१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको तिथि–मितिबारे रस्साकस्सी चलिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले ‘मध्यमार्गी’ प्रस्ताव गरेका छन् ।
महाधिवेशनबारे चुलिएको अन्यौल समाधानका लागि शनिबार सानेपामा बसेको पदाधिकारी बैठकमा उनले ‘मध्यमार्गी’ प्रस्ताव राखेका हुन् । महामन्त्री शर्माले बैठकमा महाधिवेशनको मितिबारे महासमितिबाट निर्णय लिनुपर्ने प्रस्ताव गरेको नेताहरूले बताए ।
१५ औँ महाधिवेशन आमनिर्वाचनअघि गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जान उचित कि आमनिर्वाचनपछि महाधिवेशन गर्न उपयुुक्त भनेर महासमिति सदस्यहरूको राय लिनुपर्ने शर्माको प्रस्ताव छ ।
‘डिजिटल भोटिङको माध्यमद्वारा राय या मत संकलन प्रविधिको यो जमानामा सामान्य प्रक्रिया हो । दुई दिनमा नै यो प्रक्रिया सकिन्छ । एउटा पुरानो दलमा यसको अभ्यासले विशेष सन्देश पनि दिनेछ,’ शर्माको मध्यमार्गी प्रस्तावमा भनिएको छ, ‘स्वदेश र विदेशमा छरिएर रहेका महासमिति सदस्यहरूको राय र मत संकलन गर्ने विकल्प अहिलेको समयमा अत्यन्तै लोकतान्त्रिक र अत्यन्तै महत्त्वपूर्ण हुनेछ ।’
आगामी मंसिर वा अर्को वर्षको वैशाख भनेर छलफलमा रहेका महाधिवेशनका दुई मितिभन्दा मध्यमार्गी समाधानको पुस १६–१९ को मितिमा सहमत हुन पनि उनले बैठकमा आग्रह गरे ।
‘सहमति जुट्न नसक्दा पक्ष–विपक्षमा धेरै विभाजित नबनौं । एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको बहुमत छ,’ उनको भनाइ थियो, ‘दुवै बहुमतको मर्यादा राख्दै दुबै बहुमतभन्दा माथिको निकाय महासमितिको राय ‘डिजिटल भोटिङ सिस्टम’बाट लिऊँ ।’
‘इश्यु’ भन्दा ‘इगो’ केन्द्रमा रहे राजनीतिक दलहरू समस्यामा पर्ने भन्दै महामन्त्री शर्माले वर्तमान परिस्थितमा कांग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुबैमा ‘इगो’ मुक्त भएर आफूलाई प्रस्तुत गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4