
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विदेश भ्रमणको टोली संख्या तीन जनामा सीमित गरेपछि संसद्का ६ जना अधिकारी दुई टोली बनाएर जेनेभा प्रस्थान गरेका छन्।
- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल आईपीयूको १५१औं सम्मेलनमा सहभागी हुँदै जेनेभा प्रस्थान गरेका छन्।
- मन्त्रिपरिषद् बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र टोली संख्या सीमा तोक्ने निर्णय गरेको थियो।
३१ असोज, काठमाडौं । सरकारले विदेश भ्रमणको टोली संख्या तीन जनामा सीमित गरेपछि दुई टोली बनाएर एकैचोटी संसद्का ६ जना अधिकारी जेनेभा प्रस्थान गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल विश्वभरका सांसदहरूको महासभा अन्तरव्यवस्थापिका संघ आईपीयूको १५१औं सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुँदैछन् । यसका लागि उनी आजै जेनेभा प्रस्थान गरेका हुन् ।
उनको भ्रमण टोलीमा राष्ट्रिय सभाका सदस्यद्वय गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी रहेको संसद् सचिवालयले जनाएको छ ।
यही २ देखि ६ कात्तिकसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उनै प्रवक्ता गिरीले निकालेको विज्ञप्तिमा Association of the Secretaries General of the Parliaments (ASGP) को बैठकमा संघीय संसद्का महासचिव सहभागी हुने कार्यक्रम रहेको उल्लेख छ ।
विज्ञप्तिमा भ्रमण टोलीमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नाम छैन । तर सहभागी हुने कार्यक्रम भने उल्लेख छ ।
अर्थात्, आईपीयू अन्तर्गतकै कार्यक्रममा सहभागी हुन जेनेभा प्रस्थान गरेका कर्मचारीहरूको टोलीबारे संसद् सचिवालयले केही भनेको छैन ।
सचिवालय स्रोतका अनुसार सरकारले विदेश भ्रमणको टोली संख्या ३ जनामा सीमित गरिदिएपछि समस्या भएको हो । सरकारको निर्णय मानेको मिलाउने गरी राष्ट्रिय सभा अध्यक्ष दाहाल र सांसदद्वयको एउटा टोली बनाइएको हो ।
अर्को टोलीमा संघीय संसद्का महासचिव पाण्डेय, संघीय संसदको सचिवालय सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र रहेका छन् ।
प्रवक्ता गिरीले निकालेको सूचनामा भने दुईवटा टोली भनिएको छैन । महासचिव सहभागी हुने कार्यक्रम मात्रै समावेश गरिएको हो ।
सामान्यतया सांसदहहरू, कर्मचारीहरू विदेश भ्रमणमा जाने टोलीको सामूहिक तस्वीर लिएर सार्वजनिक गर्ने गर्छन् । यसपटक दुई वटा टोली बनाएर गएकाले सामूहिक तस्वीरसमेत सार्वजनिक गरिएको छैन ।
५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको थियो ।
जसअन्तर्गत अर्थ मन्त्रालयले चालु खर्च घटाउन अनावश्यक भ्रमणमा रोक लगाउने गरी परिपत्र नै गरिएको छ ।
अर्थ मन्त्रालयले यही असोज ८ गते विज्ञप्ति निकालेर विदेश भ्रमणको टोली संख्या तोकिएको जानकारी दिएको थियो ।
भ्रमण टोलीको संख्या सीमा तोक्ने निर्णयमा भनिएको छ, ‘सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने ।’
यो निर्णयअनुसार संसद्का ६ जना अधिकारी एउटै भ्रमण टोलीमा विदेश भ्रमणमा जान नपाउने भएपछि दुई टोली बनाइएको हो ।
दुवै टोली भ्रमण कार्यक्रम सम्पन्न गरी आगामी ९ कात्तिक साँझ सवा ६ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।
संसद् सचिवालयकै अधिकारीहरूका अनुसार राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरू जाने भएपछि एकजना कर्मचारी जानु स्वाभाविक हो । बाँकी कर्मचारीको हकमा अनावश्यक भ्रमण भएको बताउँछन् ।
प्रतिक्रिया 4