
देवराज घिमिरेले भनेका छन् – नेपाल संवतको अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गर्दछु
५ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरूरी देखिएको बताएका छन् ।
नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन साझा सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्य भए मुलुकलाई नयाँ गति दिन सकिने उनको विश्वास छ । ‘युवाहरूले उठाएका भ्रष्टाचारअन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरूरी देखिएको छ’, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व आवश्यक छ भन्ने विश्वास व्यक्त गर्दछु ।’
नेपाल संवत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिहरूको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने उनको शुभकामना छ ।
सभामुख घिमिरेका अनुसार नेपाल संवत् नेपालको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो । राष्ट्रिय विभूति शंखधर साख्वा:ले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गरेको ऐतिहासिक सम्झनामा नेपाल संवत् मनाउने गरिएको छ ।
सभामुख घिमिरेले सबै नेपालीलाई ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर हुन सकुन भन्ने समेत शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा लेखेका छन्, ‘नेपाल संवतको अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गर्दछु ।’
नेपालको मौलिक इतिहास बोकेको यो संवतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने पनि सभामुख घिमिरेको कामना छ ।
प्रतिक्रिया 4