+
+
Shares

संसद्‌ पुनर्स्थापना मागे घृणाको पात्र हुन्छौं, चुनाव बहिष्कार गरे अर्को भिडन्त निम्तन्छ : एमाले नेता अरबिन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ११:३०

३१ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संसद्‌ पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र हुने चिन्ता व्यक्त गरेका छन् ।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘दुई-दुई पटक हामी आफैले संसद्‌ विघटन गरेकोले संसद्‌ पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बीच घृणा र हाँसोको पात्र मात्रै हुन्छौं ।’

चुनाव बहिष्कार गरे अर्को भिडन्त निम्तने उनको चिन्ता छ ।

उनले भनेका छन्, ‘चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन ।’

नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा संसद्‌ पुनर्स्थापना माग गर्ने र नगर्ने विषयमा नेताहरूका मत विभाजित छन् । भदौ २३ र २४ गते जेनजीको आन्दोलन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री थिए ।

आफ्नै नेतृत्वमा सरकार रहेका बेला जेनजी आन्दोलन भएको र आन्दोलनको बलमा पार्टी नेतृत्वको सरकार सत्ताच्युत हुन पुगेको स्मरण गर्दै एमाले नेताहरू आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर धारणा राखिरहेका छन् ।

एमाले नेता अरबिन्द आफूहरूले समयको सही मुल्यांकन गर्न नसकेको स्वीकार गर्नुपर्ने बताउँछन् । भदौ २२ गते जस्तो बुझाइ थियो त्यसअनुसार भदौ २३ र २४ गतेको घटना नभएकोले कमजोरी भएको स्वीकार गर्नुपर्ने उनको आग्रह छ ।

‘भदौ २२ गतेको ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको’राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो,’ उनी भन्छन्, ‘फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला ?’

‘नरसंहारको आरोपबाट आजीवन उन्मुक्ति पाउँदैनौं’

विश्लेषणहरू वस्तुनिष्ट हुनुपर्ने उनको आग्रह छ । ‘हाम्रा विश्लेषणहरू वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछ त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन । सक्किने बाटोमा लैजान्छ ।’

पार्टी सत्ता र राज्य सत्ता आफ्नो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा एमाले र एमालेको नेतृत्वले आजीवन उन्मुक्ति नपाउने उनको आग्रह छ ।

‘२४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो,’ उनी भन्छन्, ‘जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।’

भ्रष्टाचारका आरोपितहरू एमाले केन्द्रीय समितिमै रहेको उनले बताए । उनको प्रश्न छ, ‘भ्रस्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ  । त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने ?’

‘ओलीले मार्गप्रशस्त गरे पार्टीको भविष्य बच्दछ’

वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति  र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथी रहेको नेता अरबिन्दको बुझाइ छ ।

उनी भन्छन्, ‘यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो ।’

उनी प्रश्न गर्छन्, युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरूपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ?’

यसमा अझै वस्तुनिष्ट ढंगले विश्लेषण गर्न जरुरी रहेको उनको भनाइ छ ।

जनसंगठनहरू कसरी चल्दैछन भन्ने एउटा उदाहरण टंक कार्की देखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ भनेर हेरे पुग्ने उनले बताए ।

४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हिनताबोध र ग्लानी नहुने पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ नरहेको पनि उनको भनाइ छ ।

दुई-दुई पटक आफैले संसद्‌ विघटन गरेकोले संसद्‌ पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुने उनको बुझाइ छ ।

उनी भन्छन्, ‘चुनाव बहिष्कार गर्ने निति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउदै चुनावमा जानुको विकल्प छैन।’

साथै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन पनि उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?