 
																			१४ कात्तिक, काठमाडौं । वर्षाले राजधानी काठमाडौं निथ्रुक्क रुझेको छ । तर त्यही रुझाइमा पनि राजधानीबासीको व्यस्त दैनिकी चलिरहेको छ । काठमाडौंको आकाशमा बादल डम्म छ । सडकहरू चिप्ला छन् र हरेक पाइलामुनि पानीको चिसो स्पर्श छ । तर यो झरीमा पनि शहरको धड्कन थामिएको छैन ।
सडकपेटीमा कोही प्लास्टिकको ओतमुनि आफ्नो सानो संसार (पसल) रुँघेर बसेका छन् । कतै रङ्गीन छाता समातेर र कोही रेनकोटको ओतभित्र लुकेर गन्तव्यतिर लम्किरहेका छन् । पर्यटकहरू ‘मन्दिरै मन्दिरको शहर’ को उपमा पाएको काठमाडौंलाई यही झरीको सौन्दर्यलाई मोबाइलमा कैद गर्न तल्लीन छन् ।

नेपालमा अहिले बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले पानी परिरहेको मौसमविदले बताएका छन् । उनीहरूका अनुसार आजै साँझबाट काठमाडौंको मौसममा सुधार देखिने छ । र, शनिबार बिहान त घाम लाग्ने पूर्वानुमान छ ।
पछिल्ला केही वर्षहरूमा प्रकृतिको बदलिँदो मिजासले वर्षाको पुरानो लय खल्बलिएको छ । जलवायु परिवर्तनका कारण कहिले एकैपटक अत्यधिक पानी बर्सिन्छ भने कहिले पानीको एक थोपाका लागि महिनौं कुर्नुपर्छ ।

यस्ता अनगिन्ती अनुभवका बिच पनि यो शहर कहिल्यै रोकिँदैन । जीवनको दौडमा दौडिरहेका मानिसहरू, यही झरीमा पनि उत्साह खोजिरहेका पर्यटकहरू र पानीको छिटा सहँदै धैर्यधारण गरेका पसलेहरू सबैले शहरको गतिलाई निरन्तरता दिइरहेका छन् ।
यो वर्षा केवल पानीको थोपा मात्र होइन, यो त हरेक प्राणीको जीवन हो– जोसँग संघर्ष छ, सम्झौता छ र जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउँदै अघि बढ्ने अनन्त जिजीविषा छ ।
 
   
  
   
  
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4