+
+
Shares

ओलीको प्रश्न- प्रधानमन्त्री बनाउन डिस्कर्डबाट भोटिङ भयो रे, कस्तो थियो मतपत्र ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १५:१२

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान मिचेर प्रधानमन्त्री बन्न तयार भएको आरोप लगाएका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले हाहुको भरमा अहिलेको सरकार बनेको आरोप लगाए ।

ओलीले दुई तीन हजार केटाकेटी डिस्कर्डमा जम्मा भएर सरकार बनाएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

‘यस्तो हाहुको असंवैधानिक सरकार कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश हुनै मिल्दैन । मानव अधिकार आयोगमा भन्दा बाहेक मिल्दैन,’ आोलीले भने, ‘पूर्वप्रधानन्यायाधीश भएको मान्छे, संविधान मिचेर प्रधानमन्त्री हुन तयार । यो भनेको सोझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा हाहुको भरमा बनेको सरकार हो ।’

आगो लगाएको, लुटेको, अराजकता र आतंक मच्चाएको भरमा डिस्कर्डबाट सरकारमा पुगेको भन्दै आफ्नो पार्टीले उक्त सरकारलाई नमानेको जिकिर गरे ।

‘अहिलेका प्रतिगमनकारीहरू कमजोर, कुनै ग्राउन्ड नभएका । न परम्पराको टेको, न जनसमर्थनको आधार । केही पनि नभएका । मैले हाहुमा भन्छु नि । वास्तवमा हाहुमा । आगो लगाएका भरमा, लुटेको भरमा । अराजकता, आतंक मच्चाएको भरमा । शासनमा डिस्कर्डबाट पुगेको अरे,’ ओलीले थप भने ।

उनले दुनियाँमा कतै नभएको अभ्यास नेपालमा भएको भन्दै डिस्कर्डमा भोटिङ कसले गरेको ? मतपत्र कस्तो थियो ? भन्दै प्रश्न गरे ।

‘डिस्कर्डबाट शासनमा, डेमाक्रेसीमा कहीँ दुनियाँमा सभ्य समाजमा डिस्कर्डबाट, भोटिङ पनि गरेको अरे । २ ३ हजार केटाकेटी डिस्कर्डमा भोटिङ पनि गरेको अरे । कसले गरेको त्यो ? मतपत्र कस्तो थियो ? रेजा ल्यायो कि प्वाल पार्‍यो, अमेरिकामा जस्तो,’ ओलीले भने ।

उनले एमाले देशका अहिलेसम्मका प्रमुख आन्दोलनहरूमा अग्रभागमा रहेको जिकिर गर्दै अहिले पनि निराश नहुने दाबी गरे ।

‘…यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ । नेकपा एमाले निराश हुन जान्दैन । हतोत्साही हुन जान्दैन । यसले समाज विज्ञानलाई बुझेको छ । समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ । समाज पछाडि फर्कंदैन,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?