+
+
Shares

उपेन्द्र, दयाहाङ, मिरुनालाई प्रश्न- ‘जारी २’ ले विरासत फर्काउला ?

पहिलो भाग रिलिज भएको झण्डै ३ वर्षपछि ‘जारी’को दोस्रो श्रृंखला शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । पहिलो फिल्मको कथाको सौन्दर्य, दृश्यभाषा र बक्सअफिस अंकको विरासतलाई दोहोर्‍याउनुपर्ने दबाब फिल्मसामु छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:३९
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ‘जारी २’ निर्देशक उपेन्द्र सुब्बा (दायाँ)देखि कलाकारहरू ऋचा शर्मा, मिरुना मगर, दयाहाङ राई र विजय बराल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८० सालमा रिलिज भएको फिल्म ‘जारी’ले घरेलु फिल्ममा सामुदायिक कथावस्तुका नयाँ ट्रेन्ड स्थापना गर्‍यो र मिरुना मगर लोकतन्त्रकी पोस्टर गर्ल बनिन्।
  • ‘जारी २’ को प्रदर्शन तयारी भइरहेको छ र एड्भान्स बुकिङ खुलेको केही घण्टामै पूर्वी नेपालका कतिपय हल सोल्डआउट जस्तै भएका छन्।
  • निर्देशक उपेन्द्र सुब्बाले सिक्वेल बनाउन सजिलो नभएको र सांस्कृतिक पहिचान र मानवीय संवेदनालाई सन्तुलन मिलाएर कथावस्तु प्रस्तुत गर्ने प्रयास गरेको बताए।

काठमाडौं । २०८० सालमा रिलिज भएको फिल्म ‘जारी’ले घरेलु फिल्ममा केही ट्रेन्ड स्थापित गरायो ।

सुन्दर शिल्प, विन्यासको उक्त फिल्मपछि घरेलु फिल्ममा सामुदायिक कथावस्तुका फिल्मको सानोतिनो बाढी नै आयो ।

अभिनेत्री मिरुना मगर घरेलु फिल्ममा लोकतन्त्रकी ‘पोस्टर गर्ल’ बनिन् ।

क्राफ्ट राम्रो भएका र मूलधारले बेवास्ता गर्ने कथा समेटिएका फिल्म पनि बक्सअफिसमा सुपरहिट हुनसक्छ भन्ने भाष्य स्थापित गर्‍यो । कथा स्टार हो भन्ने मान्यता सशक्त बन्यो ।

पहिलो भाग रिलिज भएको झण्डै ३ वर्षपछि ‘जारी’को दोस्रो श्रृंखला शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । पहिलो फिल्मको कथाको सौन्दर्य, दृश्यभाषा र बक्सअफिस अंकको विरासतलाई दोहोर्‍याउनुपर्ने दबाब फिल्मसामु छ ।

प्रश्न उठ्छ- के ‘जारी २’ ले विरासत फर्काउला ?

यसका केही सुखद संकेत पनि देखिएका छन् । मंगलबार दिउँसो एड्भान्स बुकिङ खुला भएको केही घण्टामै पूर्वी नेपालका कतिपय हल सोल्डआउट जस्तै थिए ।

‘अब ३ आउँदैन भनेर ठूलो नहुने’ चिरपरिचित लवजमा निर्देशक उपेन्द्र सुब्बाले अनलाइनखबरसँग भने, ‘पहिलो फिल्म हिट भएपछि २ आउँदैन भनेर भन्यौं । ल्याउनुपर्‍यो । अब ठूलो नहुने ।’

‘जारी’को यात्रा कहिलेसम्म हो भन्ने प्रश्नमा उनको जवाफ थियो । उनीसामु श्रृंखला बनाउनु चुनौति पनि थियो । जसको अनुभूति उनले पटकथा लेखनमै गरिसकेका थिए ।

‘सिक्वेल बनाउन सजिलो होइन रहेछ । निकै गाह्रो काम’ उनले भने, ‘सिक्वेलमा खतरा । नयाँ पात्र लिएर जाँदा पुरै स्थापित गर्नुपर्ने । तरपनि जारीलाई ७ वर्षपछि हेरेपनि दर्शकले बुझ्छन् ।’

दोस्रो श्रृंखलामा आफूले सांस्कृतिक पहिचान र मानवीय संवेदनालाई सन्तुलन मिलाएर वस्तुपरक ढंगले भन्ने प्रयत्न गरेको उनले बताए । ‘म यसमा अथेन्टिक हुने प्रयासमा छु’ उनी सुनिए ।

