+
+
Shares

विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् : अरबिन्द सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ९:२२

३१ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरिनुपर्ने बताएका छन् ।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विद्या भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु’ उनले भनेका छन् ।

यी सहितका दश विषय उनले केन्द्रीय समितिको बैठकमा राखेका छन् ।

१. भदौ २२ गतेको ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको’राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो । फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरु वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउदैन। सक्किने बाटोमा लैजान्छ।

२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौं ।

३. २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।

४. भ्रस्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरुमा आरोपितहरु हामी यहीँ छौँ  । त्यसको छानबिन गरेर कार्वाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने ?

५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति  र उनलाई घेराबन्दीमा राखेर चलाउने समुहमाथी रहेकोले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।

६. युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ती हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरुका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ? यसमा अझै वस्तुनिष्ट ढंगले विश्लेषण गर्न जरुरी छ ।

७.  जनसंगठनहरु कसरी चल्दैछन भन्ने एउटा उदाहरण टंक कार्की देखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी?

८. ४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४–५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउदा कुनै हिनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरुले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन ।

९. दुई दुई पटक हामी आफैले संसद विघटन गरेकोले संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जादा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौं । चुनाव बहिष्कार गर्ने निति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउदै चुनावमा जानुको विकल्प छैन।

१० . विद्या भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?