News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ र तीर्थयात्रीको चाप बढ्दै गएको छ।
- मानसरोवर दर्शनका लागि नेपालगञ्जदेखि सिमकोट विमानस्थल र हिल्सा नाकासम्म हेलिकप्टर सेवा उपलब्ध छ र यात्राको खर्च प्रतिव्यक्ति ३ लाखसम्म पर्छ।
- धार्मिक विश्वासअनुसार कैलाश मानसरोवर दर्शन गरेपछि ७ जुनीको पाप पखालिने जनविश्वास रहेको छ र कैलाश पर्वत भगवान शिवको प्रतीक मानिन्छ।
१६ कात्तिक, हुम्ला । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ । धार्मिक सँगसँगै पर्यटकीय महत्व बोकेको कैलाश मानसरोवरमा यात्रुको आकर्षण बढ्दै गएको छ । सिजन भएकोले यतिबेला कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप छ । यो यात्राका लागि जेठदेखि कात्तिकसम्म उपयुक्त समय मानिन्छ ।
मानसरोवर ताल समुन्द्री सतहदेखि ४ हजार ५५९ मिटर उचाइमा अवस्थित छ । यो ताल ३२० वर्ग किलोमिटर फैलिएको छ । मानसरोवरदेखि ४० किलोमिटर उत्तरतर्फ कैलाश पर्वत अवस्थित छ ।
कैलाश मानसरोवर दर्शनका लागि तिर्थयात्री ७ देखि ९ दिनमा पुग्न सक्छन् । नेपालगञ्जदेखि ४५ मिनेटको जहाज यात्रापछि हुम्ला सिमकोट पुगिन्छ । हुम्लाको सिमकोट विमानस्थलबाट हिल्सा नाकासम्म हेलिकप्टरबाट १५ मिनेटमा पुगिन्छ ।
हिल्साबाट मानसरोवर कैलाश दर्शन गराउन चीनियाँ गाडी तयार हुन्छ । कैलाश मानसरोवर यात्राका लागि प्रतिव्यक्ति ३ लाखसम्म खर्च हुन्छ ।
के–के बोक्नुपर्छ ?
मानसरोवर कैलाश दर्शन गर्न जाने तिर्थयात्रीले आवश्यक पर्ने बन्दोवस्तीका सामान बोक्नुपर्ने टच कैलाश ट्राभल्स एजेन्सीका क्षेत्रीय प्रबन्धक विष्णु रावत बताउँछन् । उच्च स्थानमा पर्ने भएकोले बाक्लो ज्याकेट, टोपी, पन्जा, मोजा लगायत कपडाहरु साथमा बोक्नुपर्ने रावतले बताए ।
हुम्ला र हिल्सा नाकामा व्यवस्थित होटेलहरू भएकोले खान-बस्नका लागि त्यति असहज नभए पनि उच्च हिमाली क्षेत्र भएकोले बाक्ला लुगाकपडा अनिवार्य रुपमा बोक्नुपर्ने प्रबन्धक रावतको सुझाव छ ।
मानसरोवर कैलाश दर्शन गर्न हरेक वर्ष भारतीय तीर्थयात्रीको भिड लाग्ने गरेको छ । भारतीय तीर्थयात्री कैलाश मानसरोवर दर्शनको लागि लाखौं रुपैयाँ खर्च गरेर हुम्लाको सिमकोट हुँदै चीनको तिब्बतको पुराङ कन्ट्रीमा पुग्ने गरेका छन् ।

हुम्लाबाट छोटो दुरी
हुम्लाको हिल्सा नाका हुँदै चीनको कैलाश मानसरोवर दर्शन गर्ने तिर्थयात्रीका लागि हुम्लाबाट छोटो दुरी पर्छ । नेपालगञ्जबाट ४५ मिनेटमा हुम्लाको सिमकोट पुग्न सकिन्छ भने सुर्खेत विमानस्थलबाट ३५ मिनेटमै हुम्ला पुगिन्छ ।
सिमकोट विमानस्थलबाट १५ मिनेट हेलिकप्टरको यात्रापछि हुम्लाको हिल्सा नाका पुगिन्छ । हिल्सा नाका सहज र छोटो भएपछि २ वर्षयता भारतीय तीर्थयात्रीको ओइरो लागेको हो । कैलाश जाने अर्को बाटो काठमाडौंबाट तातोपानी हुँदै ल्हासासम्म गाडीबाट जान सकिन्छ । ल्हासाबाट भने पैदल हिँड्नुपर्छ ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चा नाकाबाट पनि तिब्बतको कैलाश मानसरोवर पुग्न सकिने नाम्खा-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
लिमी लाप्चा नाकाबाट मानसरोवर दर्शन गर्दा भिसा नलाग्ने तामाङको भनाइ छ ।
धार्मिक विश्वास
कैलाश मानसरोवर दर्शन गरेपछि ७ जुनीको पाप पखालिने जनविश्वास रहेको छ ।
हिन्दुशास्त्र अनुसार मानव जीवनमा पवित्र जलको उत्पत्ति जगतको सृष्टिकर्ता र ब्रम्हाजीले भगरिथको तपस्याबाट खुसी भई मानसरोवर सृष्टि भएको हो ।
कैलाश पर्वतलाई भगवान शिव र मानसरोवर ताललाई शान्तिको प्रतीक, पार्वतीको प्रतीकको रुपमा लिने गरेको किम्बदन्ती पनि छ । राक्षस ताललाई भने शक्तिको प्रतीक मानिन्छ ।
धार्मिक विश्वासअनुसार मध्यरातमा माता पार्वती तारारूपी प्रकाशको भेषमा स्नान गर्न आउने गरेको नाम्खा गाउँपालिका-६ का पाल्जोर तामाङले बताए ।
कैयौँ गुण स्वच्छ निश्चल पवित्र पानी भएकाले अलौकिक गुण र शक्तिको प्रतीक भएको शास्त्रमा उल्लेख रहेको तामाङको भनाइ छ ।
प्रतिक्रिया 4