हुन पनि समुदायका कथालाई मूलधारको फिल्ममा ल्याउनु ‘जारी’को योगदान उच्च छ । ‘अवश्य पनि, हामीले नयाँ फिल्म बनाउँदा पनि त्यो जिम्मेवारीको महसुस गरेका छौं’ सुब्बाले भने ।

अभिनेता दयाहाङ राईले पनि सिक्वेलको निर्माण चुनौतीरहित नभएको बताए । कलाकार र व्यक्तिगतरुपमा आफूले संस्कृति र जीवनलाई गहिराइबाट बुझ्ने अवसर पाएको दयाहाङ बताउँछन् ।

फिल्ममा उनको पात्र नामसाङ एक विवाहित लिम्बु पुरुष हो । ‘सिक्वेल बनाउनु चुनौतीपूर्ण तर रमाइलो काम हो । आफूले जीवनमा भोग्न नपाएका कुरा पनि अनभूत गर्न पाइने’ भन्छन्, ‘जारीको नामसाङ र कबड्डीको काजीलाई केही वर्षको अन्तरालमा भोग्न पाउनु पनि रमाइलो हुने रहेछ ।’

दयाहाङ र मिरुना मगर ‘कबड्डी ५’को छायांकनबाट विश्राम लिएर अहिले ‘जारी २’ प्रवर्धनमा होमिएका हुन् । दयाहाङले दोस्रो श्रृंखलामा लिम्बु बाजा च्याब्रुङ बजाउन सिकेको बताए ।

फिल्मको केन्द्रमा सांस्कृतिक पहिचानको विम्वको रुपमा च्याब्रुङलाई राखिएको छ । कथा च्याब्रुङकै वरपर घुम्छ । त्यसैले त राखिएको छ फिल्मको नाम- सङ् अफ च्याब्रुङ ।

‘म च्याब्रुङसँग परिचित त थिएँ तर, बजाउन सिकेको थिएँ । जारी २ मा त्यो पनि धेरथोरै सिकेँ’ उनी सुनिए ।

अभिनेत्री मिरुना मगरले ‘जारी २’ बनाउने बेलामा आफूमा उत्साह भरिएको बताइन् । ‘सुरुमा बन्छ भन्ने पनि लागेको थिएन । सुन्ने वित्तिकै उत्साह जाग्यो’ भन्छिन्, ‘यो फिल्ममा मैले निर्वाह गरेको पात्र हाङ्मा अझै जिम्मेवाररुपले प्रस्तुत भएकी छन् ।’

‘मलाई हाङ्माको पात्रलाई बुझ्न समय लागेको थियो । काम गर्दै जाँदा पनि सिकाइ भयो’ मिरुना सुनिइन्, ‘एक्ट्रेसको रुपमा पनि धेरै कुरा सिक्न पाएँ ।’

‘जारी २’मा ऋचाको छोटो तथा सशक्त भूमिका छ, जसलाई ट्रेलरबाट पनि अनुभूत गर्न सकिन्छ । ‘मेरो क्यारेक्टरले यसमा थ्रील ल्याएर आएको छ’ ऋचाले आफ्नो पात्रबारे भनिन् ।

उनले अहिलेसम्म गरेको जनरा भन्दा आफू यसमा भिन्न रुपमा प्रस्तुत भएको बताइन् । ‘सुटिङ हुँदाखेरी नै मैले लिम्बु समुदायको संस्कृतिबारे पहिलो अनुभव गर्न पाएँ’ उनले भनिन्, ‘धेरै कुराको ज्ञान लिन पाइयो ।’

फिल्मको सबैभन्दा रोचक भूमिकामा विजय बराल छन् । उनले निर्वाह गरेको पात्रसामु जातीय पहिचानको लागि गर्ने संघर्ष छ । हेर्दा ब्राम्हण देखिएपनि उसलाई आफू लिम्बु नै हो भन्ने कुरा पुष्टि गर्नुछ ।

निर्देशक विजयको पात्रमार्फत जातीय पहिचानको लागि पात्रले गर्ने संघर्षलाई चित्रण गरेका छन् । फिल्मको पटकथा लेखन पनि निर्देशक सुब्बाले गरेका हुन् । निर्मातामा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?