+
+
Shares

भन्सार र आन्तरिक राजस्व दुवै विभाग लक्ष्य भेटाउन असफल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा भन्सार र आन्तरिक राजस्व विभागले लक्ष्यको क्रमशः ८२.४५ र ८१.४१ प्रतिशत मात्र राजस्व उठाउन सफल भएका छन्।
  • आन्तरिक राजस्व विभागले असोजसम्म आयकर लक्ष्यको ६५.८६ प्रतिशत मात्र असुली गरेको छ, जसले कुल राजस्व संकलनमा नकारात्मक प्रभाव पारेको छ।
  • भन्सार विभागले मूल्य अभिवृद्धि कर र अन्तःशूल्क लक्ष्यको ८६.३१ र ९८.३० प्रतिशत मात्र उठाएको अर्थ मन्त्रालयले जनाएको छ।

२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा भन्सार र आन्तरिक राजस्व विभाग दुवै निकाय लक्ष्य भेटाउन असफल भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म आन्तरिक राजस्व विभागले लक्ष्यको ८१.४१ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको छ । भन्सार विभागले लक्ष्यको ८२.४५ प्रतिशत मात्र राजस्व उठाएको छ ।

यस वर्ष भन्सार विभागलाई ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ । यसमध्ये पहिलो त्रैमासमा १ खर्ब ४३ अर्ब ७६ करोड उठाउने लक्ष्य थियो । संकलन भने १ खर्ब १८ अर्ब ५२ करोड रुपैयाँ मात्र भएको छ । गत आवको यसै अवधिको तुलनामा भन्सार राजस्व ९.७२ प्रतिशतले बढेको छ । तर, लक्ष्य भने भेटाउन विभाग असफल भएको छ ।

उता, आन्तरिक राजस्व विभागलाई यस आवमा ७ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । पहिलो त्रैमासमा १ खर्ब ४२ अर्ब रुपैयाँको लक्ष्य थियो । संकलन भने १ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ मात्र भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

आन्तरिक राजस्व गत आवको यसै अवधिको तुलनामा ३.७१ प्रतिशतले बढेको छ । गैरकर राजस्व भने लक्ष्यको ४१.४५ प्रतिशत मात्र संकलन हुन सकेको छ । जसले गर्दा समग्र राजस्व संकलन नै लक्ष्यको ७७.४६ प्रतिशत मात्र भएको देखिन्छ ।

विविध प्राप्तिसहित असोजसम्म २ खर्ब ५१ अर्ब राजस्व संकलन भए पनि दुई विभागले २ खर्ब ४९ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गरेका छन् । लक्ष्य अनुसार ३ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन हुनु पर्ने थियो ।

आयकर निरन्तर खस्किँदै

सरकारले लिएको लक्ष्य अनुसार आयकर असुली कम हुँदा त्यसको असर आन्तरिक राजस्व संकलनमा परेको देखिन्छ । असोजसम्म लक्ष्यको ६५.८६ प्रतिशत मात्र आयकर असुली भएको छ ।

यस आवको असोजसम्मको आयकर संकलनको लक्ष्य ७१ अर्ब २२ करोड थियो । संकलन भने ४६ अर्ब ९० करोड मात्र भएको छ । जसमध्ये आयकर लक्ष्यको तुलनामा ७०.५७ प्रतिशत र ब्याजकर ४८.०७ प्रतिशत मात्र उठेको छ ।

भन्सार महसुल ७० अर्ब ६५ करोड उठाउने लक्ष्य रहेकोमा संकलन ५६ अर्ब ८५ करोड मात्र भएको छ । मूल्य अभिवृद्धि कर लक्ष्यको ८६.३१ प्रतिशत उठेको छ । अन्तःशूल्क लक्ष्यको ९८.३० प्रतिशत उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?