News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले जेनजी र रास्वपाको मुद्दा एउटै भए पनि क्रान्तिको बाटो फरक भएको तर्क गरे ।
- अर्यालले जेनजी आन्दोलन पुराना दलको भ्रष्टाचार, दलीय सिण्डिकेट र जनविरोधी गतिविधिको परिणाम भएको बताए ।
- उनले आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र निर्वाचनमार्फत परिवर्तनकारी शक्तिहरू एकीकृत हुनुपर्ने आह्वान गरे ।
२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले जेनजी र रास्वपाको मुद्दा एउटै भएको तर्क गरेका छन् । चितवनमा जारी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले मुद्दा एउटै भए पनि क्रान्तिको बाटो फरक परेको तर्क गरेका हुन् ।
अर्यालले जेनजी आन्दोलनबारे पार्टीको बुझाइको विस्तृत व्याख्या गरेका छन् ।
प्रतिवेदनको अंश :
क. जेनजी आन्दोलनः पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंशात्मक घटनापछि राष्ट्रिय राजनीति फरक मोडमा आएको छ । तर, यो मोड अप्रत्याशित र आश्चर्यजनक दुवै होइन । किनकि, ढिलो चाँडो यस्तो हुन सक्छ भन्ने आशंका थियो ।
हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौं- संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुलिँदै गएको आक्रोश विस्फोट हुनेछ । सभापति रवि लामिछानेले कांग्रेस-एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई ‘अन्तिम भोज’ को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको छ? भनेर प्रश्न गर्नुभएको थियो । सभापति रवि लामिछानेले भैरहवा कारागारबाट जारी गरेको अपीलमा ‘तस्करले दिएका तिम्रा हातका घडी खोस्छन्’ भन्नुभएको थियो । नभन्दै त्यो दिन आयो पनि । अब त्यही हातमा हात्कडी पनि लाग्छन् ।
लोकतान्त्रिक र संसदीय मूल्य-मान्यता विपरीत संसदका तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाएर लोकतन्त्रको आवरणमा ‘दलतन्त्र’ लादेपछि यस्ता दुर्घटना अवश्यम्भावी थियो । र भयो पनि ।
अझ, दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने जुन प्रपञ्च गयो, त्यहीबाट बढेको आक्रोश जेनजीको नाममा विस्फोट भएको हो । जुन सुकै शक्ति वा समूहले गैरदलीय व्यानरमा आन्दोलनको आह्वान र अगुवाई गरेको भए पनि त्यसमा आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनिसकेको थियो ।
यो परिस्थिति आउनुका कारणबारे संक्षेपमा चर्चा गरौं ।
पहिलो : २०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गरे । तर, उनीहरूबीचको कटुतापूर्ण प्रतिस्पर्धा, अस्वाभाविक मिलन, अविश्वासको राजनीति र सत्ता स्वार्थका कारण सरकारहरू स्थिर हुन सकेनन् । बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता भएन र विकास निर्माणमा बाधा पुग्यो । जनताको अपेक्षा अधुरै रहे । सत्ताको कुरा भए। सरकारको करा गरिए । तर जनताको कुरै भएन ।
दोस्रो : पुराना दलहरुले सरकारको नेतृत्व गर्दाका ठूला-ठूला भ्रष्टाचार काण्ड बाहिर आए । तर, प्रभावकारी छानबिन भएन । संलग्नलाई कारबाही नहुनु वा राजनीतिक प्रभावमा परेर उन्मुक्ति पाउनुले दण्डहीनतालाई प्रश्रय दियो । जनता चरम भ्रष्टाचारका शृङ्खला र तिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए ।
तेस्रो : पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकेनन् । राज्यका सबै संरचना र निकायमा ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी कायम रह्यो । आधारभूत सेवा सुविधा प्राप्त गर्न पनि राजनीतिक भनसुन गर्नुपर्ने वा घुस नै खुवाउनु पर्ने परिस्थितिले जनतालाई आक्रोशित बनाउँदै ल्याएको थियो ।
चौथो : पुराना दलहरुले परम्परागत राजनीतिक शैलीलाई नै निरन्तरता दिए । जहाँ गुटबन्दी, नातावाद, कृपावाद हावी थियो । नयाँ विचार र नयाँ पुस्ताका लागि ति पार्टीभित्र खासै स्थान बन्न सकेन । जनताले पुरानै अनुहार, पुरानै भाषण र पुरानै शैलीको राजनीतिबाट देशले गति लिन नसक्ने महसुस गरे । उनीहरूले आफूलाई समेट्ने र आफ्ना सरोकारलाई सम्बोधन गर्ने कुनै ठाउँ ति दलहरूमा पाएनन् । र, नयाँ वैकल्पिक शक्तिको खोजीमा लागे ।
पाँचौं : दशकौंको शासनकालमा पनि पुराना दल नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकेनन् । परिणामतः अध्ययन सकेका लाखौं युवा कामको खोजीमा विदेशिन बाध्य भए । युवा पुस्ताले आफ्ना अग्रज र समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे ।
