News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ को आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टोली टुङ्गो लागेको छ।
- नेपाल, ओमान र युएईले एसिया-इएपी छनोटबाट विश्वकपमा स्थान बनाएका छन्।
- विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुनेछ।
३१ असोज, काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिको टुङ्गो लागेको छ ।
ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो ।
बिहीबार भएको सुपर सिक्सको खेलम युएईले जापानलाई पराजित गरेपछि विश्वकपमा छनोट अने अन्तिम (२०औं) टोली बनेको हो । एसिया-इएपी छनोटमा ९ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान थियो ।
पुरुष टी२० विश्वकपको १०औं संस्करण २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म (माघ २७ देखि फागुन २४ गते) भारत र श्रीलंकाको विभिन्न मैदानमा हुनेछन ।
२० टिमकै टुङ्गो लागेपछि अब विश्वकपका लागि समूह विभाजन हुनेछ भने खेल स्थलहरू पनि तय गरिनेछ ।
सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा पनि २० टोलीले नै खेलेका थिए । जसमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।
हरेक समूहमा ५-५ टोली थिए । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर एटमा पुगेका थिए । यस पटक पनि त्यही फर्म्याटमा टी२० विश्वकप हुनेछ ।
२०२६ को विश्वकपका लागि एसियाबाट सर्वाधिक ८ टोली (भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, नेपाल, ओमान, युएई) छनोट भएका छन् ।
यस्तै युरोपबाट ४ (इंग्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, इटली), अफ्रिकाबाट ३ (दक्षिण अफ्रिका, जिम्बाबे, नामिबिया), अमेरिकाजबाट २ (अमेरिका, क्यानडा), क्यारेबियनबाट १ (वेष्ट इन्डिज) तथा ओसियाना क्षेत्रबाट २ (अष्ट्रेलिया, न्युजिल्याण्ड) टिमले विश्वकप खेल्नेछन् ।
कसरी छनोट भए टिम ?
भारत र श्रीलंका आयोजकको रुपमा स्वत: १०औं संस्करणको टी२० विश्वकपका लागि छानिएका हुन् । भारत साविक विजेता समेत हो ।
यस्तै २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा शीर्ष सातमा रहेका (भारत र श्रीलंका बाहेक) अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्ट इन्डिजले पनि स्वत: विश्वकपमा स्थान बनाएका हुन् ।
त्यसपछि आईसीसीको वरीयतामा रहेको शीर्ष टिममध्येबाट आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तानले पनि सिधै विश्वकपमा स्थान बनाए । बाँकी ८ टिमले भने विभिन्न महादेशको छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।
त्यसमा अमेरिका क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्याण्ड्स र इटली छनोट भएका हुन् । यस्तै अफ्रिकाबाट जिम्बाबे र नामिबिया टी-२० विश्वकपमा छनोट भए ।
एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईलले विश्वकपमा स्थान पक्का गरेका हुन् ।
प्रतिक्रिया 4