News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरूलाई निवेदन दिन १५ दिनभित्र आह्वान गरेको छ।
- पर्यवेक्षण अनुमतिका लागि निवेदनमा संस्था दर्ता प्रमाणपत्र, विधान, नविकरण प्रमाण, पदाधिकारी नामावली र अनुभव प्रमाण पेश गर्नुपर्ने आयोगले जनाएको छ।
- निर्वाचन आचारसंहिता उल्लंघन गरेको वा पर्यवेक्षण प्रतिवेदन नबुझाएको संस्थालाई अनुमति नदिने आयोगले स्पष्ट पारेको छ।
११ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गरेर पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेश गर्न आह्वान गरेको हो ।
आयोगका अनुसार पर्यवेक्षण अनुमतिका लागि निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमै निवेदन सकिनेछ । अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।
निवेदकले संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नविकरण भएको निस्साको प्रतिलिपिले निवेदनसँगै पेश गर्नुपर्नेछ ।
यस्तै निवेदनका साथमा संस्थाको कार्य समितिका पदाधिकारीहरूको नामावली, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सो को प्रमाण, पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सो को प्रति समेत निवेदनसँगै पेश गर्नुपर्नेछ ।
यस्तै यसअघिको निवार्चन पर्यवेक्षण गरेको भए आयोगमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाण समेत पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लघंन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण पेश नगर्ने संस्थालाई अनुमति दिइने छैन ।
यस्तै पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको क्षेत्रमा पर्यवेक्षणको अनुमति पाउने छैनन् ।

प्रतिक्रिया 4