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चालु खर्च कटौती गर्ने निर्णय गरेको थियो । २ असोज साँझ मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा पनि अनावश्यक खर्च कटौती गर्नुपर्ने विषयमा सहमति जुटेको थियो ।
प्रतिक्रिया 4