+
+
Shares

५ करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १४:२७

१८ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ५ करोड २० लाख रुपैयाँको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ ।

क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

‘हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ,’ पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौं । सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्त्वपूर्ण योजना हो ।’

सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राई भन्छिन्, ‘महानगरको लगानीबाट सहरले प्राचीन स्वरूप प्राप्त गर्दैछ । यसबाट सबैले गर्व गर्नसक्ने संरचना तयार हुनेछ । हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौँ ।’

योजनाका सम्पर्क व्यक्ति वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरी पैदलमार्ग, हरियाली प्रवर्द्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरी ६ फिटदेखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ । त्यसको बाहिर कालोपत्र सडक छ ।

यसको बाहिर दक्षिणतर्फ एक सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टी ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।

गहना पोखरीसँग सम्बन्धित लोक कथन

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास गर्यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्यो पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरूले सुरक्षा दिएर राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?