+
+
Shares

बुटवलमा साढे ३ अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस

कुल लगानीमध्ये ६५ प्रतिशत बैंकको ऋण र ३५ प्रतिशत ६ जना सञ्चालकको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ कात्तिक २३ गते २०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ।
  • होटलमा १०९ कोठा छन् र एक रातमा २५० पाहुनालाई बस्न सक्ने व्यवस्था छ।
  • होटलले ३५० जनालाई रोजगारी दिने र २५ नोभेम्बरमा औपचारिक उद्घाटन गर्ने योजना छ।

२३ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको आर्थिक केन्द्र र औद्योगिक नगर रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ ।

आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटल हो ।

सुरुमा होटल सेफ्रोनका नाममा निर्माण सुरु भए पनि निर्माण सम्पन्नपछि अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेस नाममा सञ्चालनमा आएको हो । ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले संसारभरि ४ सय २० भन्दा बढी स्थानमा फैलिएको छ ।

बुटवलमा पाँचतारे होटल नभएकाले रुपन्देहीको अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले होटलमा लगानी गरेको हो । होटलमा व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त लगानी छ ।

होेटलमा भएको कूल लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत ६ जना सञ्चालकको लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

विभिन्न ६ श्रेणीका १ सय ९ कोठा रहेको होटलमा एक रातमा २ सय ५० पाहुना बास बस्न सक्ने सञ्चालक पौडेलले बताए । होटल र यसका कोठाको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिले पुरानो नहुने रहेको र क्याजुअल कम्फर्टमा सबैभन्दा जोड दिएको पौडेलले बताए ।

बोधीवृक्षको पातको आकृति होटलका धेरै संरचनामा राखिएको छ भने डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन छ ।

होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ । जसमा बुद्ध दर्शनका चार आर्य सत्य दु:ख छ, दु:खको कारण छ, दु:खको निरोध सम्भव छ र दु:ख निरोधको मार्ग छ भन्ने झल्काइएको छ ।

होटलको मुख्य विशेषता अहिलेको व्यस्त जीवनशैली र एकैपटक धेरै काम गर्नुपर्ने पाहुनाका लागि आरामदायी बसाइसँगै दैनिक जीवनका सबै सुविधा सहज र नवीन रूपमा प्रदान गर्नु रहेको उनले बताए ।

‘होटेलका कोठामा पाहुनालाई काम गर्न, सुत्न र खेल्न छुट्टाछुट्टै ठाउँको व्यवस्था छ, बिजनेस फोकस्ड भए तापनि यो फेमिली फ्रेन्डली होेटल हो,’ पौडेलले भने, ‘होटलले नेपालको सार समेटेको छ ।’

होटलले आन्तरिक र भारतीय पर्यटक लक्षित गरी लबी लेभलमै जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीन वटा हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनमा बनेको स्पा, ज्याकुजी, पर्याप्त पार्किङ जस्ता सुविधा उपलब्ध गराएको उनले बताए ।

‘छिमेकी भारत उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ, त्यसमध्ये केही प्रतिशतलाई बुटवल भित्र्याउन सकिन्छ भन्ने हाम्रो आशा छ, त्यही अनुसार होटलको आर्किटेक्ट डिजाइन, बनावट, सजावट निकै फरक र गुणस्तरीय छ,’ पौडेलले भने ।

निकट भविष्यमा क्यासिनो समेत सञ्चालन गर्ने तयारी रहेकाले भारतीय पर्यटकको गन्तव्य बुटवललाई गराउन सकिने उनले बताए ।

‘बुटवलमा क्यासिनो सहितको पहिलो पाँचतारे होेटल ह्यात प्लेस नै हुनेछ,’ पौडेलले भने, ‘यसले विदेशी मुद्रा आर्जनसँगै रुपन्देहीको अर्थतन्त्र चलायमान बनाउने हाम्रो विश्वास छ ।’

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो भनेर सरकारले भन्दै आएकाले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने होटलका अर्का सञ्चालक कमलकिशोर मालपानीले बताए ।

‘सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पूर्णक्षमतामा सञ्चालनमा ल्याउनुपर्छ, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सञ्चालन हुनुपर्छ,’ मालपानीले भने, ‘यी दुई पूर्वाधार सञ्चालनले मात्रै रुपन्देहीका होटल र पर्यटन व्यवसायलाई राहत दिन सक्छ ।’

होटलले पूर्णक्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिनसक्ने जनाएको  छ । जसमा स्थानीयलाई प्राथमिकता दिइएको सञ्चालक नरिश्वर शर्माले बताए ।

होटलको औपचारिक उद्घाटन २५ नोभेम्बरमा हुनेछ । होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सार्वजनिक सडक करिब ४० लाख रुपैयाँ आफ्नै लगानी गरेर पक्की र सौन्दर्यीकरण गरेको अर्का सञ्चालक भूमिराज पौडेलले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?