
३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै अग्रसरतामा चुनावी वातारणका लागि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल थालेकी छन् ।
उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटिन् ।
जेनजी आन्दोलनपछि दलहरूसँग राजनीतिक संवाद नै हुन नसकेपछि गत साता राष्ट्रपतिको अग्रसरतामा शीलतनिवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा अब आफैंले दलहरूसँग छलफल अघि बढाउने प्रधानमन्त्रीले उल्लेख गरेकी थिइन् ।
जेनजीका प्रतिनिधिहरूसँग पनि बिहीबार पहिलो चरणको वार्ता भएपछि प्रधानमन्त्रीले दलहरूसँग अब छुट्टाछुट्टै छलफल गर्न थालेकी हुन् ।
शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले जसरी पनि चुनाव गराउन सरकार लागेकोले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।
‘हामीलाई छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको थियो,’ माओवादी उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भने, ‘उहाँले चुनावका लागि वातावरण बन्छ दलहरूले सहयोग गर्नुपर्छ भन्नुभएको छ ।’
माओवादीले पहिले नै चुनावमा जाने निर्णय गरिसकेकोले त्यसका लागि वातावरण चाहीँ उपयुक्त बन्नुपर्ने बताएको छ । ‘चुनावका लागि चाहिने वातावरण बनाउन सरकारले सबै काम गर्नुपर्छ त्यसका लागि लाग्नुपर्छ भन्ने हाम्रो सुझाव छ,’ उपमहासचिव पुनले भने ।
उनीहरूले चुनावका लागि गठन भएको सरकारले अन्यत्र भन्दा चुनावी गतिविधि मै बढ्ता केन्द्रित भएर राजनीतिक माहोल बनाउन लाग्नुपर्ने सुझाव दिएका थिए ।
चुनावका लागि अहिले सुरक्षाको नै भरपर्दो अवस्था नरहेको भन्दै दलहरूले चासो जनाइरहेका छन् । प्रहरीको मनोबल गिरेको अवस्थामा त्यसले चुनावको सुरक्षा गर्ने आत्मबल ल्याउन नसक्ने धारणा दलहरूले राख्दै आएका छन् ।
राष्ट्रपतिले पनि दलहरूको यो चासो मुख्य भएकाले यसको सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानकर्षण गराएका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।
प्रधानमन्त्री कार्कीले अब सबै दलका नेताहरूलाई पालोपालो निरन्तर भेट गर्ने कार्यसूची बनाएकी छिन् ।
प्रतिक्रिया 4