+
+
Shares

८० दिनपछि खुल्‍यो खाँदबारी-किमाथाङ्का सडक

लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।

रासस रासस
२०८२ कात्तिक २ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक ८० दिनपछि पुनः सञ्चालनमा आएको छ।
  • पहिरो पन्छ्याउने र मर्मत कार्यपछि सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
  • सडक सञ्चालनले भोटखोला लगायत दुर्गम क्षेत्रका बासिन्दाको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

२ कात्तिक, खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका-३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।

स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताए। ‘कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो’, उनले भने, ‘करिब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ।’

सडकमा ढुङ्गा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेको भन्दै उहाँले हाल एकतर्फी सवारी सञ्चालन भइरहेका जानकारी दिए। सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएका छन् ।

सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए। यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमाइएको स्थानीयले बताएका छन् । सडक सञ्चालनमा आएपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुसी छाएको बताए । ‘करिब ८० दिनपछि सडक खुलेकामा हामी अत्यन्त खुसी छौं’, उनले भने, ‘अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ।’

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो। यसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?