
३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् ।
साथै, उनले प्रचण्डलाई कारबाही गर्न समेत माग गरेका छन् ।
बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई ‘लुसिफर’, रास्वपा सभापति रवि लामिछानेलाई जेल तोडेर जनता झुक्याउने व्यक्ति रहेको जिकिर गरे ।
‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले चिनिँदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने, उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कारबाही गर्नुपर्छ,’ बस्नेतले बैठकमा भनेका छन् ।
जेनजी आन्दोलन नेपाली र वास्तविक जेनजी पुस्ताका माग व्यवस्था परिवर्तन नभएको उनको भनाइ छ ।
‘उनीहरूको असन्तोष भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमा आफ्नो आवाजको पहुँच घट्ने डरसँग जोडिएको थियो । तर बाह्य शक्तिहरूले यही असन्तोषलाई प्रयोग गरेर देशविरोधी दिशामा मोडिदिए,’ बस्नेतले भने ।
प्रतिक्रिया 4