News Summary
Generated by OK AI. Editorially reviewed.- आईएचजी होटल्स एन्ड रिसोर्ट्सले लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड 'क्राउन प्लाजा' सञ्चालन गर्दै नेपालमा पुनः सेवा सुरु गर्ने भएको छ।
- लुम्बिनी हेरिटेज होटललाई पुनः ब्रान्डिङ गरी 'क्राउन प्लाजा लुम्बिनी' नाम दिइने र यसमा १ सय ४७ कोठा, आधुनिक सुविधा र क्यासिनो सेवा रहनेछ।
- आईएचजी र लुम्बिनी हेरिटेजबीच भारत नयाँदिल्लीमा सम्झौता भएको छ र सन् २०२६ भित्र आईपीओ निष्कासन गर्ने योजना रहेको छ।
१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय आतिथ्य समूह आईएचजी होटल्स एन्ड रिसोर्ट्सले नेपालमा पुन: सेवा सुरु गर्ने भएको छ ।
आईएचजी (इन्टरकन्टिनेन्टल होटल्स ग्रुप) ले पहिलो पटक काठमाडौं बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड ‘क्राउन प्लाजा’ सञ्चालन गर्ने भएको हो ।
आईएचजीको क्राउन प्लाजा ब्रान्ड पहिले नेपालमा पाँचतारे होटल सोल्टी काठमाडौंमा सञ्चालित थियो । सोल्टीसँगको सम्झौता १४ मे २०२१ मा समाप्त भएपछि लुम्बिनी हेरिटेज मार्फत क्राउन प्लाजा पुन: नेपाल फर्किएको हो ।
हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुन: ब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने भएको छ ।
यसबारे आईएचजी होटल्स एन्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । भारत नयाँदिल्लीमा सम्झौता भएको हो ।
सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आईएचजी होटल्स एन्ड रिसोर्ट्सका दक्षिण पश्चिम एसिया प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
यसअघि ‘पवन प्यालेस लुम्बिनी’ का नाममा सञ्चालनमा रहेको यो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुन: रूपान्तरण गरिएको हो । होटलमा कुल १ सय ४७ कोठा छ । जसमा ७ स्विट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्विमिङ पुल र अन्य प्रिमियम सुविधा छन् । यसै वर्ष क्यासिनो सेवा सुरु गर्ने योजना रहेको समेत कम्पनीले जनाएको छ ।
लुम्बिनी हेरिटेज होटल बुद्ध जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा छ । कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ ।
लुम्बिनी हेरिटेज लिमिटेड अध्यक्षा अमात्यले आईएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्ने र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्ने बताए ।
‘क्राउन प्लाजा लुम्बिनीसँगै नेपालमा हाम्रो उपस्थितिलाई पुन: सुदृढ गर्न पाउँदा खुसी छौं,’ आईएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, ‘आधुनिक डिजाइन र उत्कृष्ट सेवासहित यो होटल स्वदेशी तथा विदेशी पाहुनाका लागि उत्कृष्ट गन्तव्य बन्ने छ ।’
प्रतिक्रिया 4