शासकहरूले आफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेन जी आन्दोलन भयो ।
समग्रमा, अन्य विभिन्न उत्तोलकजन्य सहायक सन्दर्भ होलान् । तर, जेनजी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् र आधार चाहिँ तिनैमार्फत सिर्जित दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार/कुशासन नै हो । त्यत्रो अकल्पनीय घटनापछि पनि तत्कालीन सरकार नेतृत्व दलले सत्य स्वीकार्नुको सट्टा आन्दोलनको भावना र म्यान्डेट बाहिर गएर गतिविधि गरिरहेको छ ।
केही सहायक कारण/घटनालाई समातेर वा अतिरञ्जित गरेर केही दल नेता आन्दोलनको खास कारण र सत्यको विषयान्तर गर्न उद्दत छन् । यो प्रवृत्तिको निरन्तरता आगामी दिनका लागि घातक हुन सक्छ ।
सरकारको तत्कालीन कार्यभार हत्या/विध्वंशको छानबिन र दोषीलाई कारबाही
उद्घोष र सुरुवात जेनजीबाट भए पनि आन्दोलनमा अन्य पुस्ताको पनि सहभागिता थियो । नैतिक समर्थन त रास्वपासहितका राजनीतिक दल, नागरिक अगुवा, अभियन्ता, पेशाकर्मीहरूको पनि थियो ।
पछिल्ला वर्षहरूमा तीन दलीय सिन्डिकेटको आलोपालो स्वेच्छाचारी शासनका कारण बढेका विकृति-विसंगतिले वाक्क दिक्क भएका नागरिकको स्वस्फूर्त सहभागिताले आन्दोलन सफल भएको हो । अर्थात्, जेन जी पुस्ताको अग्रसरतामा अन्य पुस्ताले पनि हातेमालो गर्दा नतिजा आएको हो ।
आन्दोलन हिंसात्मक बनेपछि जेन – जीले भदौ २३ गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए । तर, सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थीलगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्य पारेको पनि २४ गतेको घटनाले नै हो ।
स्कूले विद्यार्थीले ज्यान गुमाउनु परेको दुःखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ। सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई पनि बढाएको छ । दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक छ ।
हामी अत्यन्तै प्रष्ट रूपमा भन्छौं २३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ । चाहिँ २३ गते नरसंहार गर्नेबाट हुनुपर्छ ।
- दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन सक्दैन । दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढाउँछ । त्यसैले दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानूनी राज्यको प्रत्याभूति हुन्छ ।
- निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्दा मात्र राज्य आफ्ना नागरिकप्रति जवाफदेही छ र आफ्नो शक्तिलाई गैर-जिम्मेवारपूर्ण तरिकाले प्रयोग गर्दैन भन्ने सन्देश जान्छ । जसले राज्यप्रतिको जनविश्वास पुनः स्थापित गर्न मद्दत गर्छ ।
- छानबिनबाट मात्रै भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भीड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिन्छ ।
- पुस्ताको हिसाबले मात्र होइन मुद्दाको हिसाबले पनि हामी र जेनजीसँगै छौं । सुशासनको पक्ष, भ्रस्टाचारको अन्त्य मात्र होइन राजनीतिमा युवा पुस्ताको सार्थक हस्तक्षेप हाम्रा समान मुद्दा हुन् । हाम्रो विधान र अभ्यास दुवै जेनजी मैत्री रहेको पुष्टि पार्टी र संसदमा युवाको उपस्थितिले गरिसकेको छ ।
- हामी २०८४ मा मतबाटै यिनीहरूलाई तह लगाउने योजनामा थियौं । त्यसलाई हामीले ‘निलो क्रान्ति’ भन्दै आएका पनि थियौं । तर, जेन जीले २०८४ सम्म कुरेनन्, ‘रातो क्रान्ति’ गरे । मुद्दा, माग र उपलब्धीमा जेनजी र हामीमा १९/२० को फरक थिएन, छैन मात्रै ‘क्रान्तिको बाटो’ फरक भएको हो ।
आह्वान र अगुवाई जेन जीको भए पनि सबै पुस्ता साझा एजेण्डामा एकाकार हुँदा आन्दोलनले एक तहको सफलता पायो । तर, आन्दोलनको म्यान्डेट र भावनालाई संस्थागत गर्न भने बाँकी नै छ । त्यसको पहिलो र अनिवार्य प्रक्रिया हो निर्वाचन ।
निर्वाचनमा परिवर्तनकारी शक्तिहरु (नयाँ दल, शक्ति र जेन जीका समूह) एकीकृत हुन सकेनन् भने पुराना शक्तिले टाउको उठाउने संभावनासँगै प्रतिक्रान्तिको खतरा बढ्छ । अर्कोतर्फ, आन्दोलनको श्रेयका कारण भन्दै एउटा खास पुस्ता विशेषको मात्रै आवाज र मुद्दाले प्रश्रय पाउने परिस्थितिप्रति पनि बेलैमा सचेत हुनुपर्छ ।
प्रतिक्रिया 4